चट्याङले लागेर ४ को मृत्यु ३ घाइते
प्रदेश १ का विभिन्न ठाउँमा चट्याङले लागेर बुधबार अपरान्ह ४ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् ।
मोरङको रङ्गेली नगरपालिका ९ दोहमना बजार नजिकै चट्याङ लागेर स्थानीय अभत ऋषिदेव (१४) र अनिल ऋषिदेव (१५) को मृत्यु भएको छ ।
बजारबाट पैदल घर फर्कंदै गरेका दुई बालक चट्याङ लागेर गम्भीर घाइते भएका थिए । दुवैलाई जिल्ला अस्पताल रङ्गेली लैजाने क्रममा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक कवीन्द्र कार्कीले बताए ।
यस्तै झापाको बाह्रदशी गाउँपालिका ५ का दुर्गाप्रसाद ओली (५२) पर्शुराम पाठक (६०) लाई चट्याङ लागेर घाइते भएकोमा पाठकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुवैजना ओलीको घरमा बसिरहेको बेला चट्याङ परेको थियो ।
सुनसरीको बराह नगरपालिका ९ श्रीलंका टापुमा चट्याङ लागेर अभिषेक उराव (६) को घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । मृतककी बहिनी पुष्पा उराव (४) घाइते भएकी छन् ।
यसैगरी झापाकै कचनकवल गाउँपालिका २ का भुमा गाइने (३१) घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागी घाइते भएकी छन् ।