रिपोर्टबुधबार, ११ आषाढ , २०७६

सिंहदरबारको नाकैमुनि गरीबीको यो हद

गोपाल गडतौला

भूकम्पबाट विस्थापित काठमाडौं तारकेश्वरका दलित परिवार अझै टीनको टहरामुनि जीवन गुजारिरहेका छन्।

तारकेश्वर नगरपालिका–६ का लाटा पतुवार (८६) ।

तारकेश्वर नगरपालिका–६ का ८६ वर्षीय लाटा पतुवारको एककोठे टहरोमा हिमाल संवाददाता एक साताअघि पुग्दा दिउँसो १ बजेसम्म उनले केही खाएका थिएनन् ।

सानैदेखि बोल्न नसक्ने उनी श्रीमती लाटीको तीन वर्षअघि निधन भएपछि एक्लिएका छन् । छिमेकीका अनुसार उनका टाढासम्म पनि कुनै नातेदार छैनन्, भूकम्पले भत्काएको छाप्रो छिमेकीले टालटुल गरिदिएपछि त्यसमै रात काटिरहेका यी वृद्ध खाना पकाउन सक्दैनन् । उनको छाक कोही दयालु छिमेकीले उब्रेको ल्याइदियो वा त्यही छाप्रोमा पकाइदियो भने मात्र टर्छ ।

ऐलानी जग्गामा भएको बाँसको छाप्रोमा चिसो भुईंमै सुत्ने यी एक्ला मानिसको छाप्रो छेउछाउ चर्पी समेत छैन । छिमेकका महिलाले ग्यालेनमा ल्याइदिएको पानीबाटै प्यास मेटाउँछन् । उमेर छँदा मजदूरी गरेर पालिएका उनी हिजोआज हिंडडुल गर्न पनि सक्दैनन् । भूकम्पपीडित भए पनि उनले राहत पाएका छैनन् । र, राहत नपाउने उनी एक्ला होइनन् ।

...

तारकेश्वर नगरपालिका–६ को सानो बाइपासमा टीनका छाप्रा बनाई बसेका ६ दलित परिवारका २८ जनाले प्रयोग गर्ने शौचालय एउटा मात्रै छ । छेउमै रहेको एउटा धारोमा हरेक तेस्रो दिन एक घण्टा आउने पानीबाटै गर्जो टार्ने उनीहरूमध्ये कतिपयका घरमा दुईपटक चूलो बाल्न समेत धौ–धौ छ । उत्तरपश्चिम काठमाडौंको यही ठाउँमा पुस्तैनी बसोबास रहेका उनीहरूको यस्तो हविगत १२ वैशाख २०७२ को भूकम्पपछि भएको हो ।

“भुइँचालोले घर भत्काएपछि योभन्दा बढी गर्न सक्ने औकात नै भएन” दुई श्रीमती, पाँच छोराछोरी र तीन नाति–नातिनाका अभिभावक जुवारीलाल परियार (५३) भन्छन्, “झ्री, जाडो र गर्मी टीनका छाप्रामा गुजार्नु कम्ती सास्ती हुन्न ।”

भूकम्पअघि जुवारीलाल र उनका दुई भाइ गुणनारायण र वैकुण्ठका बेग्लाबेग्लै घर मोहियानी हक भएको ६ आना जमीनमा थिए । बलेंसी जोडिएका तीनवटै घर भूकम्पले ध्वस्त पारेपछिको तीन महीना उनीहरूले तरकारी खेतीका लागि छिमेकीले बनाएको प्लास्टिक टनेलमै बिताए ।

च्यातिएका प्लास्टिकको टनेलमा गुजारा नचलेपछि भूकम्पले उठिबास लागेका अन्य तीन दलित परिवारसँग मिलेर वार्षिक ६० हजारमा एक रोपनी जग्गा भाडामा लिई ६ वटा टहरा बनाएको जुवारीलाल बताउँछन् । अति विपन्न यी प्रत्येक परिवारसँग गरिखाने मेलोको नाममा एक–एक वटा सिलाई मेशिन मात्र छ ।

जुवारीलाल परियारको दुःख यतिमा मात्रै सीमित छैन । तीन वर्षअघि छोरी रेनु (२८) को स्वास्थ्यमा समस्या आएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुर्‍याउँदा थाहा भयो, रेनुको मुटुको भल्भ टालिएको रहेछ ।

