काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल हुने र भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएकाे छ ।
बैठकमा पार्टीको संशोधित विधानअनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । नियमावली पारित भएपछि मात्र पार्टीका संरचना निर्माणको बाटो खुल्ने छ ।