विश्वकप क्रिकेटमा भारतको पहिलो हार, इङ्ल्याण्ड ३१ रनले विजयी
जारी एकदिवसीय क्रिकेटको आइतबारको खेलमा अविजित भारतले इङ्ल्याण्डसामु हार बेहोरेको छ ।
३३८ रनको महत्वाकांक्षी लक्ष्य पाएको भारतले निर्धारित ५० ओभरमा ३०६ रनमात्र बनायो ।
विश्वकपमा पहिलो हारसँगै भारतले सेमीफाइनल पुग्न थप खेल कुर्नुपर्ने भएको छ । तर, भारतले ६ खेलबाटै ११ अंक हासिल गरिसकेको छ ।
आजको जीतसँगै इङ्ल्याण्डले अन्तिम चारको दौडमा आफूलाई कायम राखेको छ ।
भारतका लागि ओपनर केएल राहुल स्कोरबोर्डमा विना रन आउट भए पनि रोहित शर्माले १०२ रनको स्मरणीय इनिङ खेले ।
शर्मा र कप्तान विराट कोहलीले १३८ रनको साझेदारी गर्दै टिमलाई चुनौतिका लागि तयार पारेका थिए । तर, ६६ रनमा कोहली आउट भएसँगै मात्र इङल्याण्ड खेलमा फर्किएको ठानिएको थियो ।
आइतबारको खेलमा पहिलो पटक टिममा परेका ऋषभ पन्तले २९ बलमा ३२ रन बनाए ।
हार्दिक पाण्डेयले विस्फोटक ३३ बलमा ४५ रन बनाएर खेलमा भारतको थोरै भए पनि आशा कायम राखेका थिए।
इङ्ल्याण्डका लागि लियाम प्लनकेटले ३ विकेट लिए । बाँकी दुई विकेट क्रिस वोक्सले लिए ।
जोफ्रा आर्चरले विकेटविहीन भए पनि घातक बलिङ गरे । उनले १० ओभरमा ४५ रनमात्र दिए ।
टस जित्दैं ब्याटिङ गरेको इङल्याण्डले ७ विकेट गुमाएर ३३७ रनको गतिलो योगफल तयार पारेको थियो ।
घरेलु टोलीका लागि जोनी बेयर्सटले सर्वाधिक १११ रन जोडेका थिए । अर्का ओपनर जासन रोयले ६६ बनाए ।
एकसमय ३५० रनको विशाल रनको पछि दौडेको टिम पूर्वकप्तान जोय रुट र कप्तान इयान मोर्गन १ रनमा आउट भएसँगै सम्हालिएको थियो । तर, मध्यक्रमका बेन स्टोक्सले ५४ बलमा शानदार ७९ रन बनाउँदै टिमलाई तीन सय माथिको स्कोर सम्भव तुल्याएका थिए ।
भारतका लागि मोहम्मद सामीले फेरि उत्कृष्ट बलिङ गर्दै एक्लैले ५ विकेट लिए । जसप्रित बुमराहले एक र कुलदीप यादवले एक विकेट लिए ।