रिपोर्टआइतबार, ८ आषाढ , २०७६

नेवाः संस्कृतिको शक्ति

सविना देवकोटा

पटक–पटक सत्तालाई झुकाउन मात्र होइन, राजनीतिक आन्दोलनकै दिशा बदल्न समेत निर्णायक बन्दै आएका काठमाडौं उपत्यकावासी नेवार समुदायको शक्तिको आधार बनेको छ– नेपाली मौलिक पहिचान बनिसकेको नेवाः संस्कृतिको वैभव। 

गुठी विधेयकको विरोधमा ४ असारमा काठमाडौंको माइतीघरमा भएको प्रदर्शन । तस्वीरः बिक्रम राई

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतप्राप्त सरकारको नेतृत्व सम्हालेयताका करीब १६ महीनामा पहिलो पटक यो साता एउटा ठूलो धक्का व्यहोरेका छन् । त्यो धक्का हो– काठमाडौं उपत्यकाका रैथाने, नेवार समुदायबाट सरकारको विरोधमा प्रकट भएको असन्तुष्टि र आक्रोश ।

त्यसको कारक चाहिं सरकारले २७ वैशाख २०७६ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बन्न पुग्यो ।

विधेयकले सदियौंदेखि समुदायले संचालन गर्दै आएका गुठीलाई समेत गुठी प्राधिकरण मातहत ल्याउन र समुदायको धर्म–संस्कृतिसँग जोडिएका गुठीको अस्तित्व नै समाप्त पार्न खोजेको भन्दै उपत्यकाका नेवार समुदाय आन्दोलित बनेपछि सरकार विधेयक फिर्ता लिन बाध्य भयो ।

पछिल्लो समय सरकारले अघि बढाएका थुप्रै कानून निर्माण सम्बन्धी प्रक्रिया तीव्र विवादमा परेका छन् । त्यसबाट रुष्ट बनेका सरोकारवालाहरू आक्रोशित र आन्दोलित छन् । कानून निर्माण प्रक्रियाले सरकारको लोकतन्त्रप्रतिको निष्ठामै प्रश्न खडा गरे पनि सरकार आफ्नो अडानबाट टसमस देखिएन, प्रधानमन्त्री र मन्त्रीहरू नै आक्रामक शैलीमा देखापरे ।

त्यसक्रममा संचारजगतदेखि प्राज्ञिक समुदायसम्मलाई लाञ्छित गर्ने क्रियाकलाप भए । गुठी सम्बन्धी विधेयक एउटा अपवाद हो जसले सरकारलाई पूर्णतः रक्षात्मक अवस्थामा पुर्‍याइदियो । कतिसम्म भने विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएर मात्र पुगेन, प्रधानमन्त्री ओलीले विशेष पत्रकार सम्मेलन गरेरै त्यसबारे प्रष्टीकरण दिनुपर्‍यो ।

त्यसपछि पनि हजारौं उपत्यकावासी सरकारको कदमको विरोधमा सडकमा ओर्लिए । सिंहदरबारको सातो लिने गरी देखापरेको यो आक्रोश पछाडिको शक्ति थियो– नेवार समुदायले जोगाएको–फैलाएको काठमाडौं उपत्यकाको समृद्ध संस्कृति र त्यसको अभिन्न अंग रहँदै आएको गुठी व्यवस्था ।

संस्कृति जोगाउने नेवाः गुठी
हुन पनि गुठी व्यवस्था नेवार समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारसित जोडिन पुगेको छ । यो समुदायमा सना गुठी, सी गुठी, द्यौ गुठी जस्ता जन्मदेखि मृत्युसंस्कार चलाउने र नासःद्य गुठी (नाचगान सम्बन्धी देवताको गुठी), चःरे सेवा गुठी (चौथी पूजाको गुठी), होली गुठी, वाद्य गोष्ठी जस्ता अरू कैयौं सामाजिक र धार्मिक गुठीहरू पनि छन् । संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, “नेवारी समाजलाई ज्यूँदो राख्न गुठी संस्कृतिको सबभन्दा ठूलो योगदान छ ।”

