रिपोर्टबिहिबार, १९ आषाढ , २०७६

सँघारमा संकट

मुकेश पोखरेल

निख्रिंदै गएका हिमाल र पग्लिंदै गएका हिमनदीले १.६ अर्ब दक्षिण एशियाली जनसंख्यामाथि संकट सँघारमै आइपुगेको संकेत गरिरहेका छन्। 

२०५१ सालदेखि प्रत्येक वसन्तमा सगरमाथा आरोहण गर्दै आएका कामीरिता शेर्पाको यसपटकको अनुभव भने केही फरक रह्यो । कडा हिउँमा क्र्याम्पोन्स गाड्दै २३ पटकसम्म चुचुरोमा ओहोरदोहोर गरिसकेका उनका लागि २४ औं पटकको आरोहणमा क्याम्प–३ मा पानी बगिरहेको देखिनु अनौठो थियो ।

पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रकोे हावापानी फेरिंदै गएको अनुभव सुनाउँदै उनी भन्छन्, “८ वर्ष अघिसम्म आधारशिविरमै हिउँ फुटाएर पानी बनाउनुपर्थ्याे, अहिले त्यतिमाथि क्याम्प–३ मा हिउँ पग्लिएर बगिरहेको छ, उदेक लाग्योे ।”  

सगरमाथाको हिउँजस्तै हाम्रा अरू हिमाल र हिमनदी पग्लिने, सुक्ने क्रम तीव्र भएको विभिन्न अध्ययन–अनुसन्धानले पुष्टि गरेका छन् ।

हिमनदी अनुसन्धानकर्ता तेन्जिङ्ग छोक्याल शेर्पाका अनुसार ३० वर्षको अवधिमा (सन् १९९०–२०१० सम्म) सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा मात्र १ लाख ८ हजार ४२५ रोपनी (५५ वर्गकिलोमिटर) क्षेत्रफलमा रहेको सबै हिउँ पग्लिएपछि अहिले कालो चट्टान मात्रै देखिन्छ । उक्त क्षेत्रको हिउँ पग्लिएर झण्डै ३६ अर्ब घनमिटर पानी बगेको अनुमान छ । यो भनेको कुलेखानी जलविद्युत् आयोजनाको इन्द्र सरोवरमा रहेको पानीभन्दा ३७ गुणा बढी हो ।

हिमालयन रिसर्च सेन्टरका अध्यक्ष डा.धनञ्जय रेग्मीका अनुसार खुम्बु क्षेत्रका हिमनदी पग्लिएर प्रति वर्ष ४० देखि ५० मिटरका दरले उकालो लागेका छन् ।

बेलायतको युनिभर्सिटी अफ लिड्स र हिमालयन रिसर्च सेन्टरले तीन वर्ष लगाएर गत अप्रिल २०१९ मा सम्पन्न गरेको खुम्बु हिमनदीको अध्ययनमा पनि सतहमुनि हिउँको तापक्रम अनुमान गरिएभन्दा निकै बढी पाइएको छ । २७ जेठमा काठमाडौंमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार खुम्बु हिमनदीको पिंध (१९२ मिटर गहिराइ) मा हिउँको तापक्रम शून्यदेखि माइनस ३ डिग्री सेल्सियस पाइएको छ, जबकि यस ठाउँमा हिउँको तापक्रम माइनस १० देखि माइनस १५ डिग्री रहेको पूर्वानुमान थियो ।

अनुसन्धान टोलीले थुक्ला, लोबुचे, पिरामिड, गोरकसेप र सगरमाथा आधारशिविरमा खुम्बु हिमनदीको सतह मुनिको तापक्रम अध्ययन गरेको थियो । ती ठाउँहरूमा हिउँको तापक्रम हावाको तापक्रम भन्दा पनि बढी पाइएकाले हिउँ पग्लिने क्रम अझ बढ्ने अनुसन्धान टोलीका नेता प्राध्यापक डोक्कन कोइन्सी बताउँछन् ।

कालो हिमाल
सन् १९७८ मा हिउँ नै हिउँले ढाकिएको खुम्बु क्षेत्रमा पर्ने सोरङ हिमाल सन् २००४ सम्म आइपुग्दा नै कालो चट्टानी चुचुरोमा परिणत भइसकेको थियो । खुम्बु क्षेत्रकै पोकाल्दे हिमनदी रहेको स्थानमा पनि अहिले काला चट्टान मात्र देखिन्छन् ।

