खेलकुदआइतबार, १५ आषाढ , २०७६

ब्यूँझियो बास्केटबल

निरञ्जन राजवंशी

नेपाल बास्केटबल लिगको सफल आयोजनले खेलाडीमा उत्साह मात्र जगाएको छैन, मुलुककै बास्केटबल विकासको खाका समेत कोरिदिएको छ।

काठमाडौंमा असार दोस्रो साता सम्पन्न राष्ट्रिय महिला बास्केटबल लिगको एक खेल ।

६ असारमा त्रिपुरेश्वरस्थित कभर्ड हलमा दोस्रो नेपाल बास्केटबल लिगको फाइनल खेल चलिरहँदा आमजनमा बास्केटबल ‘क्रेज’ का थुप्रै झलक देखिए ।

खेलमा पलपलमा आउने ‘ट्विस्ट’ का बेला रोमाञ्चित दर्शक र भरमग्दुर प्रतिभा पस्किरहेका खेलाडीहरूको यो संयोजन देखेपछि कतिपय खेलप्रेमी भन्दैथिए, “बल्ल देख्न पाइयो नेपालमा बास्केटबलको असली रुप ।”

यीमध्ये एक थिए, बास्केटबलका राष्ट्रिय टोलीका कप्तान सदिश प्रधान । उनी भन्दैथिए, “मैले एक दशक बढी बास्केटबलमा बिताएँ तर, यो क्षण फरक अनुभव भइरहेको छ । वातावरण मात्र पाउने हो भने, नेपाली बास्केटबल धेरै माथि पुग्ने रहेछ ।”

कभर्ड हलमा द टाइम्स इन्टरन्याशनल क्लब र नेपाली सेनाको टोलीबीच फाइनल चलिरहेको थियो । तर त्यो एउटा खेलका कारण मात्र दर्शकको भीड उर्लेको थिएन । यसको कारण प्रतियोगिताको स्तर, आयोजनाको नयाँ अभ्यास थियो ।

नेपालमा बास्केटबलको गतिविधि छैन नै भने पनि हुन्छ । राष्ट्रिय खेलाडीहरू नै वर्षमा मुश्किलले एकाध प्रतियोगिता खेल्न पाउँछन् । बास्केटबल संघ पनि निष्क्रिय छ ।

यस्तोमा निजी संस्था ‘विपन्न बालबालिका खेलकुद नेपाल’ बास्केटबलको राष्ट्रिय लिग गर्न अगाडि सर्‍यो । लिगमा राष्ट्रियसँगै विदेशी खेलाडीहरू पनि सहभागी गराइयो । ‘होम एण्ड अवे’ लिग प्रणालीमा झण्डै साढे दुई महीना प्रतियोगिता भयो ।

खेलको चर्चा त भयो नै खेलाडीको प्रदर्शन र प्रतियोगिताको स्तर पनि बढ्यो । हरेक खेलमा ‘गर या मर’ को प्रतिस्पर्धा थियो । बास्केटबलको यति लामो प्रतियोगिता नेपालमा यसअघि कहिल्यै भएको थिएन । 

‘फेशन’ बास्केटबल
अचेल विद्यालय र कलेजमा बास्केटबल ‘फेशन’ भइसकेको छ । बास्केटबल एक मात्र यस्तो खेल हो, जसको कोर्ट सरकारभन्दा धेरै बढी निजी क्षेत्रले बनाइदिएको छ । त्यो हिसाबमा बास्केटबललाई तल्लो स्तरसम्म पुर्‍याउन र खेलाडी उत्पादन गर्न नेपाल बास्केटबल संघले कुनै चिन्ता लिनुपर्दैन ।

यति हुँदाहुँदै पनि बास्केटबल संघ प्रगति उन्मुख छैन । त्यसो त २०४६ सालमै राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संघ २०६० पछि मात्र केही सक्रिय देखियो । त्यसबेला इन्डोर एशियन गेम्सदेखि एशियन गेम्ससम्म र उमेर समूहका प्रतियोगितामा पनि बास्केटबल सहभागी भयो । अन्तर्राष्ट्रिय पदकहरू पनि हात पार्‍यो ।

दक्षिण एशियाली बास्केटबल च्याम्पियनसिपमा नेपालले दुई पटक काँस्य पदक नै जित्यो । तीन वर्षअघि नेपालमै बास्केटबलको महिला साफ च्याम्पियनसिप आयोजना भएको थियो र घरेलु टीम नेपालले रजत पदक जितेको थियो ।

