पूर्वमन्त्री घिमिरेको जिप ट्रकलाई उछिन्न खोज्दा दुर्घटना भएको निष्कर्ष
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।
घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा जिप दुर्घटनामा निधन भएको थियो । उक्त दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठन भएको छानबिन समितिले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
समितिले पूर्वमन्त्री घिमिरेले जिप आफैँले चलाएको तथा दुर्घटनामा अन्य पक्षको हात नरहेको र यसलाई दुर्घटनाकै रुपमा लिनपर्ने रायसहितको प्रतिवेदन आज उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।
प्रतिवेदन बुझाउँदै संयोजक रानाले भने, “उनको जिपले आफूअघिको ट्रकलाई उछिन्दै अघि बढ्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएपछि ठोक्किनबाट जोगिन खोज्दा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको देखिन्छ ।"
दुर्घटनाको समयमा जीप चलाइरहेका पूर्वमन्त्री घिमिरेले ‘ब्रेक’ नलगाएको अनुमानसमेत गरिएको छ । गत असोज ११ गते १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति गठन गरिएको थियो ।
सो क्षेत्र दुर्घटना बढी हुने क्षेत्र भएको र सोहीअनुरुपको सावधानीका लागि सवारी चिह्नसमेत राखिए पनि त्यसको पालना नभएको देखिएको प्रतिवेदनमा औँल्याइएको छ ।
दुर्घटनाको समयमा सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका चालक विष्णु राईले पूर्वमन्त्री घिमिरेले जिप चलाउँछु भनेपछि आफूले छोडेको र दुर्घटनाको बखत आफू निदाएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
जिपमा सवार सातमध्ये चालक राई मात्रै बाँचेका थिए । पूर्वमन्त्री घिमिरेसहित उनका आमा, दुई भाइको मृत्यु भएको थियो ।
प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले दुर्घटना दुःखद भएको बताउँदै प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । रासस