चिकित्सकले उपचारका लागि रु.७ लाख चाहिने बताएपछि उनी रोए मात्र । चिकित्सकले ‘छिटो उपचार नगरे जे पनि हुनसक्ने’ सुनाएको सम्झिदैं उनी भन्छन्, “यो छोरीको अनुहार हेर्दा मुटु भक्कानिन्छ ।”

मासिक ५ हजार रुपैयाँको औषधि खानुपर्ने छोरीको उपचारमा सहयोग गर्न आग्रह गर्दै जुवारीलाल कैयौं पटक तारकेश्वर नगरपालिका धाए तर अझैं सहयोग पाएका छैनन् । भन्छन्, “जग्गा हुने र बोल्न सक्ने टाठाबाठाका भत्किएका घर छिट्टै ठडिए, हामी गरीबको ओत अझ्ै बनेको छैन ।”

जुवारीलालका पाँचमध्ये तीन छोराछोरीले १२ कक्षासम्म पढेका छन् । तीमध्ये कुनै एकलाई पियनको मात्र भए पनि जागिर लगाइदिन अनुरोध गर्दै उनी नगरपालिका, वडा कार्यालय, स्थानीय गैरसरकारी संघ–संस्था र चिनेजानेका नेताहरूका घरघरमा धाए । तर कतै पनि सुनुवाइ भएन ।

सुनुवाइ छैन
पाँच वर्षको लागि भाडामा लिएको जमीनमा प्रत्येक दलित परिवारहरूले दुई लाखसम्म खर्च गरेर टीनको छाप्रो हालेका छन् । बासको व्यवस्था त भयो, तर छाप्रो हाल्दाको ६० हजार ऋण तिर्न तीन वर्ष लागेको बताउने गुणनारायण भन्छन्, “एक वर्षपछि यो ठाउँ छोड्नुपर्ने पीरले अहिलेदेखि औडाहा चलिरहेको छ ।”

तारकेश्वर नगरपालिका–६ की वडा सदस्य प्रमिला नेपाली ।

छानो जोडिएका छाप्रामा ६ दलित परिवारका २८ जनाको बसोबास छ । त्यहाँ रहेको एक मात्र धारोमा हरेक तेस्रो दिन एकघण्टा मात्र पानी आउँछ । सबैका लागि ऋण काढेरै बनाइएको एउटा चर्पी छ ।

थप एउटा चर्पी बनाइदिन एक वर्षअघि नगरपालिकालाई गरेको अनुरोधको कुनै उत्तर नआएको बताउने प्रतिमा नेपाली यही बस्तीकी बासिन्दा र तारकेश्वर नगरपालिका वडा नं. ६ की निर्वाचित वडा सदस्य पनि हुन् । “बैठकैपिच्छे चर्पी चाहियो भनेर माग राख्छु” उनी भन्छिन्, “बसेर बोल्यो कसैले सुन्दैन, उभिएर बोल्दा हावाले लैजान्छ ।”

छाप्रोको छेउबाट बग्ने खोल्सामा गाउँलेले फोहोर फ्याँक्ने हुँदा दुर्गन्ध र लामखुट्टेको प्रकोप भइरहन्छ । खुला ओसिलो ठाउँमा बसेका उनीहरूमध्ये धेरैलाई खुट्टा सुन्निने व्यथाले च्यापेकोे छ ।

राजधानी शहर छेउमै बस्ने यी सीमान्तकृतका कतिपय घरमा हरेक दिन दुईछाक पाक्नु नै गाह्रो छ । जुवारीलालकी कान्छी श्रीमती विमला भन्छिन्, “एकै छाकमा दाल र तरकारी पाक्नु त असम्भव नै छ ।”

रहेन पेशामा पकड
केही वर्षअघिसम्म सबैजसो गाउँलेका लुगा यिनै ६ घर दलितले मात्र सिउँथे तर, अहिले परिस्थिति फेरिएको छ । टोलैपिच्छे लुगा सिउने ‘टेलर्स’ खुलेका छन् । “लुगा सिउने काममा दर्जीहरूको मात्र एकाधिकार रहेन” गुणनारायणकी श्रीमती गमला (५०) भन्छिन्, “हामीले नयाँ काम सिकेनौं, अरूले हाम्रो काम सिके ।”

