‘क्लिन फिड’को विरोधमा २४ घण्टा विदेशी टेलिभिजन च्यानल बन्द
सरकारले ल्याउन लागेको विज्ञापन ऐनमा रहेको ‘क्लिन फिड’ सम्बन्धी व्यवस्थाको विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले विदेशी टेलिभिजन च्यानल बन्द गराएका छन् ।
'क्लिन फिड' सम्बन्धी व्यवस्था अब्यवहारिक भएको भन्दै इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले आज दिउँसो ३ बजेदेखि २४ घण्टाको लागि विदेशी च्यानलहरु बन्द गरेका हुन् ।
भोलि आउने परिस्थितिबारे सरकारलाई अहिले नै अवगत गराउन सांकेतिक बन्द गरिएको केबुल टेलिभिजन महासंघले जनाएको छ ।
हाल संसदमा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा ६ (१) मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ’ भनिएको छ।
त्यस्तै उपदफा (२) मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने उल्लेख छ ।
‘क्लिन फिड’ सम्बन्धि व्यवस्था विदेशी टेलिभिजन च्यानलको प्रशारण गर्दा विज्ञापन हटाएर मात्र प्रसारण गर्ने व्यवस्था हो । जुन व्यवस्था प्रस्तावित विधेयकमा छ ।
उक्त व्यवस्थाका लागि इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै 'क्लिन फिड' दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको महासंघले जनाएको छ ।
यो अवस्थामा क्लिन फिड सम्बन्धी व्यवस्था लागू गरिएमा डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता बञ्चित हुने महासंघको दाबी छ ।
तर, नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष रविन्द्रकुमार रिजाल ‘क्लिन फिड’ लागू हुँदा नेपाली व्यवसायी र राज्य दुवैलाई फाइदा हुने बताउँछन् ।
“क्लिन फिड लागू भए विज्ञापन बनाउन स्वदेशी साधन–स्रोत, सीप तथा कलाकारको प्रयोग हुन्छ र देशको आम्दानी बढ्छ,” उनी भन्छन्, “यसले राजस्वमा उल्लेख्य योगदान पुर्याउँछ ।” क्लिन फिडले नेपाली सञ्चार उद्योग पनि फस्टाउने उनको बुझाइ छ ।