टिप्पणीबिहिबार, १२ आषाढ , २०७६

राउटे हेर्न संग्रहालय !

वसन्त महर्जन

समयको बहावसँगै परिवर्तन हुने प्राकृतिक नियम विपरीत संस्कृतिलाई यथास्थानमा राख्न जोड दिइनु विकासको धार विपरीत कदम हो। 

वन्यजन्तु, चराचुरुङ्गी आदिलाई संरक्षण गर्न तथा अवलोकन गराउन चिडियाखाना बनाएर राखिन्छ । सहजै पाइनेदेखि दुर्लभ जीवहरूसम्म राखिने भएकाले यसलाई जीवित संग्रहालय पनि मानिन्छ । त्यहाँ प्रवेशका लागि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्थाले यो आम्दानीको स्रोत पनि बन्छ ।

यसैको सिको गरे झैं दैलेखको गुराँस गाउँपालिकामा लोपोन्मुख राउटे समुदायलाई निश्चित क्षेत्रमा घेराबार गरेर राखिएको छ । गाउँपालिकाको वडा नम्बर ५, कान्छीबजारको चौरमा राउटे बस्ती बसालेर त्यहाँ अन्य व्यक्ति प्रवेश गर्न शुल्क तिरेर टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका अनुसार, बाह्य व्यक्ति जथाभावी राउटेको बस्तीमा पस्दा तिनको संस्कृति लोप हुँदै गएकाले जीवित संग्रहालय बनाइएको हो । यसबाट पर्यटनमा टेवा पुग्ने र आम्दानी बढ्ने हिसाबकिताब छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय सामाजिक रूपान्तरणको चरणमा छ । यिनको बारेमा अन्य समुदायमा चासो पनि छ । तर, चिडियाखाना वा संग्रहालयमा राखिए जसरी राउटे समुदायलाई खुला प्रदर्शनीमा राख्ने र हेर्न टिकट बेचेर आम्दानी गर्ने काइदा मानवोचित व्यवहार होइन ।

बस्ती खुला हुँदा बाहिरबाट मानिस जथाभावी प्रवेश गरेको भन्दै घेराबार लगाइनु सांस्कृतिक दृष्टिले हास्यास्पद कुरा हो । बस्तीमा पुग्ने बाह्य समुदायको सम्पर्कमा आउँदा राउटेको संस्कृति हराउने खतरा देख्नु झ्नै संकुचित सोचाइ हो । बाह्य जगतसँग सम्पर्क हुँदैमा संस्कृति मासिने भए राउटे बाहेक सबै समुदायको संस्कृति उहिल्यै मासिइसकेको हुनुपर्ने हो ।

दैलेख, गुराँस गाउँपालिकाको निगालपानीमा बस्ती सर्न बस चढ्दै राउटे समुदायका व्यक्तिहरू ।

संस्कृतिमा परिवर्तन र परिमार्जन हुनु स्वाभाविक प्रक्रिया हो । यो समय र परिस्थिति अनुसार आफ्नै मूल्य र मान्यता सहित बदलिइरहेको हुन्छ, जसलाई विकासको प्रक्रिया पनि भन्न सकिन्छ । राउटे समुदायलाई विकासको यस्तो स्वाभाविक प्रक्रियाबाट निकालेर उनीहरूको फिरन्ते जीवनशैलीलाई कसैको स्वविवेकमा निर्देशित गर्नु उचित होइन । यसमा स्थानीय सरकार सरिक हुनु झ्नै विडम्बना हो ।

संस्कृति, संस्कार र सभ्यताको विषयमा हामी सामान्यतया सकारात्मक नै हुन्छौं । यसको संरक्षण र संवर्द्धनका लागि आदर्शका कुरा मात्र नगरी बजेट छुट्याएर काम गर्नै तत्पर हुन्छौं । तर, कतिपय बुझाइमा भने समस्या हुन्छ । यही समस्याग्रस्त बुझाइले कतिपय काम विवादित मात्र होइन, प्रत्युत्पादक हुने गर्छन् ।

