समाचारआइतबार, २२ आषाढ , २०७६

वामपन्थी नेता अधिकारीको अवस्था जटिल

रासस

थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ ।

गत पुस २७ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार उनलाई सघन उपचार कक्षमा राखिएको छ ।

फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षाघात हुनाका साथै अधिकारीको अवस्था निकै जटिल भएपछि आइतबार अस्पतालबाट बाहिर निकाल्ने तयारी गरिएको उनले जानकारी दिए ।

शनिबार साँझ अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए ।

विसंं २०११ मा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका हुन् ।

माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्यलाभको कामनासहित सहयोगका लागि आश्वासन पनि दिएका थिए ।

अधिकारीका छोरा नारायण उक्त पार्टीको गोरखा जिल्ला इञ्चार्ज हुन् भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुन् ।

प्रतिकृया दिनुहोस