समाचारशनिबार, २१ आषाढ , २०७६

'मोस्टवान्टेड' सूचीका नसिम खान पक्राउ

हिमालखबर

विक्रम खड्का\बुटवल

प्रहरीको 'मोस्टवान्टेड' सूचीमा रहेका नसिम खान काठमाडौंबाट पक्राउ परेका छन् ।

कृषिमन्त्री बलदेव लगायत नेताहरूसँग मोस्टवान्टेड खान ।

चन्दा, आतंक, हतियार बेचबिखन, अपहरण तथा ‘कन्ट्रयाक्ट किलर’सम्मका काम गरेकाले मोस्टवान्टेड सूचीमा रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।

नसिम प्रदेश ५ का सांसद फौजिया खानका श्रीमान् हुन् ।

उनलाई विशेष सूचनाका आधारमा राजधानीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिए ।

अभियुक्तका सबै अपराधको विवरण कपिलवस्तुमा रहेकाले जिल्लामा लगेर थप अनुसन्धान अघि बढाइने रेग्मीले बताए । उनले केही समयपछि खानलाई कपिलवस्तु पुर्‍याइने पनि जानकारी दिए ।

खानलाई विगतको माओवादी द्वन्द्वमा प्रतिकार समूहका नाममा तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरू राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मी लगायतको हत्या अभियोग पनि लागेको छ ।

केही वर्षदेखि फरार रहेका अभियुक्त खानले भारतीय भूमिमा बसेर नेपालका लागि अपराधको योजना बनाउँदै आएका थिए । चन्दा, आतंक, हतियार बेचबिखन, अपहरण तथा ‘कन्ट्याक्ट किलर’का रूपमा समेत उनीमाथि आरोप रहेको छ ।

नसिमलाई कपिलवस्तुमा नसिम वादशाह भनेर पनि चिनिन्छ ।

कपिलवस्तु प्रहरीले मोस्टवान्टेड सूचीमा रहेका नसिम केही दिनदेखि काठमाडौंमा बस्दै आएको बताएको छ । विगतमा विभिन्न सशस्त्र समूहमा रहेर घटना गराएका खान तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए ।

तर, उनीमाथि विभिन्न जघन्य अपराधका मुद्दा दर्ता भएको र ती मुद्दाको सिलसिलामा प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि उनी ३ वर्षअघि एक सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक र सीडीओकै सामुन्नेबाट स्थानीय नागरिकको घेराबन्दीमा पुनः फरार भएका थिए ।

एक वर्षअघि मायादेवी–४ का वडाध्यक्ष, फत्ते मोहमदका ७ वर्षीय छोरा आयान खानको हत्या गरेको समेत अभियोग उनीमाथि लागेको छ ।

यता उनकी श्रीमती फौजिया नसिम खान तत्कालीन नेकपा एमालेबाट प्रदेश सभा–५ मा समानुपातिक सांसद बनेपछि उनी सरकारसँग विभिन्न पहल अघि बढाउँदै शान्तिपूर्ण राजनीतिमा आउने निरन्तर प्रयास जारी राखेका थिए । तर, नेकपाको सरकारले उनी सहित अहिले पनि फरार रहेर भारतमै बस्दै आएका प्रितम पाण्डे लगायतलाई तत्काल कुनै ग्रिन सिंग्नल दिएको थिएन ।

विभिन्न माध्यम लगाएर शान्ति प्रक्रियामा आउने पहलकै लागि राजधानीमा पुगेको बखत एक होटलबाट नसिम पक्राउ परेको उनको पारिवारिक स्रोतले दाबी गरेको छ ।

प्रहरीले यसको औपचारिक पुष्टि भने गरेको छैन । नसिमकी श्रीमती फौजियाले १७ हजार मान्छे मारेका प्रचण्ड बाबुराम देशको प्रधानमन्त्री बन्न सक्ने केहीको हत्या अभियोग लागेका नसिम किन शान्तिपूर्ण राजनीतिमा आउन नपाउने भन्दै नेकपाका नेताहरूलाई दबाब दिंदै आएकी थिइन् ।

एकपछि अर्को अपराधको आरोप
पक्राउ परेका खानलाई द्वन्द्वकालमा माओवादी कार्यकर्ताको हत्याको आरोप सहित अन्य दर्जनौं आरोप लागेको कपिलवस्तु प्रहरीले जनाएको छ । उनीमाथि माओवादी कार्यकर्ताहरूको हत्या जनयुद्ध कालमा गरेको अभियोग छ ।

यसैगरी एक वर्ष अघि मायादेवी–४ का वडाध्यक्ष, फत्ते मोहमदका ५ वर्षीय छोरा आयान खानको हत्या गरेको समेत अभियोग लागेको छ ।

२०७४ फागुन ३ मा ५ वर्षका आयानको अपहरणपछि हत्या गरी फरार रहेका थिए । द्वन्द्वकालका घटना अस्वीकार नगरे पनि पछिल्लो ७ वर्षीय बालकको हत्या अभियोग राजनीतिक प्रतिशोधले लगाइएको उनले भारतमै नेपालका पत्रकारहरूसँग भेटघाट गर्दै दाबी गरेका थिए ।

अभियुक्त खानले केही समयअघि कपिलवस्तुका एक स्थानीय पत्रकारलाई समाचार लेखेको विषयमा ज्यान मार्ने धम्की पनि दिएका थिए । श्रीमती प्रदेश सांसद खानका दुईवटा नागरिकताका विषयमा समाचार आएपछि उनले ज्यान मार्ने धम्की दिएका थिए ।

स्थानीय पत्रकार राघवेन्द्र चौबेमाथि सुरक्षा थ्रेट दिइएको थियो । २०७३ साउन २१ गते प्रदेशसभा सदस्य खानसँग भारतीय नागरिकता रहेको समाचार प्रमाण सहित प्रकाशित गरेपछि चौबेलाई श्रीमान खानले धम्की दिएका थिए ।

मायादेवी गाउँपालिका वडा नम्बर ६ डुमरा बस्ने पत्रकार चौबेले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा व्यवस्थाको माग गरेका थिए । त्यसपछि उनलाई प्रहरीले केही समय सुरक्षाको व्यवस्था समेत गरेको थियो ।

राजनीतिक पहुँचको कसरत
अपराधमा संलग्न व्यक्तिहरूको राजनीतिक पहुँच आजभोलि सामान्य जस्तै बनेको छ । यही मध्येका एक हुन् खान । जसले दर्जनौं अपराधका बीचमा पनि श्रीमतीलाई प्रदेश सांसद बनाई छाडे ।

केही समय त आफू पनि नेताहरूको अघिपछि हिंड्ने गरेका थिए । तर जब बालकको हत्याको आरोप लाग्यो त्यसपछि भने उनी भूमिगत भएका हुन्। द्वन्द्वकालको आरोप उनीमाथि थियो तर पनि तत्कालीन माओवादीकै नेताहरूले पनि उनलाई अघि पछि हिंडाउन थालेका थिए ।

त्यसले पनि उनकी श्रीमतीले पटक पटक राजनीतिक अवसर पाएकी छिन् र दुईवटा नागरिकताको विवाद कायमै रहेपनि उनले स्थानीय निर्वाचनमा पनि टिकट हात पारेकी थिइन् भने प्रदेशसभामा त समानुपातिकमा सफल नै भइन् ।

 

प्रतिकृया दिनुहोस