रिपोर्टबिहिबार, १२ आषाढ , २०७६

रहस्यले घेरिएको काँक्रेविहार

सेवा भट्टराई

काँक्रेविहारमा भेटिएको प्राचीन बौद्ध–भग्नावशेष पुनर्निर्माण र उत्खननले नेपालमा बौद्ध धर्मको विकास र विस्तारको नयाँ तथ्य स्थापित गर्ने अपेक्षा गरिएको छ।

 शिखर शैलीमा पुनर्निर्माण गरिंदै काक्रेविहार मन्दिर, बुद्धमूर्ति, भग्नावशेषहरु।

सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ, हामी कुनै प्राचीन स्थलमा उभिएका छौं ।

वरिपरि छरिएका भग्नावशेष । फूल, बादल, अरू बुट्टा, र बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । र, बीचमा शिखर शैलीमा बनिरहेको मन्दिर, जसको गजुर राख्नै बाँकी छ । यो काँक्रेविहारको दृश्य हो ।

करीब ५० वर्षअघि योगी नरहरिनाथले चर्चा गरेपछि काँक्रेविहारप्रति पुरातत्वविद् र बौद्ध विद्वानहरूको ध्यान आकर्षित भएको हो । काठमाडौं उपत्यकामा बज्रयानी, हिमाली क्षेत्रमा महायानी बाहेक नेपालका अन्य क्षेत्रमा एकै स्थानमा ठूलो संख्यामा बौद्धमार्गी भेटिंदैनन् ।

बुद्धको जन्मस्थान लुम्बिनीमै पनि मुस्लिम समुदाय धेरै छ । त्यसमा पनि हिन्दू र जनजाति समूहको बसोबास रहेको मध्यपश्चिमको सुर्खेतमा बौद्ध धर्मको अवशेष भेटिनु धेरैका लागि उदेक मानिन्छ ।

झण्डै २० वर्षअघि पुरातत्वविद विभागले उत्खनन् गरेको यो स्थानमा तीन वर्षदेखि मन्दिरको पुनर्निर्माण चलिरहेको छ । भग्नावशेषबाट प्रतिकृति बनाउनमा प्रस्तर कलाकार व्यस्त छन् । पुनर्निर्माणमा कंक्रिटको प्रयोग विवादित बने पनि काम यसै वर्ष सक्ने लक्ष्य राखिएको छ ।

विवाद त छ, तर १३औं, १४औं शताब्दीतिर खस राजाको शासनकालमा मन्दिरको शुरूआती संरचना निर्माण भएको धेरै विज्ञको मत पाइन्छ ।

जुम्लामा १५औं शताब्दीसम्म खस राजाहरूको शासन रहेको र यसको सीमा पूर्वमा त्रिशूलीदेखि पश्चिममा कुमाउ र उत्तरमा तिब्बतदेखि दक्षिणमा बोधगयासम्म फैलिएको थियो । यी राजाहरू बौद्ध धर्मावलम्बी भएको अनुमान पनि गरिन्छ ।

त्यो बेला जुम्लाको सिंजा– काठमाडौं, तिब्बत र काश्मीरका बौद्धमार्गीको भेटघाट हुने थलो थियो । जुम्लाका राजाले काठमाडौंका मन्दिरमा चढाएका बौद्ध ग्रन्थ अझै काठमाडौंमा भेटिन्छन् । जुम्ली राजा रिपु मल्लले लुम्बिनीस्थित अशोक स्तम्भमा कुँदेको आफ्नो नाम, मिति अझै पनि देखिन्छ ।

काँक्रेविहारमै रहेको सूचनापाटीमा जुम्ली राजा अशोक चल्लले सन् १२६८ मा यो मन्दिर बनाएको उल्लेख छ । तर, अशोकभन्दा अघिका अर्का शक्तिशाली राजा क्राचल्लले पनि यो मन्दिर बनाएको अनुमान अहिले पनि गरिन्छ ।

स्थानीयमा भने काँक्रेविहारको भत्केको संरचना बारे थुप्रै लोककथा भेटिन्छन् । थारू लोककथा अनुसार महाभारतका पात्र पाण्डवहरूलाई जिउँदै जलाउनका लागि यहाँ लाहाको दरबार बनाइएको थियो । तर त्यो षडयन्त्र थाहा पाएर पाण्डवहरू त्यहाँबाट भागे, र जाँदाजाँदै दरबार पनि भत्काएर गए ।

अर्को लोककथाका अनुसार काँक्रेविहारमा साली भेनाले र नजिकैको लाटीकोइली पहाडमा लाटी र कोइलीले एक रातमै मन्दिर बनाइसक्ने प्रतिस्पर्धा गरेका थिए ।

बिहानै उज्यालो हुँदा लाटी–कोइलीले शिव मन्दिर बनाइसकेका थिए भने साली भेनाको मन्दिर आधी मात्रै बनेको थियो । लज्जित भएर उनीहरूले आधा बनेको मन्दिर भत्काएर त्यसलाई जमीनमा पुरेर भागे ।

अनुत्तरित प्रश्न

बुद्धका मूर्तिहरू भेटिनुले त्यहाँ बौद्ध संरचना रहेको भन्न सकिन्छ तर सोही ठाउँमा शिव, गणेश र सरस्वती जस्ता हिन्दू देवी–देवताका मूर्ति पनि पाइएकाले सन्देह गर्नेहरूलाई ठाउँ दिएको छ । यी सबै देवी–देवता बज्रयानीले पनि पुज्ने भएकाले यहाँ बौद्ध संरचना नै रहेको मान्नेहरू पनि छन् ।

