थप समाचारशनिबार, १४ आषाढ , २०७६

कसरी बनाउने जलवायुमैत्री घर

हिमालखबर

बढ्दो तापक्रमबाट राहत पाउन घर निर्माणदेखि वरिपरिको पर्यावरण सन्तुलनसम्ममा ध्यान दिनुपर्ने जानकारहरू सुझाउँछन्। 

औद्योगीकरण, कोइला तथा खनिज इन्धनको प्रयोग र त्यस मार्फत भइरहेको कार्बन उत्सर्जनले पछिल्लो समय विश्वव्यापी रुपमै तापक्रम बढ्दो छ । त्यसमा पनि शहरी क्षेत्रमा अस्वाभाविक रूपमा तापक्रम बढिरहेको छ । १५–२० वर्ष अघिसम्म गर्मीयाममा पनि काठमाडौंमा सिरक ओढ्नुपर्थ्याे । तराईबाट गर्मी छल्न आउनेहरूले यहाँ जाडो महसूस गर्थे । पछिल्ला वर्षमा भने यो बेला काठमाडौंमै गर्मी महसूस गर्न थालिएको छ ।

जल तथा मौसम विज्ञान विभागको आँकडाले काठमाडौंको तापक्रममा २० वर्षअघि र अहिले त्यति धेरै अन्तर देखाउँदैन । यहाँको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस हो । तर, मानिसले अहिले बढी गर्मी महसूस गरेका छन् । घरभित्र बस्दा पनि पङ्खा वा एअरकन्डिसन चलाउनुपर्ने बाध्यता छ । जबकि पहिले काठमाडौंमा पंखाको जरुरत नपर्ने भएकाले यसको चलन नै नरहेको जलस्रोतविद् एवम् जलवायु क्षेत्रका जानकार अजय दीक्षित बताउँछन् ।

तापक्रममा खासै उतारचढाव नहुँदा पनि गर्मी महसूस किन भइरहेको छ त ? जलवायु विज्ञ विमल रेग्मीका भनाइमा जताततै कंक्रिटका बस्तीहरू भएकाले यहाँ बढी गर्मी महसूस भएको हो । सूर्यको प्रकाशबाट तातेको कंक्रिटको बस्ती छिट्टै नसेलाउने भएकाले अबेरसम्म तापक्रम वृद्धि भएर गर्मी महसूस भइरहन्छ । यस्तो तापक्रम वृद्धिलाई ‘हिट आइल्याण्ड इफेक्ट’ भनिन्छ ।

वायुमण्डलमा जम्मा भएको हरितगृह ग्यासले सूर्यको प्रकाशलाई फर्कन नदिंदा पृथ्वीको हावापानीमा फेरबदल आएको अर्का जलवायुविज्ञ युगान मानन्धर बताउँछन् । नासाले १९ जून २०१९ मा प्रकाशन गरेको रिपोर्ट अनुसार वायुमण्डलमा ४११ पीपीएम (पार्ट्स पर मिलियन) कार्बनडाइअक्साइड जम्मा भएको छ । जबकि वायुमण्डलमा १८० पीपीएम कार्बन उपयुक्त मानिन्छ ।

बढ्दो तापक्रममा गर्मीको प्रभाव न्यूनीकरण गर्न घर निर्माण र वरिपरिको क्षेत्रमा ध्यान पु¥याउनुपर्ने जलवायु विज्ञहरू सुझाउँछन् ।

के छ विकल्प ?
तापक्रम वृद्धिबाट हुने समस्यामा आफूलाई समयानुकूल बनाउनु नै उत्तम हो । जलवायुमैत्री घर बनाए गर्मीमा धेरै राहत हुने जलवायु विज्ञ विमल रेग्मी बताउँछन् । यसका लागि घर तथा पूर्वाधार निर्माण गर्दा योजना बनाउनुपर्ने सुझाउँदै उनी भन्छन्, “दुई/चार वटा बिरुवा रोप्न मिल्ने गरी खाली ठाउँ छोडेर घर बनाउँदा वातावरणमैत्री र शीतल हुन्छ ।”

खुला ठाउँ र रुखबिरुवा भएका क्षेत्रमा रहेका घरहरूमा गर्मीको महसूस कम हुने गरेको रेग्मी बताउँछन् । उनका अनुसार काठमाडौंको चक्रपथभित्रका बस्ती र बाहिरको खुला ठाउँमा बनेका घरमा तापक्रमको अन्तर २ डिग्रीसम्म पाइएको छ ।

विकसित देशहरूमा ‘हिट आइल्याण्ड इफेक्ट’ घटाउन घरको वरिपरि खुला ठाउँ राख्ने र त्यहाँ रुखबिरुवा रोपेर हरियाली बनाउने गरिन्छ । यसका साथै घर बनाउँदा पनि विशेष ध्यान दिनुपर्छ । हावा ओहोरदोहोर गर्ने गरी पर्याप्त झ्याल राख्दा घरभित्र गर्मीले गुम्सिने समस्या हुँदैन ।

जलवायु क्षेत्रका जानकार दीक्षितका भनाइमा, ९ इन्चीको गारो, टीनको छाना र ढलानका घरहरूमा बढी गर्मी हुन्छ । गर्मीबाट राहत पाउन माटोको घर उपयुक्त विकल्प हुनसक्छ । घामले नतात्ने र छिट्टै सेलाउने भएकाले माटोबाट निर्मित र माटोको टायल प्रयोग गरिएको घर उपयुक्त मानिन्छ । “घरको छानामा प्रकाश परावर्तन गर्ने सेतो रङको प्रयोग, खर र माटोको टायलको छाना प्रयोग गरिएका घर गर्मीका लागि उपयुक्त हुन्छ”, दीक्षित सुझाउँछन् ।

यसका साथै काठको घर पनि गर्मीका लागि उत्तम हुन्छ । सिमेन्ट, छड आदिको प्रयोग नहुने भएकाले यस्तो घर बनाउन लागत पनि कम पर्छ । 

प्रतिकृया दिनुहोस