थप समाचारआइतबार, १५ आषाढ , २०७६

संविधानसभा निर्वाचनमा कार्टरले लगाएको ज्याकेट ११ लाखमा लिलामी

हिमालखबर

संविधानसभा निर्वाचनमा पर्यवेक्षकको रुपमा आएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको ज्याकेट १० हजार अमेरिकी डलर (करिब रु.११ लाख)मा लिलामी भएको छ।

तस्वीरहरूः काई बर्ड

शनिबार अमेरिकाको लिसवर्ग भर्जिनियामा भएको परोपकारी लिलामीमा कार्टरको निलो ज्याकेटलाई तोकिएभन्दा १० गुणा बढी दाम लगाइएको थियो।

लिलामीमा ज्याकेटसँगै कार्टरको अटोग्राफसहितको तस्वीर पनि राखिएको थियो ।

कार्टर २०७० सालमा भएको संविधानसभा निर्वाचनका क्रममा दुईपटक नेपाल आएका थिए । निर्वाचन अनुगमनमा द कार्टर सेन्टरले पनि सहयोग गरेको थियो ।

लिलामीबाट उठेको रकम कार्टर सेन्टरका काममा खर्चिइनेछ । सेन्टरले मानवअधिकार, आश्रयस्थल र स्वास्थ्य योजनामा विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

लिलामीमा सन् १९८० को कार्टरको निर्वाचन अभियानताकाका भेष्ट, कार्टर स्वयंले बनाएको काठको बाकस, अमेरिकाका पाँच पूर्व राष्ट्रपतिले हस्ताक्षर गरेको तस्वीर, बोन जोभी हस्ताक्षरित गिटारलगायतका सामग्री पनि समावेश थियो ।

यो लिलामी सन् १९९२ देखि हरेक वर्ष निरन्तर हुँदै आएको छ ।

९४ वर्षीय कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति चुनिएका थिए ।




प्रतिकृया दिनुहोस