त्यसो त काँक्रेविहारको सूचनापाटीका अनुसार जुम्ली राजाहरू महायानी थिए । तर काठमाडौं, बंगाल र तिब्बतका बज्रयानीहरूसँग उनीहरूको संगतकै कारण यसो भएको हो वा उनीहरू स्वयं बज्रयानी रहेको कुरा यकिन भइसकेको छैन । 

मन्दिरको संरचना कहिले भत्कियो भन्नेमा पनि मतान्तर पाइन्छन् । केहीको अनुमानमा सन् १८३३ मा गएको भूकम्पमा त्यो संरचना भत्किएको थियो । तर बौद्ध धर्मका अध्येता वसन्त महर्जन भने मुसलमान राजाको आक्रमणमा काँक्रेविहार भत्किएको तर्क राख्छन् ।

“१४औं शताब्दीमा भारतमा राज गरेका मुहम्मद बिन तुग्लकको शासनमा नेपालमा आक्रमण भएको थियो । दैलेखमा हारेर फर्केका उनीहरूले यसअघि नै काँक्रेविहार भत्काइसकेका थिए”, महर्जन भन्छन् । पुरातत्व विभाग भने यी कुनै पनि अनुमान पुष्टि गर्ने गतिलो आधार फेला नपरेको बताउँछ ।

ढुंगाले बनाइएका कारण अवशेषहरू बाँकी नै छन् । त्यसो त यो मन्दिर थियो वा दरबार, विहार वा अरू नै केही भन्ने प्रमाण पनि छैन । विज्ञहरू भत्किएका टुक्राहरू भने कुमाउनी वास्तुकलासँग मिल्दोजुल्दो देखिएको बताउँछन्, जुन कुनै समयमा खस साम्राज्यमै पर्दथ्यो ।

यी भग्नावशेष र संरचनाको जगको अध्ययनपछि पुरातत्व विभागले तत्कालीन समयमा प्रचलित कुमाउनी शैली अर्थात् शिखर शैलीमा मन्दिर पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।

आधा शताब्दीअघि काँक्रेविहारका अवशेष भेटिंदा त्यो क्षेत्र घना जंगल नै थियो । औलो लाग्ने भएकाले सानो संख्यामा थारू समुदाय बाहेक अरू कोही बस्दैनथे । सुर्खेतको इतिहास भने त्यस्तो थिएन भनेर थुप्रै अध्ययनले देखाएका छन् ।

प्राग्–इतिहासविद् गुड्रून कोर्भिनसले दाङमा गरेको उत्खनन् र त्यसपछिका विभिन्न अध्ययनले प्राग्ऐतिहासिक मानवले एशियामा यात्रा गर्न यो मार्ग प्रयोग गर्दथे भन्ने देखाएका छन् । मध्ययुगमा यहाँ एउटा विकसित सभ्यता थियो भन्ने कुरा काँक्रेविहारको अस्तित्वले देखाउँछ ।

तर, अहिले बौद्ध सभ्यताका केही अवशेष मात्र त्यहाँ भेटिन्छन्, जसले त्यो स्थानको रहस्यमयी विगतको झ्ल्को मात्रै दिन्छ । अन्तिम खस राजा अभय मल्लको शासनकालपछि उनका प्रधानमन्त्री मलय बमले राज्यसत्ता हातमा लिए, र उनका छोरा र ज्वाइँलाई राज्य बाँड्दा टुक्रिन पुगेको खस राज्य बाइसे राज्य बन्न पुग्यो । हिन्दूहरूको बढ्दो संख्या र राज्यको घट्दो संरक्षणका मारमा बौद्ध धर्म विस्तारै हराएर गयो ।

सभ्यता नै मासिएपछि त्यो बेलाको जस्तो भव्य प्रस्तर संरचना बनाउने सीप रहने कुरै भएन । अहिले भक्तपुरका कालिगडहरू त्यहाँ ढुंगामा बुट्टा कुँदिरहेका छन् । पुरातत्व विभागले कंक्रिट प्रयोग गर्ने निर्णय गरेसँगै मौलिकता मासिने चिन्ता बढेको छ ।

“यी ढुंगाका टुक्राहरू जोड्न निकै गाह्रो छ । त्यसैले यो स्थानको संरक्षण गर्नैका लागि विज्ञहरूसँग छलफल गरेर कंक्रिट प्रयोग गर्ने निर्णय गरेका हौं”, विभागका प्रवक्ता रामप्रसाद कुँवर भन्छन् ।

हालै मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँक्रेविहार भएको क्षेत्रमा खुला चिडियाखाना बनाउने प्रस्ताव अघि सारेका छन् । तर, विज्ञहरू भने त्यो ठाउँमा अरू पनि थुप्रै भग्नावशेष हुनसक्ने आशंका गर्दछन् ।

“काँक्रेविहार भनिएको तर त्यहाँ कुनै विहार भेटिएको छैन । त्यसैले पनि त्यहाँ थप उत्खनन् र अध्ययन गर्नु जरूरी छ, जसले बौद्ध धर्मको इतिहासबारे नयाँ तथ्य पहिल्याउन मद्दत गर्नेछ”, अध्येता वसन्त महर्जन भन्छन् ।

 

प्रतिकृया दिनुहोस