झण्डा देखें, जुत्ता देखिनः बाबुराम भट्टराई
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पोखरामा एक विद्यार्थीले जुत्ता हान्ने प्रयास गरेका छन् ।
पृथ्वीनारायण क्याम्पस पोखरामा नयाँ शक्ति निकट विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई स्नातकोत्तर तहका छात्र सञ्जीव भट्टराईले कालो झण्डा देखाएका थिए ।
आफूले विद्यार्थीहरुलाई सम्बोधन गरिरहेका बेला कालो झण्डा देखेपछि बाबुराम भट्टराईले ‘कालो झण्डा, गाली र मुर्दाबादका नारा कति सुनियो सुनियो, यसले केही फरक पर्दैन’ भनेलगत्तै छात्र सञ्जीव भट्टराईले उनीविरुद्ध नारा लगाउँदै जुत्ता प्रहार गरेका थिए ।
जुत्ताको झटारो मञ्चसम्म नपुगेकाले भट्टराईलाई लाग्न पाएन । छात्र भट्टराई कैलालीको नारायणपुरका वासिन्दा हुन् ।
जुत्ता हानेलगत्तै छात्र सञ्जीव भट्टराईलाई नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सञ्जीवमाथि हातपात समेत भएको र, उनको कान र नाकमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको प्रहरी उपरीक्षक घनश्याम अर्यालले जानकारी दिए ।
घटनापश्चात पोखरामै भएको पत्रकार सम्मेलनमा भट्टराईले भने आफूले कालो झण्डा देखे पनि जुत्ता नदेखेको बताएका छन् ।
“ती भाइले देखाएको कालो झण्डा मैले देखें तर जुत्ता देखिन,” उनले भने, “लोकतन्त्रमा विरोध गर्न पाइन्छ, मेरो कोट पनि पनि कालो तिमिले चिन्ता नलेउ ।”
कालो झण्डा देखाउनेलाई प्रहरी नियन्त्रणमा लिएको सुनेपछि आफूले छाड्न आग्रह गरेको उनले बताए । उनले भने, “सबैलाई चित्त बुझाउन सकिँदैन, यो समान्य कुरा हो, यसलाई महत्व दिन जरुरी छैन ।”
युवराज श्रेष्ठ, पोखरा