संरक्षणको नाममा कुनै काम गर्दा त्यसले के कस्तो असर निम्त्याउँछ, तात्कालिक समस्या सम्बोधन गर्दा दीर्घकालीन दुष्परिणाम आउँछ कि भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर, हामीकहाँ ती पाटोमा विचार नपुर्‍याई काम देखाउने प्रवृत्ति छ । यस्तो प्रवृत्तिले संस्कृति, संस्कार र सभ्यताको अध्ययन सम्बन्धी निकायहरूलाई पनि छाडेको छैन । राज्यको बजेटबाट संचालित यी निकायहरू अभिलेखीकरण गर्नुलाई नै अनुसन्धान ठान्छन् ।

केही समयअघि नेपाल सम्पदा संघद्वारा आयोजित संस्कृति संरक्षण सम्बन्धी अन्तरक्रियामा एक पर्यटन व्यवसायीले राखेको विचार सांस्कृतिक दृष्टिले असुहाउँदो थियो । कार्यक्रममा उनले चितवनका कतिपय थारूहरूले आफ्नो संस्कृति छाड्दै गएको र संस्कृति संरक्षणका लागि जनचेतना अभिवृद्धिको योजना ल्याउनुपर्नेमा जोड दिए ।

चिडियाखाना वा संग्रहालयमा राखिए जसरी राउटे समुदायलाई खुला प्रदर्शनीमा राख्ने र हेर्न टिकट बेचेर आम्दानी गर्ने काइदा मानवोचित व्यवहार होइन । बस्ती खुला हुँदा बाहिरबाट मानिस जथाभावी प्रवेश गरेको भन्दै घेराबार लगाइनु सांस्कृतिक दृष्टिले हास्यास्पद कुरा हो । बस्तीमा पुग्ने बाह्य समुदायको सम्पर्कमा आउँदा राउटेको संस्कृति हराउने खतरा देख्नु झ्नै संकुचित सोचाइ हो । बाह्य जगतसँग सम्पर्क हुँदैमा संस्कृति मासिने भए राउटे बाहेक सबै समुदायको संस्कृति उहिल्यै मासिइसकेको हुनुपर्ने हो । 

बाह्य सम्पर्कमा आएर भेषभूषा तथा भाषा लगायतमा आएको परिवर्तनलाई नै संस्कृतिबाट टाढिएको भनेर अर्थ्याइरहेका ती भलाद्मी भने ‘सुट’ मा ठाँटिएर अंग्रेजी मिश्रित नेपाली बोलिरहेका थिए । संस्कृतिबारे ती व्यक्तिको बुझाइ गुराँस गाउँपालिकाको जस्तै दोषपूर्ण छ ।

सूचना र सन्देश प्रवाह गर्न आज अत्याधुनिक संचारप्रविधिको प्रयोग गरिन्छ भने कुनै बेला सोही प्रयोजनका लागि विभिन्न समाजले आआफ्नै व्यवस्था अनुसार तरिका अपनाउँथे ।

काठमाडौंको नेवार समाजमा यसलाई ‘नाय्खिं च्वयेकेगु’ (झयाली पिट्ने) भनिन्छ । सूचना फैलाउने यस कार्यलाई पहाडी भेकमा ‘कटवाल प्रथा’ भनिन्छ । मानव इतिहासमा सन्देश प्रवाहको सोच संस्कृति हो र उक्त सोच अनुसारका तरिका संस्कृतिका विविध रूप हुन् ।

विगतमा यस्ता थियौं र यसरी विकास भयौं भनेर दिने जानकारी इतिहास र संस्कृति सम्बन्धी विषय हुन् । तर परिवर्तनको नियम विपरीत विगतकै अवस्था यथावत् रहिरहनुपर्ने मान्यता राख्दै आधुनिक परिवेशमा जानुलाई संस्कृति मास्ने भनेर बुझ्नुहुँदैन ।

राउटे समुदायलाई निश्चित घेरामा राखी टिकट काटेर बस्तुभाउ जस्तै देखाउने र थारू समुदाय समयको बहावमा लाग्दा विकृति देख्ने सोच यी समुदायलाई यथास्थानमा राख्न जोड दिने तत्व हुन् ।

गतिशीलता र परिवर्तनको प्राकृतिक नियम सबै कुरामा लागू हुन्छ । पुराना कुरा मात्रै सांस्कृतिक विषयवस्तु भनेर बुझ्दा भ्रम हुन्छ, साथै यसले संस्कृतिप्रति नै विकर्षण पैदा गर्न सक्छ । 

प्रतिकृया दिनुहोस