काठमाडौं, वसन्तपुरमा इन्द्रजात्राको अवसरमा निकालिएको हल्चाेकाे सव: भकु प्याखँ (आकाश भैरव, कुमारी, चण्डेश्वर नृत्य)

जहाँ बसे पनि सामूहिक बसाइ र रहनसहनमा विश्वास गर्ने नेवार समुदायको विशेषता हो । कतिपयका भनाइमा सामूहिकता नै यो समुदायको गहना हो । नेवारी गुठी पनि यही भावनाबाट विकसित हुँदै आएको पाइन्छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगको दाबीमा गुठी परम्पराले स्थापित गरेको सामूहिकताको अभ्यास संसारका अन्य कुनै समुदायमा पाइँदैन ।

अर्को कुरा, धार्मिक हुन् या सामाजिक गुठी– गुठीको व्यवस्थापनमा नेवार समुदायको कुशलता इतिहासकै अग्रणी मानिन्छ । उपलब्ध ऐतिहासिक अभिलेखहरू केलाउँदा लिच्छविकालीन (तेस्रोदेखि आठौं शताब्दीसम्मको) समयमा ‘गोष्ठी’ शब्द निकै प्रयोग भएको भेटिन्छ ।

त्यसबेलाका अभिलेखहरूमा गोष्ठीको आर्थिक प्रबन्ध र त्यसका कार्य प्रणालीहरूको वर्णन समेत गरिएको छ । अर्थात्, गोष्ठीहरूले मठमन्दिर, गुम्बा, जात्रा, पूजास्थल आदिको संरक्षणका साथै चाडपर्वमा मनोरञ्जन अनि कृषि, स्वास्थ्य, ऊर्जा, उद्यम लगायतका क्षेत्रमा जनसेवा समेत संचालन गर्थे ।

संस्कृतिविद् सत्यमोहन जोशी २००७ सालअघि नेवाः गुठीले त्रि–चन्द्र क्याम्पसका शिक्षक र वीर अस्पतालका बिरामीलाई निःशुल्क खाना खुवाउने गरेको अहिले पनि सम्झन्छन् ।

ललितपुरको लेलेमा भेटिएको लिच्छविकालीन राजा अंशुवर्माको शासनकालको एउटा शिलालेखमा पनि ‘गोष्ठीका’ शब्द उल्लेख छ । शिलालेखमा पाइएका ‘पानीय गोष्ठीका’, ‘बद्रित गोष्ठीका’ जस्ता शब्दले त्यसबेलाको खानेपानी र ढल व्यवस्थापन गर्ने प्रणालीका रूपमा गुठीले काम गरेको बुझाउँछन् ।

भक्तपुरमा बिस्केट जात्रा ।

अहिले पनि काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायमा प्रत्येक घरका एक जना सदस्य गुठीको सदस्य हुनैपर्ने परम्परा कायम छ । यद्यपि, समुदायसँग अन्योन्याश्रित सम्बन्ध रहेको गुठी परम्परामाथि प्रहारको क्रम पनि चलिरहेको छ । यसको शुरूआत भूमि सम्बन्धी ऐन २०२१ लागू भएसँगै हुनपुग्यो ।

किनभने भूमिसुधार लागू भएपछि गुठीको जग्गा निजीकरण हुन थाल्यो । त्यसले नेवार समुदायको संस्थागत सामूहिक परम्परामाथि प्रहार गरेको ठान्ने संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, “अनि कतिपय गुठीका आर्थिक पूर्वाधार खुम्चिन पुगे, कतिपय जात्रा, पर्व र नाचहरूले अनुशासनको लगाम गुमाए ।”

गुठी संस्थानका अनुसार अहिले देशभरका ६९ जिल्लामा २२०० गुठी अस्तित्वमा छन्, जसमध्ये काठमाडौंमा ७४४, भक्तपुरमा ३४७ र ललितपुरमा १५८ गुठी छन् ।

गुठी संस्कृतिमाथि भइरहेको प्रहारकै कारण हुनसक्छ, नेवार समुदायका आप्रवासी सदस्यहरूले संसारका कुनाकाप्चामा समेत गुठी प्रणाली विस्तार गरेका छन् । जस्तो कि, सामाजिक संजाल चियाउँदा नेवा गुठी न्यूयोर्क, गुठी अष्ट्रेलिया, भैरव नाच गुठी लण्डन, क्यानेडियन नेवाः गुठी आदिका गतिविधि प्रशस्त भेटिन्छन् ।