पहिले ‘दलितको पेशा’ भनेर हेलाँ गरिएको कर्ममा अन्य जातिको संलग्नता बढ्नु राम्रो भए पनि पुस्तौंदेखि यही पेशा गरिरहेको समुदायलाई नयाँ पेशा सिकाउन वा परम्परागत पेशामै पनि समयानुकूल दक्ष बनाउन कतैबाट प्रयास नहुँदा आफ्नो समुदाय झ्न् कमजोर बनेको वडासदस्य प्रमिला नेपाली बताउँछिन् ।

भूकम्पले विस्थापित भएर छाप्रोमा बसेका दलित परिवारका युवा–बालबालिकामध्ये धेरैले बीचैमा पढाइ छाडेका छन् । तिनैमध्येकी एक मनिषा परियार (२१) ले २०७१ सालमा एसएलसी उत्तीर्ण गरे पनि आर्थिक अभावकै कारण क्याम्पस भर्ना हुन पाइनन् । बस्तीकी एक्ली एसएलसी उत्तीर्ण महिला उनी भन्छिन्, “किताब, कापी र ड्रेस जुटाउन नसकेर मैले पढाइ छोडें, अहिले सिलाई काम गरेर परिवारलाई सहयोग गरिरहेकी छु।”

पुर्जा छैन, घर बन्दैन
भूकम्पमा घर भत्किएका अधिकांशले सरकारले दिएको अनुदानमा घर बनाए पनि करीब पाँच पुस्तादेखि तारकेश्वर–६ मा बस्दै आएका यी दलितसँगै केही आदिवासी परिवार टीनका टहरामै बस्न बाध्य छन् ।

आफू बस्दै आएको जग्गाको स्वामित्व आफूसँग नभएका कारण उनीहरूले घर बनाउन सरकारबाट पाउने सहयोग रकम पाएका छैनन् । मधु परियार भन्छन्, “हामी जस्ता गरीबलाई पुस्तौंदेखि जहाँ बसिरहेको हो, त्यहीं घर बनाउन नमिल्ने व्यवस्था किन गरेको होला ?”

आफ्नो नाममा जग्गा धनीपुर्जा नहुँदा पुनर्निर्माण प्राधिकरणबाट पाउने सहुलियतबाट वञ्चित हजारौं परिवार उपत्यका आसपास मात्रै छन् । तारकेश्वर नगरपालिकामा मात्र भूकम्पबाट बस्न नमिल्ने गरी क्षतिग्रस्त घरसंख्या ६ हजार १९३ थियो ।

तीमध्ये ५ हजार १२४ परिवारले पहिलो किस्तास्वरुप रु.५० हजार बुझ्े पनि २ हजार ९७ परिवारले मात्र दोस्रो किस्ताको रु.१ लाख ५० हजार लिन पाए । तेस्रो किस्ता समेत लिनेको संख्या तारकेश्वरमा १ हजार ५८८ मात्र छ । यो तथ्यांकले तारकेश्वर नगरपालिकामा मात्र दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले घर बनाउन नसकेको देखिन्छ ।

भूकम्पपीडितको सहायता, सूचनाको उपलब्धता र उनीहरूलाई सरकारी र गैरसरकारी क्षेत्रबाट भएको सहयोगको समन्वय गर्ने कार्य स्थानीय सरकारले गर्ने नीति छ । तर, स्थानीय सरकार र प्राधिकरणबीच समन्वय नहुँदा धेरै पीडित अझ्ै लाभ लिनबाट वञ्चित छन् ।

भूकम्पपीडितलाई सहयोग पुर्‍याउने खासै योजना नभएको तारकेश्वर नगरपालिकाले यसै साता तेस्रो नगरपरिषद् वैठक गर्दैछ । उपमेयर भवानी डोटेल भूकम्पपीडितको पुनस्र्थापनामा नगरपालिकाको भूमिकाबारे आफूलाई जानकारी नभएको बताउँछिन् ।

स्थानीयबाट सडक विस्तार र स्तरोन्नतिकै माग बढी आएकाले अन्य क्षेत्रमा नगरपालिकाको ध्यान पुग्न नसकेको बताउने उनी भूकम्पबाट विस्थापित भएकाहरूलाई नगरपालिकाले सीप विकास र परम्परागत सीपको स्तरोन्नति सम्बन्धी तालिम चलाउने तयारी गरेको बताउँछिन् । 

 

प्रतिकृया दिनुहोस