ब्लगशुक्रबार, १३ आषाढ , २०७६

 घुमघामको चाँजो: हिजो र आज

भैरव रिसाल

ओढ्ने–ओछ्याउने र सातु–सामल बोकेर यात्रामा निस्किनुपर्ने विगतको बाध्यता सम्झँदा अहिलेको ‘टुर प्याकेज’ का अनेक सुविधाले चकित पार्छ ।

भैरव रिसाल

समयको फड्को पनि कस्तो ! आजको सरसुविधा अघिल्तिर हिजोका दिन तुलना गर्दा धेरै कुरा आधा–अपुरो लाग्छ । अहिले सम्झँदा पो एक प्रकारको अभाव र दुःख पार गरिएको रहेछ भन्ने महसूस हुन्छ । जस्तैः घुमघामकै कुरा हेरौं । कतै भ्रमणमा निस्कँदा जतिसुकै तयारी गरे पनि के के मेसो नमिल्ने ती दिन र आजको समय बीच तुलनै हुन्न ।

वि.सं. १९९९ ताका त्यस्तै मेसो नमिलेको एउटा तीर्थयात्रामा गएको थिएँ, जतिबेला म ललितपुरको लुभू भाषा पाठशालामा कक्षा ४ मा पढ्थें । कक्षाका साथीहरू मिलेर ललितपुरको लेलेस्थित तिलेश्वर महादेव मन्दिर नजिकैको सरस्वतीथान पुग्ने कार्यक्रम बनायौं । सरस्वतीको दर्शन गरेर घनघोर विद्या आर्जन गर्ने उद्देश्य थियो ।

त्यतिबेला हाम्रो कक्षामा जम्मा आठ जना थियौं क्यार ! दुई छाक चामल र दाल, ओढ्ने बर्को, धोती लगायत आवश्यक सामान रुमालमा पोको पार्‍यौं । त्यो जमानामा विद्यार्थीसँग एउटा झोलासम्म पनि हुँदैनथ्यो । स्लीपिङ ब्याग झन् कहाँ पाउनु !

उतिबेला मेरो घर भक्तपुरको दधिकोटमा थियो । दधिकोटदेखि लेले तिलेश्वर कम्तीमा पनि १८ किलोमिटर हुँदो हो । त्यसबेला त्यो तीर्थयात्रामा हिंडेर जानुको विकल्प थिएन । दधिकोट, लुभू, विशंखु, बाडेगाउँ, किटिनी, बडिखेल हुँदै घाम छँदै तिलेश्वर पुगियो । दुईतिरबाट सङ्लो खोला बगिरहेको रमणीय स्थानको बीचमा तिलेश्वर महादेव । त्यसैको पश्चिमपट्टि सरस्वतीको मूर्ति ।

नजिकैको सत्तलमा बास बस्ने भइयो । खोला वारिको पसलमा भाँडाकुँडा माग्यौं । वनमा दाउरा बटुल्यौं । दुइटा गुन्द्री भाडामा लियौं । खाना पकाएर बेलैमा खायौं र थकाइले चुर भएकाले भसक्कै निदायौं ।

सरस्वती पुज्दा पनि फेल !
विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा गर्दा विद्या प्राप्त हुन्छ भनेर त बूढापाकाबाट सुनिआएकै कुरा थियो । हामी विद्यार्थीलाई तिलेश्वर सरस्वतीथानको विषयमा अझ विशेष कुरा सुनाइएको थियो ।

काग नकराउँदै वा कागले खोलाको पानी ननाघ्दै नुहाएर उक्त सरस्वतीथानको पूजा गरी सात वटा अक्षता दाँतमा नछुवाई सर्लक्क निल्यो भने विद्या खरर्र आउँछ भनेर हामीलाई सिकाइएको थियो । त्यो कुरा हामीले सोह्रै आना पत्याएका थियौं ।

भोलिपल्ट काग नकराउँदै उठेर नुहायौं र धोती फेर्‍यौं । तिलेश्वर महादेवको पूजा गरेपछि धूप–बाती बालेर सरस्वतीको पूजा गर्‍यौं । सात वटा अक्षता ननिली बोल्नुहुँदैन भनिएको थियो, त्यसै गर्‍यौं । सरस्वतीको त्यो पूजाले विद्याको दैलो खुल्यो–खुलेन, थाहा भएन । तर, त्यहाँ जानेमध्येकै दुई जना वार्षिक परीक्षामा फेल भए ।

अहिलेको भ्रमण ‘प्याकेज’
आज ७७ वर्षपछि ‘टुर प्याकेज’ नामबाट धेरै सुविधामा यात्रा गर्न सकिन्छ । गएको एक वर्षमा मेरा परिवार (श्रीमती, बुहारी, दुइटी छोरी र ज्वाइँहरू) को यस्ता भ्रमण निकै भए ।

यस अवधिमा म र जीवनसँगिनी सुशीलाले दुइटा यात्रा गर्‍यौं, एउटा ३० घण्टाको पोखरा र अर्को नौ दिने झापा–इलाम यात्रा । हामी दुईका यी यात्रा ‘टुर प्याकेज’ नभए पनि आफन्त, इष्टभित्र र स्नेही स्थानीयको अपार माया मिसिएका चिरस्मरणीय थिए ।

‘टुर प्याकेज’ मा यात्रीलाई हाइसञ्चो हुन्छ । निश्चित रकम बुझाएपछि प्याकेज संचालकले नै खाजा, खाना, सुविधाजनक बास लगायत सबै कुराको चाँजोपाँजो मिलाइदिन्छन् ।

हाम्रो तिलेश्वर सरस्वतीथानको विद्योपार्जन यात्रा र अहिलेको भ्रमण प्याकेजको तालिका र व्यावहारिक अन्तर गुम्दा आश्चर्य लाग्छ । यस्ता प्याकेज ताप्लेजुङको पाथिभरा होस् या सुदूरपश्चिमको खप्तड, म्याग्दीको गलेश्वर वा धनकुटाको भेडेटार; जहाँ जान मन लाग्यो सेवा तयार ।

यस्तो व्यावसायिक सुविधा देशभित्र मात्र सीमित छैन, विभिन्न देशको भ्रमणसम्म फैलिएको छ । न स्लीपिङ ब्याग बोक्नुपर्ने झन्झट, न त खानपानको बन्दोबस्त गर्ने पिरलो । प्याकेजका सेवा–सुविधा हेर्‍यो, रोज्यो र आफू अनुकूल समयमा घुमघाममा निस्कियो । कस्तो काइदा !

प्रतिकृया दिनुहोस