नेवाः वैभव
पानीको दहबाट खेतीयोग्य मलिलो जमीन, आवादी भूमि हुँदै घना शहरका रूपमा विकसित काठमाडौं उपत्यकाको काखमा हुर्केको जातिका रूपमा चिनिन्छ, नेवार समुदाय । तर, यो परिचय मात्र नेवार संस्कृतिको शान बुझाउन पर्याप्त छैन ।

भक्तपुरको गाईजात्रा । तस्वीरः वेलकमनेपालडटकम

सदियौंदेखिको आफ्नै रीतिरिवाज, भाषा, लिपि, भेषभूषा र बन्दव्यापार सहितको मौलिक जीवनशैली नेवारीपनको पर्याय हो जसले आफ्नै माटोबाट उठेर समृद्ध बनेको संस्कृति मार्फत संसारसामु देशको पहिचान गाढा बनाएको छ ।

भिन्नभिन्न कालखण्डमा विभिन्न ठाउँबाट मिसिन आइपुगेका परम्परा र संस्कृतिहरूलाई सम्मिश्रण र परिष्कृत गर्दै बनेको काठमाडौं उपत्यकाको नेवार संस्कृति जति मौलिक छ, त्यति नै सम्पन्न पनि ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार नेपाल एकीकरणभन्दा पहिले काठमाडौंको चारभञ्ज्याङभित्रका जुनसुकै जाति, भाषा, संस्कृति र परम्परा भएका बासिन्दालाई नेवार भनिन्थ्यो । अर्थात्, पूर्वमा भक्तपुर, पश्चिममा थानकोट, उत्तरमा हात्तीगौंडा र दक्षिणमा बज्रबाराहीभित्र बस्ने सबै नेवार थिए ।

अहिलेको नेवारी चिनारी चारभञ्ज्याङभित्र सीमित छैन । योसँग गर्विलो इतिहास पनि छ । जस्तो कि, नेपालले सन् १९५३ मा संयुक्त राष्ट्रसंघको सदस्यताका लागि पहल गर्दा देवनागरी लिपि र विक्रम संवत्लाई आफ्नो मौलिक सिर्जनाका रूपमा पेश गरेको थियो । तर, ती दुवै सिर्जना नेपालको नभई भारतको रहेको दाबी परेपछि नेपालले राष्ट्रसंघको सदस्यता पाउन सकेन ।

सन् १९५५ मा नेवार जातिको नेपाल भाषा, रञ्जना लिपि र नेपाल संवत्लाई राष्ट्रको मौलिक भाषा, लिपि र संवत्का रूपमा पेश गरेपछि मात्र नेपालले राष्ट्रसंघको सदस्यता पायो । संस्कृतिविद् सत्यमोहन जोशीका शब्दमा यो दृष्टान्त नेवार संस्कृतिको गरिमा दर्शाउने इतिहास पनि हो ।

पाटन दरबार स्क्वायरमा रातो मत्स्येन्द्रनाथको रथ । तस्वीरः इन्द्र श्रेष्ठ

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार देशभरका सबै जिल्लामा फैलिएको नेवार जातिको जनसंख्या १३ लाख २१ हजार ९३३ छ, जुन कुल जनसङ्ख्याको पाँच प्रतिशत हो । सन् २०१४ मा राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको संयुक्त सर्वेक्षणले मानव विकास सूचकांकमा नेपालका जनजातिमध्ये नेवारलाई उच्चस्थानमा देखाएको छ । यसको महत्वपूर्ण आधार हो– नेवारी संस्कृति ।

हुन त नेवार समुदायको फैलावट यति ठूलो छ कि वर्षभर ठ्याक्कै कतिवटा जात्रा मनाइन्छन् भन्ने यकिन आँकडा कतै भेटिन्न । कतिपय जात्रा लोप भइसकेका छन् । इन्द्रजात्रा, मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा आदि भने पहिले भन्दा बढी जनसहभागिता र हर्षोल्लासपूर्वक मनाइँदैछन् । १२ वर्षमा हुने खड्ग सिद्धि नाच, १२ वर्षमै मनाइने बुङ्ग द्वय (भोटो जात्रा) जस्ता पर्व पनि जीवन्त छन् ।