सन् १९७० मा हिउँको ढिस्को जस्तो देखिने ग्याजो हिमनदी अहिले लोप हुने अवस्थामा पुगेको छ । हिमालबाट यसरी हिउँ हराउँदै जानुमा बढ्दो औद्योगीकरण र त्यसबाट उत्सर्जित हरितगृह ग्यास र पृथ्वीको बढ्दो तापक्रम (ग्लोबल वार्मिङ) प्रमुख कारण रहेको वैज्ञानिकहरूको ठहर छ ।

सन् १८८५ देखि सन् २०१६ सम्ममा पृथ्वीको औसत तापक्रम ०.८ डिग्री सेल्सियसले वृद्धि भएको छ । विश्व तापक्रम वृद्धिदरको तुलनामा हिमाली क्षेत्रको वृद्धिदर ०.३ देखि ०.७ डिग्री सेल्सियसले बढी छ । जल तथा मौसम विज्ञान विभागको अध्ययन अनुसार त नेपालमा तापक्रम वृद्धिदरको अवस्था अझै डरलाग्दो छ ।

विभागका अनुसार पछिल्लो ३० वर्षमा मात्र नेपालको तापक्रम १.६ डिग्री सेल्सियसले बढेको छ । तापक्रम वृद्धिको यो रफ्तार कायम रहने हो भने आगामी १०० वर्षमा नेपालको तापक्रम सन् १८८५ को भन्दा ५ डिग्री सेल्सियसले बढ्नेछ । नेपालमा तापक्रम वृद्धिको एउटा प्रमुख कारण भारत र चीनमा ठूलो मात्रामा भइरहेको कार्बन उत्सर्जनलाई मानिन्छ ।

अमेरिकाबाट प्रकाशित हुने जर्नल साइन्स एड्भान्सेस् मा १९ जून २०१९ मा प्रकाशित ‘पछिल्लो ४० वर्षमा हिमालबाट हिउँ पग्लेर जाने क्रममा तीव्रता’ शीर्षकको अनुसन्धान लेखका अनुसार सन् २००० देखि सन् २०१६ सम्ममा दक्षिण एशियाका हिमालबाट हिउँ पग्लिने दर दोब्बरले बढेको छ।

सन् १९७० देखि भू–उपग्रहबाट खिचिएका तस्वीरहरूको विश्लेषण गरिएको उक्त शोध हिन्दकुश हिमालयको दुई हजार किलोमिटर क्षेत्रमा आधारित छ । शोधले प्रत्येक वर्ष हिमालय क्षेत्रमा ८ अर्ब टन हिउँ पग्लिइरहेको र हिमनदीको उँचाइ प्रत्येक वर्ष पाँच मिटरका दरले घटिरहेको जस्ता तथ्य उजागर गरेको छ । यो अनुसन्धानले पनि हिउँ पग्लिंदै जानुको प्रमुख कारण विश्व तापमान वृद्धि, प्रदूषण र जलवायु परिवर्तनलाई मानेकोे छ । 

गएको पुस महीनामा तिब्बत माथिबाट उडिरहेको अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट देखिएको सगरमाथा ।

आसन्न संकट
साइन्स एड्भान्स मा प्रकाशित अनुसन्धान लेखका अनुसार यसरी हिउँ पग्लिंदाको विनाशकारी असर हिमाल र त्यसमुनिका दक्षिण एशियाली देशका १.६ अर्ब मानिसमा पर्नेछ (पढ्नुहाेस् हिमालको बेहालः निख्रिंदै हिउँ ) । हिमालहरू पग्लिंदा सबैभन्दा ठूलो असर खानेपानीको स्रोत प्रभावित हुने र त्यसले संकट निम्तिने अनुसन्धानमा संलग्न प्राध्यापक जर्ज शेफर बताउँछन् ।

हिमनदी अनुसन्धानकर्ता तेन्जिङ्ग छोक्याल शेर्पा सोलुखुम्बु जस्ता हिमाली जिल्लामा अहिले नै पानीको संकट देखिन शुरू भएको बताउँछन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका नाम्चे, खुम्जुङ र खुन्दे गाउँको पानीको मुख्य स्रोत रहेको ग्याजो हिमनदी सुक्दै गएको अनुभव गरेका उनी भन्छन्, “ग्याजो सुक्यो भने यहाँ पानीको आपूर्ति ठप्पै हुनेछ ।”

