टिप्पणीमंगलबार, १७ आषाढ , २०७६

इतिहास हाेइन मिथक

वसन्त महर्जन

तथ्यमा आधारित नहुने जनश्रुतिका कुरा र मिथकलाई इतिहासका रूपमा लिएर आफ्नो गौरव र पहिचान बनाउनेतर्फ लाग्नु घातक हो। 

केन्द्र, स्थानीय तह र संघसंस्थाहरूले इतिहास संरक्षणको नाममा यथेष्ट रकम खर्चन थालेका छन् । यसले उनीहरू आफ्नो क्षेत्र विशेषको इतिहासप्रति संवेदनशील रहेको देखाउँछ ।

तर, कामगराइको तौरतरिका हेर्दा जनश्रुति वा कथा–कहानीलाई नै इतिहास मानेको विडम्बना छ । समाजमा प्रचलित जनश्रुतिका पात्र एवं मिथकलाई ऐतिहासिक पात्र र आफ्नो गौरवका रूपमा लिएर सालिक निर्माण गर्ने लहर हिजोआज बढ्दो छ ।

कीर्तिपुर नगरपालिकाको चोभार क्षेत्रमा मञ्जुश्रीको स्मृतिमा रु.३ करोड ७० लाखको लागतमा पार्क बनाई ३३ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । काठमाडौं उपत्यका पहिले तलाउको रूपमा रहेको सत्य हो ।

तर चीनको उताइसानबाट आएका बोधिसत्व मञ्जुश्रीले चोभारको पहाड खड्गले काटेर गल्छीबाट पानी बाहिर निकालेको र मानव बस्ती बसालेको प्रसङ्ग स्थानीय जनजीवनमा प्रचलित भए पनि त्यो ऐतिहासिक विषयवस्तु होइन । यसबारे बौद्ध साहित्यमा उल्लेख छैन । 

चोभारस्थित मञ्जुश्रीको ३३ फिट अग्लो मूर्ति ।

बोधिसत्व मञ्जुश्रीलाई ज्ञानको प्रतीक र खड्गलाई अज्ञानता नष्ट गर्ने प्रतीकका रूपमा लिएर चित्र तथा मूर्ति बनाइन्छ । तर त्यही खड्गबाट चोभारको खोंच काटेको कथा जनजीवनमा प्रचलित रहनु हास्यास्पद छ । गौतम बुद्ध (ईसापूर्व ५६३–४८३) भन्दा निकै पछि सिर्जित ‘ललित विस्तर’ लगायतका महायानी बौद्ध ग्रन्थहरूमा मात्र बोधिसत्वको विषयमा उल्लेख छ, जसलाई काठमाडौंको नेवार बौद्ध समाज महाचीनबाट आएको मान्छ ।

तर चीनमा बौद्ध धर्मको प्रवेश दुई हजार वर्ष अघि मात्रै भएको हो । बोधिसत्व मञ्जुश्रीको नाममा कुनै बेला अलग्गै बौद्ध सम्प्रदायको विकास भएको र त्यही क्रममा यो कथा बनेको अनुमान गर्न सकिन्छ ।

इतिहास केलाउँदा पृथ्वीनारायण शाहले तेस्रो प्रयासमा मात्र कीर्तिपुरमाथि जित हासिल गरेका थिए । जुन घटनामा कीर्तिलक्ष्मी भन्ने महिला पात्रको कुनै तथ्य भेटिंदैन । 

तर, कीर्तिपुर क्षेत्रमा वीराङ्गनाका रूपमा स्थापित यी महिला पात्रको कीर्तिपुर नगरपालिकाले सालिक बनाउँदैछ । ती पात्रले पृथ्वीनारायणको सेनासँग मुकाबिला गरेको प्रसङ्ग जनश्रुतिका रूपमा सीमित थियो ।

त्यही कथावस्तुमा हालै एउटा चलचित्र बनाएर पात्रलाई ऐतिहासिक बनाउन जोड दिइएको छ । केही वर्षअघि प्रकाशित उपन्यासमा आधारित भएर बनाइएको चलचित्रलाई ऐतिहासिक भनिए पनि उपन्यासकार इतिहास अध्ययनसँग सम्बन्धित होइनन् ।