जात्रा जस्तै भोज र परिकारहरूमा पनि मौलिक स्वादका हिसाबले नेवार समुदाय उत्तिकै सम्पन्न छ । चाडपर्वमा सामूहिक भोज गर्ने ‘लप्ते भ्वय्’ अर्थात् सुकुल भोजको परम्परा यसको मौलिक चिनारी हो ।

पाटनको ज्यापु समाजका संस्थापक कुललाल डंगोलका अनुसार एउटै राँगाबाट ८४ प्रकारका मासुका परिकार बनाउन सकिन्छ । संस्कृतिविद् हरिराम जोशी भन्छन्, “नेवारी संस्कृतिमा ऋतु अनुसारका परिकार छन् । पर्वहरूले नै कुन ऋतुमा के खाने भनेर सिकाइदिएका छन् । के पछि के खाने भन्ने नियमले सूत्रबद्ध आहारको बानी बसाइदिएको छ ।”

तस्वीरः हटनेपालडटकम

तन्त्रमा विश्वास गर्ने यो समुदायमा सगुनका रूपमा प्रयोग गरिने बारा, माछा, मासु, अण्डा र रक्सीलाई पञ्चतत्वका रूपमा लिइन्छ, जसले काम, क्रोध, लोभ, मोह र अहंकारलाई समेत बुझाउँछन् । इतिहासकार प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका भनाइमा यी पाँच तत्वलाई वशमा राख्नेले नै जीवनमा सफलता हात पार्ने मान्यताको प्रतिबिम्ब हो सगुन संस्कृति ।

खानुभन्दा पहिले परिकार सजाउने कला, भोज खान बस्दा सामूहिक रूपमा बस्ने प्रचलन तथा स्थानीय मदिरा (अयला) लाई ‘अन्ति’ (करुवा भन्दा ठूलो सुराहीदार भाँडो) बाट माटाको प्यालामा खन्याएर खाने आफ्नै शैलीमा यो समुदायको विशिष्ट सांस्कृतिक विरासत देखिन्छ । संस्कृतिविद् जगमान गुरुङका अनुसार माटोको प्याला र चाँदीको प्यालामा राखेर सेवन गर्दा मदिरामा भएका कीटाणु मर्ने हुँदा नेवारहरूको रक्सी सेवन परम्परा पनि वैज्ञानिक छ ।

परिकार जस्तै बाजा, गीत, संगीत र नृत्य पनि ऋतु अनुसार फरकफरक हुन्छन् । वाद्यगुरु धर्म मुनिकार भन्छन्, “हाम्रा बाजाहरू पनि ऋतु अनुसार बेग्लाबेग्लै छन् । गीत त झन् १२ महीनाका १२ थरी नै छन् ।”

महिलाले शिरमा लगाउने गुनकेसरी फूल, कान र गलामा पहिरिने गरगहना तथा हाकुपटासीको पहिरनले नेवार समुदायलाई परम्परादेखि नै अलंकार र आभूषणमा सम्पन्न देखाउँछ ।

जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने बेग्लाबेग्लै गहनाका अर्थ पनि आ–आफ्नै हुन्छन् । कहिले, कहाँ, किन, कस्तो गहना लगाउने भन्नेबारे निश्चित नियम छ । यहाँभित्रका जातिविशेषका पनि बेग्लाबेग्लै गहना हुन्छन् । जस्तो कि, ‘माकः सि’ ललितपुरका ज्यापू महिलाले मात्र लगाउँछन् । नेवाः संस्कृतिमा शिरमा लगाउने परम्परागत गहना मात्र १४ थरी छन् ।