तर समय फेरिएको छ । सरकारी अनुदानका आधारमा चल्ने र अति न्यूनतम आवश्यकतामै अलमलिने अन्य थुप्रै खेल संघ जस्तै बास्केटबल संघ पनि पछिपरेको देखिएको छ ।

यहीबेला निजी क्षेत्रले बास्केटबलको विशेषता र सम्भावना देखाइदिएको खेलाडीहरू बताउँछन् ।

“महिला लिग हुन्छ भन्ने सोचेका पनि थिएनौं । अहिले खेलाडीहरू धेरै खुशी छन्”, राष्ट्रिय महिला टोलीकी कप्तान सदिना श्रेष्ठ भन्छिन् ।

राष्ट्रिय महिला खेलाडीको समस्या बेग्लै छ । राष्ट्रिय खेलाडीको हैसियत पाइसकेका खेलाडीहरूले कलेजस्तरीय वा अन्य उमेर समूहको प्रतियोगिता खेल्न नपाउने नियम संघले लगाएको थियो । “अन्य प्रतियोगिता खेल्न पनि नपाउने अनि राष्ट्रिय प्रतियोगिता नहुने समस्याले हामी पिरोलिएका थियौं । यो लिगले ज्यान दिएको छ”, सदिना भन्छिन् । 

दर्शकले दिलाएको हौसला
विदेशी खेलाडी पनि समावेश गर्न पाउने नियमका कारण लिगमा ६ जना खेलाडी नेपाल आए । जसमा सबैभन्दा चर्चा पाए, श्रीलंकाली प्रनिथ उडुमालागाला र महिलातर्फ फिलिपिन्सकी एलिना लिम ।

“नेपालमा बास्केटबलको निकै ‘क्रेज’ रहेछ । जहाँ ‘क्रेज’ छ त्यहाँ सबै कुरा राम्रो हुन्छ”, प्रनिथ भन्दैथिए । भूटानबाट खेल्न आएकी इवाङ पिन्डारिकाले नेपालको प्रतियोगिताबाट भूटानले पनि सिक्नुपर्ने बताइन् ।

लिगले खेल र प्रतिस्पर्धाको स्तर बढेको छ । तर, चर्चा पाएको अनुपातमा यो व्यावसायिक लिग भने थिएन । विदेशी खेलाडीहरू यो वर्ष व्यावसायिकता भन्दा सम्बन्धको आधारमा आएको क्लब अधिकारीहरूको भनाइ छ ।

तर, प्रनिथले भने जस्तै कुनै पनि प्रतियोगिता चल्ने मुख्य आधार भनेकै दर्शकको उपस्थिति हो ।

दर्शकबाट उत्साहित आयोजक विपन्न बालबालिका खेलकुद नेपालका पदाधिकारीहरू यसलाई अर्को वर्षबाट फ्रेञ्चाइज लिगको रुपमा आयोजना गर्ने योजनामा छन् । संस्थाका अध्यक्ष अरुण कार्की भन्छन्, “६ वटा क्लब बनाउने, त्यसलाई ६ वटा कम्पनीले खरीद गर्ने र खेलाडीहरूलाई ड्राफमा मूल्य तोक्ने । फ्रेञ्चाइजी क्रिकेट जस्तो अवधारणा अपनाउने योजना बनाएका छौं ।” 

झन्डै ६० लाखको खर्चमा प्रतियोगिता सम्पन्न गरेको बताउने कार्की अब हरेक खेलाडीको क्षमता अनुसार मूल्य दिइने बताउँछन् ।

यो योजना सफल भए नेपालमा बास्केटबल व्यावसायिकताको बाटोमा लाग्नेछ । तर, यसका लागि फेरि पनि बास्केटबल संघ ब्यूँझिनु जरुरी छ । संघका महासचिव नरेन्द्र थापा बास्केटबल विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य ठानेर यो लिगलाई स्वीकृति दिएको बताउँछन् । 

“निजी क्षेत्रको उपस्थितिले बास्केटबल र अन्ततः संघलाई नै फाइदा पु¥याउने हो । तर, खेल अनुशासन, अन्तर्राष्ट्रिय मापदण्ड आदिबारे हामी सचेत छौं”, थापा भन्छन् ।

समग्रमा अहिले ब्यूँझिएको बास्केटबललाई थप दौडाउन निजी क्षेत्र र संघको हातेमालो जरुरी देखिन्छ । 

प्रतिकृया दिनुहोस