ऐतिहासिक पात्र बनाएर उभ्याइएका पौराणिक एवं मिथक पात्रको सूची लामो बन्न सक्छ । यो प्रवृत्ति इतिहासको अनुसन्धान र ज्ञानको क्षेत्रमा अवरोध हो । ऐतिहासिक रूपमा पुष्टि भइनसकेका यी पात्रहरूको समान चरित्र हो, सर्वसाधारणलाई रोचक र विस्मयकारी लागेर चाँडै ध्यानाकर्षण हुनु ।यी पात्रका मूर्ति बनाउन कतिपयमा आफैं अग्रसर हुने र कुनैमा संघसंस्थालाई काम लगाउने केन्द्र र स्थानीय तहले यसबाट पर्यटन उद्योगको विकास हुने दाबी समेत गर्छन् । तर इतिहाससँग साइनो नै नरहेका पात्रलाई महत्व दिने यस्ता हल्काफुल्का कामले पर्यटनलाई असर पार्न सक्छ । 

नेपाल संवतका प्रवर्तक मानिएका शंखधरका सम्बन्धमा पनि केही ऐतिहासिक तथ्य भेटिंदैन । जनस्तरले यस संवतलाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गर्दै आए पनि सरकारले हठात् शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यो घोषणापछि शंखधरबारे चासो बढेको छ र काठमाडौं उपत्यका बाहिर पनि उनको सालिक बन्ने क्रम जारी छ ।

तनहुँको दमौली क्षेत्रका बासिन्दा आफ्नो ठाउँलाई चार वेद, अठार पुराण र महाभारतका रचनाकार मानिएका कृष्ण द्वैपायन महर्षि वेदव्यासको जन्मस्थल रहेको विश्वास गर्छन् । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा वेदव्यासको मूर्ति बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । संस्कृत वाङ्मय अनुसार वेदव्यास एकै व्यक्तिको नाम नभएको र ती साहित्यको सिर्जनामा अनेकौं व्यक्तिको योगदान रहेको पाइन्छ ।

तर यस सम्बन्धमा ऐतिहासिक स्रोतहरू मौन छन् । विश्वास र आस्था अनुसार वेदव्यास बारे विभिन्न ठाउँका मानिसले दाबी गर्दै आए पनि व्यास नगरपालिकाले उनको १०८ फिट अग्लो मूर्ति बनाएर यसैको माध्यमबाट आफ्नो ठाउँ चिनाउने जमर्को गरिरहेको छ । यसका लागि रु.६२ करोड ८५ लाख बजेट लाग्ने अनुमान गरिएको छ । यसमध्ये मूर्ति र स्तम्भ निर्माणका लागि मात्रै रु.४३ करोड १७ लाख लाग्ने अनुमान छ । 

ऐतिहासिक पात्र बनाएर उभ्याइएका पौराणिक एवं मिथक पात्रको सूची लामो बन्न सक्छ । यो प्रवृत्ति इतिहासको अनुसन्धान र ज्ञानको क्षेत्रमा अवरोध हो । ऐतिहासिक रूपमा पुष्टि भइनसकेका यी पात्रहरूको समान चरित्र हो, सर्वसाधारणलाई रोचक र विस्मयकारी लागेर चाँडै ध्यानाकर्षण हुनु ।

कुनै बेला अलग्गै बौद्ध सम्प्रदायको विकास भएको र त्यही क्रममा यो कथा बनेको अनुमान गर्न सकिन्छ । इतिहास केलाउँदा पृथ्वीनारायण शाहले तेस्रो प्रयासमा मात्र कीर्तिपुरमाथि जित हासिल गरेका थिए । जुन घटनामा कीर्तिलक्ष्मी भन्ने महिला पात्रको कुनै तथ्य भेटिंदैन । तर, कीर्तिपुर क्षेत्रमा वीराङ्गनाका रूपमा स्थापित यी महिला पात्रको कीर्तिपुर नगरपालिकाले सालिक बनाउँदैछ ।

यी पात्रका मूर्ति बनाउन कतिपयमा आफैं अग्रसर हुने र कुनैमा संघसंस्थालाई काम लगाउने केन्द्र र स्थानीय तहले यसबाट पर्यटन उद्योगको विकास हुने दाबी समेत गर्छन् ।

तर इतिहाससँग साइनो नै नरहेका पात्रलाई महत्व दिने यस्ता हल्काफुल्का कामले पर्यटनलाई असर पार्न सक्छ । इतिहास र मिथक बीचको भिन्नता छुट्याएर देखाइदिने दायित्व इतिहाससम्बद्ध व्यक्तिहरूको हो ।

तर इतिहासको नाममा मिथकलाई प्रश्रय दिंदा त्यसको खण्डन गर्नु साटो त्यसैलाई प्रोत्साहित हुने खालका कार्यक्रमहरूमा सहभागिता जनाउने प्रवृत्ति हामीकहाँ छ । जुन इतिहास क्षेत्रकै दुर्भाग्य हो ।

प्रतिकृया दिनुहोस