व्यक्तित्वशनिबार, १४ आषाढ , २०७६

स्याफ्रुबेसीकी गुरुआमा

हिमालखबर

गुजाराका लागि अरू उपाय काम नलागेपछि हस्तकलाका सामग्री बनाउन थालेकी छाम्चेले आम्दानी मात्र गरेकी छैनन्, गुरुआमाको परिचय पनि पाएकी छन्। 

सामान्य लेखपढ गर्न जान्ने छाम्चे तामाङ (४८) लाई चिन्ने–जान्नेहरूले गुरुआमा भन्न थालेका छन् । नेपाल–चीन सीमा नजिकैको टिमुरे (रसुवा) मा जन्मे–हुर्केकी उनी २५ वर्षअघि रसुवाकै खम्पाटारका सुप्पा तामाङसँग बिहे गरेर स्याफ्रुबेसी झ्रेकी हुन् ।

उनी सानै छँदा बुवा परलोक भए, एक्ली आमालाई सघाउनु पर्दा विद्यालय जान पाइनन् । विवाहपछि सन्तान भए, श्रीमानको गतिलो कमाइ थिएन । छाम्चे भन्छिन्, “नपढेको हुँदा अरू काम गर्न सकिएन, त्यसैले श्रीमानसँग सल्लाह गरेर किराना पसल खोलें ।” तर, गाउँघरमा सबै चिनेजानेका, जम्मै सामान उधारोमा गएर घाटा पर्न थालेछ ।

उनले पसल बन्द गरिन् । अरू कामभन्दा आफैंले जानेको सीप काम लाग्ने ठानेर २०५५ सालमा ‘छाम्चे होजियारी घरेलु उद्योग’ खोलिन् । माइतीमै छँदा हजुरआमा र आमाबाट गलबन्दी, झेला, श्यामा, गलैंचा जस्ता हस्तकलाका सामग्री बनाउन सिकेकी थिइन् ।

२० वर्षदेखि उनी श्यामा, पङ्कप, टोपी, मोजा, गलबन्दी, गन्जी, कोता पटुका, गलैंचा र झेला बनाइरहेकी छन् । रसुवा घुम्न आउने पर्यटक र कर्मचारी उनका मुख्य ग्राहक हुन् । यही कामबाट मासिक करीब रु.६० हजार कमाइ हुन थालेपछि अहिले उनको गृहस्थी राम्रै चलेको छ । आफू पढ्न नपाएको दुःख छ, त्यसैले दुई छोराहरूलाई क्याम्पसमा पढाइरहेकी छिन् । 

छाम्चेले बुनेका सामग्रीले चर्चा पाउन थालेपछि विभिन्न संघसंस्थाबाट अरूलाई पनि त्यस्तो सीप सिकाइदिन प्रस्ताव आउन थाल्यो । दैनिक गुजाराकै लागि धागोबाट विभिन्न सामग्री बुनेर बेचिरहेकी उनलाई आफूले राम्रै काम गरेछु भन्ने लाग्यो । विभिन्न जिल्लामा पुगेर प्रशिक्षण दिन थालिन् ।

प्रशिक्षार्थीले गुरुआमा भन्न थालेपछि अहिले उनको परिचय नै ‘गुरुआमा’ भइसकेको छ । “केहीअघि चितवन र त्यसअघि रामेछाप गएकी थिएँ, अब धादिङ जाँदैछु” छाम्चे भन्छिन्, “मैले सिकाएका कति दिदी–बहिनी आफैं प्रशिक्षक भइसकेका छन्, सबैले मलाई गुरुआमा भन्दा खुशी लाग्छ ।”

शुरूमा मासिक रु.३५०० दिएर प्रशिक्षणका लागि बोलाएका संस्थाले अहिले कम्तीमा रु.५० हजार दिन थालेका छन् । प्रशिक्षण दिंदा पाइने सम्मान र मिल्ने सन्तुष्टिले उनलाई उत्साहित बनाउँछ । “मैले हजुरआमा र आमाबाट सिकेको सीप राम्रै रहेछ, सबैले कदर गर्दा रहेछन् भन्ने लाग्छ” उनी भन्छिन्, “अरूलाई सिकाएर आत्मनिर्भर बन्न सघाएकी छु, अर्कोतिर संस्कृतिको जगेर्ना पनि भएको छ ।”

खम्पाटारमा उनको बैठक कोठा थुप्रै सम्मानपत्र र पुरस्कारहरूले सजिएको छ । यही सीपकै कारण दुईपटक थाइल्याण्ड पुगिसकिन् । अब उनलाई आफ्ना उत्पादन अझै फैलाउने रहर छ । त्यसका लागि सरकार वा कुनै सहयोगी संस्थाले ठूलो फलामे तानको व्यवस्था गरिदेओस् भन्ने अपेक्षा राखेकी छन् ।

उनी भन्छिन्, “अहिले काठको सानो तानमा बुनिरहेकी छु, फलामको ठूलो तान भयो भने सजिलो हुन्छ, सामान पनि राम्रो बन्छ ।” उत्पादन धेरै भए बजार पनि खोज्नु पर्ला नि ? उनी भन्छिन्, “हस्तकलाका सामग्री प्रवद्र्धन गर्ने धेरै संस्था रहेछन्, सहयोग गर्लान् नि !”

फुर्पा तामाङ

प्रतिकृया दिनुहोस