नेवार समुदायमा भाइटीकाको अघिल्लो दिन मनाइने म्हपूजा । तस्वीरः साझाडटकम

परापूर्वकालदेखि हस्तकलामा अग्रणी शहर हो, ललितपुर । हालसालै सम्पन्न छैटौं हस्तकला व्यापार मेला तथा १४औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको अवसरमा विश्व कला परिषद्ले ललितपुरलार्ई ‘वल्र्ड क्राफ्ट सिटी’ घोषणा गरेको थियो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन हस्तकला ललितपुर मात्रै नभएर नेवार समुदायकै ‘ब्रान्ड’ भएको बताउँछन् । संस्कृतिविद् डा. चुन्दा बज्राचार्य भन्छिन्, “मूर्ति कुँद्ने, चित्र बनाउने जस्ता नेवार समुदायका कलात्मक सीपलाई इतिहासमै अब्बल मानिन्छ ।”

हुन पनि यही सीपले नै ‘नेपाल’ खाल्डोलाई कलाको उद्गम थलो बनाएको हो । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार काष्ठकलाका पारखी, नेवारले एउटा आँखीझ्याल बनाउँदा झण्डै ६४ प्रकारका बुट्टा कुँद्ने गर्छन् ।

मन्दिरका टुँडालहरूमा कुँदिएका कलाकृति समुदायको खुलापन झल्काउने दृष्टान्त पनि हुन् । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग भन्छन्, “उत्सवमा बाँच्ने र त्यही अनुसार संस्कृति–संस्कार विकास गरेकाले नेवाः संस्कृति सांस्कृतिक उमंगता (कल्चरल एक्ट्यासी) को उदाहरण पनि हो ।”

जात्रा, पर्वहरू स्थानविशेषका भए पनि नेवार मात्रको जातीय महत्व र विशेषता बोकेको साझ सांस्कृतिक चाड हो– म्हपूजा । ‘म्ह’ अर्थात् आफ्नै शरीरभित्रको चेतलाई पूजा गर्ने यस पर्वको दार्शनिक महत्व भएको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । समग्रमा मानव शरीरभित्रै ब्रह्माण्ड रहने यो मान्यताले स्वयम्‌लाई चिन्ने र आत्मरक्षा गर्ने जिम्मेवारीबोध पनि गराएको छ ।

आत्मनिर्भरताको जग
नेवार समुदायको सांस्कृतिक सम्पन्नताको कारण चाहिं के होला त ? संस्कृतिविद् ग्वँग आत्मनिर्भरतालाई यसको प्रमुख कारण मान्छन् । उनी भन्छन्, “काठमाडौंको मलिलो जग्गामा खेती गरेर आत्मनिर्भर बनेका नेवारहरूले त्यसपछि कला र मनोरञ्जनमा समय खर्चिन पाए । गुजाराको समस्या हल भएपछि बचेको समय सदुपयोग गर्ने क्रममा कोही मूर्ति बनाउनेतिर, कोही चित्र कोर्न, कोही बाजा बजाउन त कोही नाचगान गर्नेतिर लागे ।”

संस्कृतिविद् हरिराम जोशीका भनाइमा पनि आर्थिक सम्पन्नतापछि नै नेवारहरूको सांस्कृतिक विकासले फड्को मारेको हो । “उपत्यकाको माटो धेरै मलिलो भएकाले वर्षको तीन महीना मात्रै काम गरे पुग्थ्यो” उनी भन्छन्, “त्यही कारण पनि मनोरञ्जन र कलाकौशलमा लगानी गर्ने समय मिल्यो ।”

आत्मनिर्भरता वा आर्थिक सम्पन्नताको जग बलियो हुनुको अर्को पनि कारण छ । छैटौं शताब्दीदेखि नै ल्हासासँग नेवार समुदायको व्यापारिक सम्पर्क थियो । त्यसले कालान्तरमा देशकै व्यापार सम्बन्ध स्थापित गर्‍यो । संस्कृतिविद् जगमान गुरुङका अनुसार भारतका व्यापारी भोट (चीन) जाने र भोटबाट भारत जाने ‘ट्रान्जिट’ जस्तै थियो, नेपाल उपत्यका ।

