थप समाचारशनिबार, २१ आषाढ , २०७६

ढुसीको निदान

हिमालखबर

ओसिलो हुन नदिनु नै घरलाई ढुसीमुक्त बनाउने मुख्य उपाय हो । 

घरभित्र र बाहिर ढुसी तथा लेउ पर्दा घरको सौन्दर्य मात्र बिग्रिंदैन, ढुसीबाट निस्कने दूषित हावाले मानव स्वास्थ्यमा पनि असर गर्छ ।

चिसो वा ओस लागेको भुईं वा कुनै वस्तुमा देखिने झुस वा दाग जस्तो वस्तु नै ढुसी हो जुन चाँडै फैलिन्छ । काठमा मात्र होइन; घरका भित्ता, सिलिङ र अन्य चिस्यानयुक्त स्थान, लत्ताकपडा, बासी खाना, किताब, जुत्ता आदिमा पनि अनुकूल वातावरण पाए ढुसी उम्रिन सक्छ । 

निर्जीव वस्तुलाई कुहाएर माटोमा मिलाउने भएकाले वातावरणका लागि उपयुक्त मानिए पनि घरमा उम्रेको ढुसीले मानव स्वास्थ्यमा असर गर्ने मात्रै होइन, यो जहाँ उम्रिन्छ त्यही वस्तुलाई क्षति पुर्‍याउँछ । 

सिल नगरिएको छाना, झ्यालहरुका छिद्रबाट पानी पसेर होस् वा ओसिलो कोठा वा कुना, चिस्यान बढेपछि भित्ता, सिलिङ, बिछ्यौना, फर्निचर जहाँ पनि ढुसी पलाउन सक्छ । ढुसीले श्वासप्रश्वासमा समस्या, दम, छालामा एलर्जी, टाउको दुख्ने लगायतका समस्या गराउने जोखिम हुन्छ । खासगरी गम्भीर रोगका बिरामी, नवजात शिशु र बालबालिका ढुसीको सम्पर्कबाट बढी जोखिममा हुन्छन् ।  

सुक्खा र उज्यालो 
भेन्टिलेसन नभएका घरहरुमा ढुसी उम्रने सम्भावना बढी हुन्छ । घरमा हावा ओहोरदोहोर गर्न सक्ने निकास (भेन्टिलेटर) भएमा भित्ता र सिलिङमा ढुसी पर्नबाट बचाउन सकिन्छ ।

घरभित्र पर्याप्त हावा र प्रकाश ओहोरदोहोर गर्न सकेमा घरका भित्ता, सिलिङ तथा अन्य चिजबिजलाई सुक्खा हुने भएको ढुसी उम्रिन पाउँदैन । त्यस्तै लामो समयसम्म झ्याल–ढोका थुनिएका कोठाहरुमा पनि ढुसी पर्ने सम्भावना हुने हुँदा त्यस्ता कोठामा भेन्टिलेसनको उचित व्यवस्था मिलाई राख्ने, खोलेर बेलाबेला सफा गर्ने काम गर्नुपर्छ ।

भित्ता, छाना, झ्याल तथा पाइपका छिद्र टालेर घरलाई ओसिलो बन्नबाट रोक्ने, पानी रसाउने ठाउँको मर्मतसम्भार गर्ने हो भने पनि ढुसी नियन्त्रण हुन्छ । ढुसी रोक्ने मुख्य उपाय नै घर, कोठा ओसिलो हुन नदिनु हो । त्यसैले पानीले भिजेको ठाउँलाई तुरुन्त सफा गरेर सुक्खा बनाइहाल्नु पर्छ ।

जमीनको सतहभन्दा घरको सतह होचो भएमा पनि ओस छिर्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा जमीनको सतह मिलाएर घरको जगमा पानी नछिर्ने व्यवस्था मिलाउनुपर्छ ।

ढुसी उम्रिएका स्थानहरुमा ब्लिचिङ (क्लोरिनयुक्त झोल) ले पुछ्दा पनि ढुसी सजिलै हटाउन सकिन्छ । एक कप ब्लिचिङमा आधा चम्चा झोल साबुन तथा चार लीटर तातोपानी मिसाएर घरका भित्ता र सतहहरु सफा गर्न सकिन्छ । यसमा एक कप भिनेगर समेत राखेर सफा गर्दा अन्य कीटाणु समेत नष्ट हुन्छन् ।

कतिपय मूल्यवान सामग्रीमा ढुसी परेमा हाइड्रोजन पेरोक्साइडले पुछ्दा समेत ढुसी हराएर जान्छ । त्यस्तै भिनेगरले पनि ढुसी नियन्त्रणमा सहयोग पु¥याउँछ । घरको सतहमा पनि ढुसी उम्रिन नदिन पुछेर सुक्खा बनाउनुपर्छ ।

घरको भित्री भित्ता, भुईं र अन्य वस्तुमा लागेको ढुसी हटाउन सकिए पनि बाहिरी भित्ताको ढुसी र लेउ हटाउन अप्ठ्यारो पर्छ ।

घरमा लगाउने विभिन्न रङहरु (पेन्ट्स) मा हुने पानी चिप्लने तत्वका कारण पानी र ओस भित्तामा छिर्नबाट रोकिन्छ, जसका कारण ढुसी पलाउन र फैलिन सक्दैन । त्यसैले घरका बाहिरी भित्तामा यस्तो पानी चिप्लने तत्व भएका रङ लगाएर पनि ढुसी नियन्त्रण गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस