थप समाचारबिहिबार, १२ आषाढ , २०७६

आप्रवासी बाबुछोरी मृत्युको हृदयविदारक तस्वीर

यस्तो अवस्था अस्वीकार्यः राष्ट्रसंघ

हिमालखबर

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।

तस्वीर : भ्याटिकन न्यूज

अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो ।

यूएनएचसीआरले बाबु र उनकी २३ महिनाकी छोरीको नदी किनारामा तैरिएको अवस्थामा शव भेटिएको र यो निकै हृदयविदारक रहेको जनाएको छ।
मेक्सिको र संयुक्तराज्य अमेरिकालाई छुट्याउने रियो ग्रान्डे सीमानदी हो ।

राष्ट्रसंघले एलसाल्भाडोरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरीको दुःखद निधन ‘अस्वीकार्य’ रहेको जनाएको छ ।

अमेरिकाले राष्ट्रपति ट्रम्पको आदेशमा मेक्सिको सीमामा कडाइ गरेपछि अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले कठोर मार्ग प्रयोग गर्न थालेका छन्। जसका कारण आप्रवासीहरूको मृत्यु नियमितझैं हुने गरेको छ ।

केही दिनअघि पनि एक भारतीय बालिकाकाे मेक्सिकाे सीमामा लू लागेर पानीविना तड्पिएर मृत्यु भएकाे समाचार आएकाे थियाे ।

यूएनएचसीआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले ओस्कार र भ्यालेरीको मृत्युले कतिपय मुलुकमा बढ्दो हिंसालाई रोक्नेतर्फ विश्वको ध्यान जान जरुरी रहेको बताएको छ ।

"मानिसहरू सुरक्षित जीवनका लागि कठोर यात्रामा निस्कन बाध्य भइरहेको देखिन्छ", ग्रान्डीले बताए।

यूएनएचसीआरले सबै मुलुकलाई यस्ता दुःखद घटना हुन नदिन तत्कालै समन्वयात्मक कदम चाल्न आह्वान पनि गरेको छ । –एजेन्सी

प्रतिकृया दिनुहोस