ब्लगआइतबार, १५ आषाढ , २०७६

लञ्च बक्साको हमला

कनकमणि दीक्षित

मुलुकभरि महामारी झैं फैलिन थालेको यो आधुनिक रीतिको ठाडो विरोध गरौं । सके माइतीघर मण्डलमा ! !

नयाँ युगमा नयाँ तरिका अपनाउने त हो, तर तर्क, प्रभाव, व्यावहारिकता सबै ख्याल राख्नुपर्ने हुन्छ । जस्तै, २००० फिटको पहाडी थुम्कोमा ३० फिटको भ्यू–टावर थप्ने संघीय मुलुकमा फैलिएको विडम्बना । तर, भ्यू–टावर विरोधी रटान यस स्तम्भमा कति गर्नु, अहिलेलाई अर्को विसंगतिमा ध्यानदिऊँ — त्यो हो, लञ्च बक्सा ।

गत साता पंक्तिकार सामेल विभिन्न ठाउँमा दिउँसोका बैठकहरूबीच भित्रिएका लञ्च बक्साले निकै खलबल गरे, र यही आयातित चलनबारे टिप्पणी गर्ने विचार आयो ।

भोक लाग्छ, खानुपर्छ । यो सामान्य र प्राकृतिक कुराको कदर गर्दै जमघट, भेला, छलफल, सभा, सेमिनारमा निम्त्याउनेले खानाको विचार गरेका हुन्छन् । सहभागीको पेटको गर्जनप्रति सह–अनुभूति दर्शाएकोमा एक–एक भेला आयोजकलाई धन्यवाद ।

तर . . . खाना भरिएका यी कागजका बक्सा बैठकअघि आउनुपर्छ या बैठकपछि । कि त पेट काउँकाउँ नगर्ने समय मिलाएर बोलाएपछि खानाको जरुरत नै पर्दैन । फेरि यो पनि सत्य हो — अधिकांश नेपाली नेता, कर्मचारी, परामर्शदाता, प्राध्यापक, पत्रकार, अगुवा, जो भन्नुस् — घरमा बिहान भात खाएरै आएका हुन्छन् ।

दिउँसो २–३ बजे हल्का नास्ता भए पुग्छ । तर पनि बैठक र भेलाहरूमा पूरै लञ्च प्याकेट पेश हुन्छ । नेपाली ‘प्यालेट’ (स्वादका पर्खाइमा रहेका मुखभरिका ग्रन्थीहरू) लाई रोमाञ्चक लाग्ने खाना खजाना ती लञ्च प्याकेटभित्र कैद हुन्छन् । एलुमिनियम् फोइलमा बेरिएको चिकेन मःमः, अनि प्लास्टिकको पुरियामा रबरले बाँधेको स्वादिलो चट्नी ।

कसैको भागमा पकौडा पर्न सक्छ, त्यो पनि मुखै रसाउने । प्लास्टिकको कचौरामा गुलाबजामुन या खीर ! भेजेटेबल स्याण्ड्विच । हुन सक्छ, चिकेन कट्लेट । एउटा अलि गलेको केरा त अवश्यम्भावी । कसैलाई फ्रेञ्च फ्राई अवतारमा तारेको आलु फेला पर्ला । अनि अन्त्यमा जुस–पानको लागि फ्रुटी प्याकेट ।

जब कार्यशाला गोष्ठीमा यस्तो भोजको अवस्था बन्न पुग्छ, तब प्रस्तोताको ‘पावर पोइन्ट’ को के हाल होला तपाईं नै विचार्नुस् । एउटा क्षण हुन्छ, सबै जना गम्भीर मुद्रामा स्क्रिन नियालिरहेका हुन्छन् । त्यसैबेला एक्कासी ढोका खुल्छ र ठूल्ठूला सेता प्लास्टिक थैला बोकेका दुई–चार जना भित्रिन्छन्, र अर्धपारदर्शी प्लास्टिकभित्र एकमाथि अर्काे खप्टिएका लञ्च प्याकेटको आकार प्रष्ट देखिन्छ ।

ठ्याक्कै त्यही क्षणमा भेला, कार्यशाला, गोष्ठी, बैठकको मकसद चौपट ! सतहमा सबै काम सुचारु नै चलेको देखिन्छ, तर भित्रिएको प्याकेटभित्र रहेका खजानाले सबैको ध्यान तानिसकेको हुन्छ । आँखा स्क्रिनमा, दिमाग भने गुलाबजामुन, मःमः, फ्रुटीको निकट प्राप्त स्वादमा । हुन सक्छ, प्रस्तोताको पनि त्यही हालत होला, ध्यान बक्सैतिर ।

लञ्च प्याकेट भित्रिने तरिका आफैंमा ‘विध्वंसकारी’ हुन्छ, रेस्टुरेन्टले खटाएको वितरणकर्मीलाई बैठकको विषयबारे के पर्वाह — नेपालको परराष्ट्र मामलामा ‘बीआरआई’ र ‘इन्डो–प्यासिफिक’ ले ल्याएको चुनौती होस् वा नगरपालिकाको बजेट समन्वय वा मनसुनको अनुमानबारे प्रेस कन्फ्रेन्स ।

कोलाहल मच्चाउँदै लञ्च बक्सा भिœयाउनेले एक–एक सहभागीलाई ठूलो स्वरमा सोध्छन्, ‘भेज कि नन्भेज ? !’ आज्ञाकारी सहभागीले आफ्नो छनोट बताएपछि त्यही अनुसारको एउटा बक्सा टेबुलमा कागज, कलम, पानीको बोतल र स्पाइरल प्याडबीच थचारिदिन्छन् ।

नास्ताको मुखमा पावर पोइन्टको के तागत । सभाहलको माहोल पूरै बिथोलिएका बेला कार्यक्रम भने स्वचालित हिसाबले चलिनै रहेको हुन्छ । प्रस्तुतिमा भाँजो हालेको लञ्च बक्सा साटसुट भइसक्दासम्म प्रस्तुति पनि सकिन्छ । र, प्रस्तोता पनि हस्याङफस्याङ गर्दै आफ्नो बक्सातर्फ पाइला चाल्छन् . . . 

प्रतिकृया दिनुहोस