विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित तीनजना पक्राउ, ५ थान बन्दुक बरामद
नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला जनपरिषद प्रमुखसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनी ब्याङ्क तथा सुनचाँदी पसल लुटपाट घटनामा कैद सजाय पाइसकेका व्यक्ति हुन् ।
परिषद प्रमुख अशोक राई, कार्यकर्ता कंश धिमाल र केन्द्रलाल धिमाललाई पक्राउ गरी उनीहरूका घरबाट मोरङ प्रहरीले ५ वटा बन्दुक बरामद गरेको छ।
८ असार अपरान्ह पक्राउ परेका दुईजनाको घरमा खानतलासी गर्दा ५ थान बन्दुक बरामद भएको सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।
विभिन्न व्यक्ति तथा संघसंस्थालाई डर देखाएर चन्दा असुली गर्ने गिरोहका व्यक्ति मोटरसाइकलमा जाँदै गरेको सूचनाका आधारमा पक्राउ गरी उनीहरूको घरमा तलासी लिइएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।
मोरङ बेलबारी ३ स्कुलडाँडाबाट को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार सुन्दर हरैंचा १२ का अशोक राई (४०) र कानेपोखरी ६ का कंश धिमाल (३४) लाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार, २०६६ मा उर्लाबारीस्थित सुनचाँदी पसल र झापा दमकको लक्ष्मी ब्याङ्क लुटपाटमा संलग्न रहेको पाइएपछि राईले ७ वर्ष कारावास सजाय भोगेका थिए ।
आइतबार बेलुका तलासी लिंदा धिमालको घरबाट अटोमेटिक पेस्तोल २ थान, ४ म्याग्जिन र १४ वटा गोली फेला परेको प्रहरीको भनाइ छ ।
उनीहरूबाट प्राप्त सूचनाका आधारमा सोमबार दिउँसो उर्लाबारी २ सालबारीका केन्द्रलाल धिमाल (४८) को घरबाट ३ थान भरुवा बन्दुक, बारुद, छर्रा बरामद गरिएको प्रहरीले बताएको छ ।
तीनमध्ये एक बन्दुक लोड गरिएको अवस्थामा रहेको डीएसपी श्रेष्ठले बताएका छन् । उनीहरूलाई सोमबार नै जिल्ला अदालत मोरङबाट मुलुकी हातहतियार ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले बताएको छ ।