कला/साहित्यबिहिवार, मंसिर २३, २०७३

फिल्मका भान्से जेठादाइ

हिमालखबर

काँचको पर्दामा कलाकारहरू थरीथरी भोजन गरिरहेका देखिन्छन्। पर्दापछाडि पनि त्यही भोजन हुन्छ कि? “अहँ, हुँदैन। देखाउने र खाने खाना फरक–फरक हुन्छ” ३६ वर्षदेखि खाना पकाउँदै आएका जेठादाइ भन्छन्। 

उनै जेठादाइ अर्थात् कुलबहादुर महत (६२) ले पकाएको खाना नखाएका कमै कलाकार होलान्। चलचित्र 'बासुरी' यता उनी अविच्छिन्न 'भान्से' छन्, छायाङ्कनस्थलमा। कलाकारका लागि डाडुपन्यू चलाएका कुलबहादुरलाई जेठादाइको नाम पनि कलाकारले नै जुराएका हुन्। रनजित गजमेरका छोरा सत्यजितले जेठादाइ भनेपछि कुलबहादुरको नामै फेरियो।

छायाङ्कनमा भान्सेको शुरुआत भने अलि फरक छ। भारतको कालेबुङमा 'बासुरी' फिल्मको छायाङ्कन थियो। उनी दिनभरि छायाङ्कनस्थलमै रमाए। अर्को दिन 'बाँसुरी' फिल्मका निर्देशक तुलसी घिमिरेकी आमाले 'भान्से' को काममा लगाइन्। उनी भन्छन्, “मलाई खाना पकाउनै आउँदैनथ्यो।”

त्यहाँ कुरा अर्कै थियो। त्यतिबेला छायाङ्कनका लागि छुट्टै भान्से राख्ने चलन थिएन। भान्सेको रुपमा राखिएका 'बंगाली कुक' ले भाँती नपुर्‍याउने भएपछि नायक श्रवण घिमिरे नै खाना पकाउँथे। देखाउनलाई भए पनि कुक चाहिएको थियो। त्यही 'डमी कुक' बनाइएका जेठादाइ भन्छन्, “फिल्म यूनिटमा भान्से पनि छ भन्नका लागि मलाई राखियो।”

छायाङ्कनबाटै खाना पकाउन सिकेका उनले 'कुन कलाकार के खान्छ र के खाँदैन?' भन्नेसम्म जानकारी राखेका छन्। त्यसबेला श्रवण घिमिरे र तुलसी घिमिरे आफैं अघि सर्थे, खाना पकाउन। नायकनायिका राकेश पाण्डे र रजनी शर्मा जे पाक्छ, चूपचाप खान्थे। 'लाहुरे' का नायक श्रवण घिमिरे र नायिका तृप्ति नाडकर मीठो मानेर खाने गरेको बताउँछन्। थोरै खाने, खानपानमा खासै गुनासो नगर्ने तृप्तिलाई सम्झिन्छन् “खै! मीठो लाग्थ्यो कि लाग्दैनथ्यो, कहिल्यै केही भनिनन्।”

छायाङ्कन टोलीसँगै भान्से भएर कुद्ने जेठादाइको कसैसँग खासै गुनासो छैन। नून चर्को, खुर्सानी पीरो, भातमा बढी पानी त सधैंका कुरा भए। तर नायिका कृष्टि मैनालीको याद आउँछ, उनलाई। “एउटा चाउचाउलाई सातथरी बनाउन लगाउँथिन्, कहिले यो भएन, कहिले त्यो पुगेन” उनी भन्छन्। 'अपराध' को छायाङ्कनमा हैरान पारेकी कृष्टि 'धर्म' मा भने बदलिएको पाए उनले।

छायाङ्कनमा कलाकारको रुचि भन्दा पनि जे पाइन्थ्यो, त्यही पाक्थ्यो। मीठो–मसिनोको कुरा नहुने बताउँदै उनी भन्छन्, “मन पर्‍यो कि परेन भनेर कहिल्यै सोधिनँ।”

'दुई थोपा आशु' र 'दक्षिणा' मा जेठादाइले पकाएको खाएका भुवन केसीले कहिल्यै टिप्पणी गरेनन्। शिव श्रेष्ठको बानी पनि उस्तै थियो। राजेश हमाल भने रेस्टुराबाट मगाउँथे। “राजेश बाहिरबाटै मगाउँथे, मेरो भान्साको खाना उति खाएनन्” उनी भन्छन्। यदाकदा अण्डा उसिन्न र आलुचिप्स बनाउन लगाउँथे, राजेश।

दिलीप रायमाझीलाई भने दालभात नै चाहिन्थ्यो। दिलीपले दिनमा दुई पटकसम्म भात खाने गरेको जेठादाइ सुनाउँछन्। मिथिला शर्मा, नीर शाह, करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, निरुता सिंह, गौरी मल्लले खानामा कहिल्यै गुनासो गरेनन्। “हिरोइन थोरै खाना खान्थे। एक/दुई गाँस टिपेेर हिंड्थे” जेठादाइ भन्छन्।

'बासुरी' र 'लाहुरे' पछि तुलसी घिमिरेकै 'अन्याय' का लागि नेपाल आएका उनी फेरि कालेबुङ फर्किएनन्। थातथलो त छोडे नै परिवार पनि उतै छुट्यो। र अहिलेसम्म पनि एक्लै बस्छन्, काठमाडौंको लाजिम्पाटमा।

बैंसमा उनलाई पनि 'हिरो' बन्न मन लागेको थियो। क्यामेरा अगाडि पुग्दा बोली बन्द हुने, जीउ गल्ने गरेपछि 'हिरो' बन्ने रहर त्यसै हराएको बताउँछन्। भरिया, जेलरलगायतका पात्रको भूमिकामा अभिनय गरेका उनी अझै पनि भान्से नै छन्। कलाकारसँग खासै उठबस नहुने उनको एउटा गुनासो छ, “फिल्मको समारोह, जमघटमा निम्तो दिंदैनन्।”
-शिव मुखिया

प्रतिकृया दिनुहोस