थप समाचारशुक्रबार, २० आषाढ , २०७६

मार्सीको भात र गुन्द्रुक खुवाउनेलाई नगरपालिकाको अनुदान

हिमालखबर

पाहुनालाई ‘अर्ग्यानिक’ (जैविक) खाना खुवाउन होटललाई रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले अनुदान उपलब्ध गराएको छ ।

वडा नं ९ स्थित चित्रीपाटन अग्र्यानिक होटललाई नगरपालिकाले रू तीन लाख ७५ हजार अनुदान दिइएको हो ।

खानेकुरामा विषादीको प्रयोग बढ्दै गएको अबस्थामा अग्र्यानिक खाना खुवाएर प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन गरेकोले होटललाई अनुदान दिइएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए ।

स्थानीय खानेकुराको प्रयोग घट्दै गइरहेको अवस्थामा स्थानीय खाद्यपदार्थ प्रयोगलाई पनि प्रोत्साहन हुने उनले बताए ।

“हामीलाई हाम्रो स्थानीय ढिँडो, सिस्नो, गुन्द्रुक खान लाज लाग्छ तर स्वास्थ्यका लागि हानिकारक बजारिया वस्तुको प्रयोग गर्छौँ” उनले भने “त्यसैले स्थानीय वस्तुको प्रयोगलाई बढावा दिन यस्तो कार्यक्रम ल्याएका होऔँ ।”

नगरपालिकाबाट प्राप्त अनुदानमा थप लगानी गरेर प्राङ्गारिक होटल शुरु गरेका व्यवसायी अमृत बोहोराले विभिन्न प्रकारका प्राङ्गारिक रुपमा उत्पादन भएका वस्तुमात्र पकाउँछन् ।

अनुसार रातो मार्सीको भात, गुन्द्रुककाे तरकारी र टिमुरकाे अचार खुवाउँछन् । त्यसका साथै गहुँ, मकै, कोदो, फापरको ढिँडो तथा रोटी पनि उनकाे हाेटलकाे खाना हाे । त्यसका साथमा उनले पाहुनालाई सिमी, मुसुरो, मासको दाल तथा रायो, हरियो साग, सिमी, काउली, बन्दाकोभी, निगालोको टुसा, लिउरो, च्याउ, गावा र गुन्द्रुकको तरकारी खुवाउँछन् । मासुका परिकारमा स्थानीय कुखुरा र खसीको मासु तथा भाँगो, टिमुर, अमला, गोलभेँडाको अचार र घिउ होटलमा राखिएको छ ।

रु १० लाखको लागतमा सञ्चालन गरिएको सो होटलमा उक्त नगरपालिकाका विभिन्न ठाउँ तथा जुम्लाबाट ल्याएर पनि प्राङ्गारिक परिकार पकाउने गरिएको व्यवसायी बोहोराले बताए ।

बाटो नै नपुगेको ठाउँमा पनि ब्रोइलर खुकुरा पाइनु, लहलह धान झुल्ने ठाउँमा पनि तराईको चामल खानुपर्ने, तरकारी र दाल जति पनि उत्पादन हुने ठाउँमा बजारकै तरकारी र दाल खुवाउनु दुःखद् भएको नगर प्रमुख केसीले बताए ।

कर्णाली प्रदेश सरकारले प्राङ्गारिक खाद्यपदार्थको अवधारणा अघि बढाएकाले त्यसलाई सफल बनाउनका लागि यस नगरपालिकाले हरेक क्षेत्रलाई प्राङ्गारिक बनाउने अभियान थालेको छ ।

 

प्रतिकृया दिनुहोस