अहिलेकै अनुपातमा हिउँ पग्लिंदै जाने हो भने अबको ८० वर्षमा हिमालमा हिउँ देख्न पाइने छैन । तर, विभिन्न अध्ययनहरूले यस सम्बन्धी फरक फरक अवस्था देखाएका छन् ।

एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गएको माघमा सार्वजनिक गरेको ‘हिन्दकुश मूल्यांकन’ प्रतिवेदनले अहिलेकै अवस्थामा हरितगृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्ममा हिमालबाट ७० देखि ९० प्रतिशतसम्म हिउँ पग्लिने उल्लेख गरेको छ ।

प्रतिवेदनले पृथ्वीको औसत तापक्रम १.५० डिग्री सेल्सियस मात्रै बढे पनि यो शताब्दीको अन्त्यसम्म हिमालबाट कम्तीमा एकतिहाइ हिउँ पग्लिने आकलन गरेको छ । (पढ्नुहाेस् जलवायु परिवर्तनः सँघारमा संकट )

सन् २०१६ मा साइन्स अफ द टोटल इन्भायरोमेन्ट जर्नलमा प्रकाशित ‘सगरमाथा क्षेत्रमा हिमनदीको भविष्यः दूधकोशी वेसिनको अध्ययन’ शीर्षकको शोध प्रतिवेदनमा सन् २१०० सम्म हिमालहरूबाट ५० प्रतिशतसम्म हिउँ हराउने उल्लेख छ । युनिभर्सिटी अफ लिड्स्को २०१९ मा प्रकाशित अध्ययन प्रतिवेदनले भने सन् २१०० सम्ममा हिमालबाट ८ देखि १० प्रतिशत हिउँ कम हुने उल्लेख गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागका प्रमुख डा.नरेन्द्र खनाल यी सबै अध्ययनका निष्कर्षलाई अध्ययन विधिसँग जोडेर हेर्नुपर्ने बताउँछन् ।

“हिमालयको अध्ययन हुन थालेको सन् १९८० को दशकदेखि हो, अध्ययन–अनुसन्धानको विधि फरक हुँदा रिपोर्ट पनि फरक आएका हुन्” खनाल भन्छन्, “तर, सबै अध्ययनले हिमालय क्षेत्रको जोखिमलाई औंल्याएका छन्, यसतर्फ हामी गम्भीर हुनै पर्छ ।” 

मनाङ र लमजुङको सिमानामा पर्ने ठूलागी हिमताल ।

जोखिममा हिमताल
विश्व तापमान वृद्धिसँगै हिमताल पग्लिने क्रम बढेको छ । विज्ञहरूका अनुसार यसरी पग्लिएका तालहरूमा पानीको आयतन बढ्न गई विस्फोटको जोखिम बढेको छ ।

मनाङ र लमजुङको सीमामा पर्ने ठूलागी हिमतालको क्षेत्रफल १५ वर्षमा पाँच गुणा बढ्नुले हिमतालहरू कति जोखिममा छन् भन्ने प्रष्ट हुन्छ । सन् २००१ मा ०.२२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको ठूलागी हिमताल सन् २०१६ मा पाँच गुणाले वृद्धि भएर १.१ वर्गकिलोमिटर भएको छ ।

यो ताल विस्फोट भएमा मस्याङ्दी नदीको पानीमा निर्भर थुप्रै विद्युतगृहमा क्षति पुग्नेछ ।

हिमाली क्षेत्रको अध्ययन गरिरहेका अनुसन्धानकर्ता धनञ्जय रेग्मी यसरी पग्लिइरहेका तालको पानीबाट विद्युत् उत्पादन गर्दा ऊर्जा प्राप्त हुनुका साथै विस्फोटको जोखिम पनि नरहने बताउँछन् ।

त्यसैले ठूलागी हिमतालबाट विद्युत् उत्पादनका लागि हिमालयन रिसर्च सेन्टरले अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म भएकोे अध्ययनले उक्त तालबाट ४६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।

यस्तै जोखिममा रहेका च्छो रोल्पा र इम्जा हिमतालबाट भने पानी निकासको व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस