पुस्तक आयातमा कर लगाउनु स्वागतयाेग्य : मुद्रण व्यवसायी
पुस्तक आयातमा १० प्रतिशत भन्सार महशुल लगाउने सरकारी घाेषणाकाे नेपाल मुद्रण उद्योगीहरुले स्वागत गरेका छन् ।
व्यवसायीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी केही सिमित व्यक्तिहरुले ज्ञानमा कर लगाएको भन्नु गलत भएकाे बताए ।
“ज्ञानमा कर लगाइयो भन्नु गलत हो, हामी त्यसको प्रतिवाद गर्न चाहन्छौं,” नेपाल मुद्रण उद्योग संघका अध्यक्ष शंकर कुमार खड्काले भने, “हामी काम नपाएर बसेका छौं, सीमित व्यक्तिले फितलो कानूनको फाइदा उठाएका छन् ।”
केही व्यक्तिले विदेशमा पुस्तक छापेर आयात गर्ने गरेकाेले स्वदेशी उद्योग धरासायी हुने अवस्थामा पुगेको उनकाे भनाइ छ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत विदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउने घाेषणा गरेकाे छ ।
विदेशमा छापेर आयात गरिने पाठ्यपुस्तक लगायतमा भन्सार तथा भ्याट नलगाइने तर, मुद्रणसँग सम्वन्धित कच्चा सामग्रीहरु कागज, मसी, प्लेट तथा रसायनमा १५ प्रतिशत भन्सार महसुल र भ्याट १३ प्रतिशत गरी २८ प्रतिशत कर लाग्ने व्यवस्थाले स्वदेशी मुद्रण उद्योगहरु बन्द हुने अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुनिल गोपाल श्रेष्ठले बताए ।
सरकारले गरेकाे घाेषणाले विदेशमा पुस्तक छपाइ आयात गर्दा स्वदेशमा रोजगारकाे संभावना र अरबौं रुपैयाको राजश्व समेत गुम्ने अवस्थाको अन्त्य हुने उद्योगीहरुको दावी छ ।
उद्योगीहरुको भनाइमा, नेपालमा पनि अत्याधुनिक छपाइ मेसिनहरुबाट न्यून मूल्यमा उच्च गुणस्तरको छपाइ गर्न सकिन्छ।
विदेशी प्रकाशनका पुस्तक नेपालमा छाप्न सके अहिले बजारमा बिक्री भएका भन्दा झण्डै ५० प्रतिशत कम मूल्यमा बजारमा पुर्याउन सकिने नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कल गौतम बताउँछन् ।