माडागास्करको स्वतन्त्रता दिवसका अवसरमा भागदौड हुँदा १५ जनाको मृत्यु
माडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ७५ जना घाइते भएका छन् ।
माडागास्कर प्रहरीका अनुसार म्याडागास्करको ५९ औं स्वतन्त्रता दिवसका अवसरमा महामसिना रंगशालामा भागदौड मच्चिएको थियो ।
माडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित थिए।
उनीहरु दुवैले राष्ट्रपति निवासमा आयोजित पत्रकार सम्मेलनमा घटनाप्रति दुःख प्रकट गरेका छन् ।
राष्ट्रपति रजोलिनाले घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।
केही महिना पहिले पनि महामसिना रंगशालामा यस्तै भागदौड मच्चिदा केही व्यक्तिको मृत्यु भएको थियो ।
–एजेन्सी