मानवशास्त्री सुरेश ढकाल भने ल्हासासँग आर्थिक सम्बन्ध हुनुअगावै नेवारहरूले उपत्यकाको माटोको मलिलोपनकै कारण आर्थिक सम्पन्नता हासिल गरिसकेको बताउँछन् । ढकालका भनाइमा रहनसहन, धार्मिक आस्था र रीतिरिवाजसँगै अरूका संस्कृति–संस्कारलाई सजिलै ग्रहण गर्न सक्ने नेवार समुदायको क्षमता पनि छुटाउनै नहुने विषय हो ।

नेवार समुदायको अर्को विशेषता हो– सामूहिकता । अर्थात्, जहाँ गए पनि उनीहरू एक्लै बस्दैनन् । काठमाडौं उपत्यका बाहिरका गोरखा बजार, भीमफेदी बजार आदि त्यसका उदाहरण हुन् ।

सामूहिक बेल विवाह (इही) ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार एकआपसमा जोडेर मौलिक घर बनाउने, बस्तीमा गणेश, भैरव, चैत्य वा नृत्येश्वर स्थापना गर्ने यो समुदायको चलन नै हो । सांस्कृतिक रूपमा नेवारहरू सम्पन्न हुनुको अर्को कारण आफ्नै पात्रो अनुसार खेती गर्ने परम्परा पनि हो । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, “हिंडडुल कम र एकता बढी भएपछि उनीहरूको कलाकौशल पुस्ता–पुस्तामा पनि खारिंदै गयो ।”

नेवार समुदायभित्रको चार वर्ण छत्तीस जातको वर्गीकरण सीप र पेशा विविधीकरणको प्रमाण भएको संस्कृतिविद् ग्वँगको निष्कर्ष छ । जस्तो कि, सात दशकदेखि चलेको कृष्ण पाउरोटी उद्योगलाई अघि बढाइरहेका घनश्याम राजकर्णिकारले राजकर्णिकारहरूको पुख्र्यौली पेशा मानिने मिठाई व्यापारलाई निरन्तरता दिएका छन् ।

भक्तपुरको टौलाक्ष्य टोलमा जन्मेका कान्छा रञ्जितकार (७६) ले झण्डै ६ दशकदेखि पाटन दरबार क्षेत्रमा ढुङ्गामा बुट्टा कुँद्ने पुख्र्यौली काम गरिरहेका छन् । संस्कृतिविद् जगमान गुरुङको निचोड छ– नेवार समुदायको सूत्रबद्ध आचारसंहिता नै कलाकौशलको संरक्षणसँगै यो समुदायलाई व्यवस्थित गर्ने आधार हो । हुन पनि तन्त्र साधना गर्ने पूजाकोठा (आघम्) मा तान्त्रिक ज्ञान नलिएसम्म घरकै सदस्य पनि छिर्न पाउँदैनन् ।

सबभन्दा महत्वपूर्ण पक्ष– सूचनाप्रविधिको विकाससँगै मनोरञ्जनका अनेकौं विकल्प तयार भए पनि नेवार समुदायले आफ्नो संस्कृति र परम्परालाई जीवन्त राखेको छ ।

उत्साह संरक्षणको
“यो गितार हाम्रै हो । ड्रमसेट पनि हाम्रै हो । भाषा बाहेक तिमीहरूको ‘आफ्नो’ केही छैन ?”

११ वर्षअघि अमेरिकाको लुसियानामा कन्सर्ट गर्न पुगेका गायक दीपक बज्राचार्यलाई एक अमेरिकी नागरिकले यस्तो प्रश्न सोधे । पश्चिमा शैलीका गीतसंगीतमा झुकाव राख्ने बज्राचार्यले गितार र ड्रमसेट बजाएर तताएको माहोल यो प्रश्नले नबिथोलिए पनि उनको मन भने एकाएक चिसो हुनपुग्यो ।

धेरैबेर सोचमग्न भएपछि उनले सयौं वर्ष लामो इतिहास बोकेको आफ्नै मौलिक नेवारी बाजा सम्झे । दीपक भन्छन्, “आफ्ना मौलिक बाजालाई मैले जात्रा र पर्वमा बजाउने साधनका रूपमा मात्र बुझेको रहेछु ।”

लुसियानामा अमेरिकी नागरिकको प्रश्नसामु अवाक् बनेका दीपकले त्यसयता आफूले गाएका गीतमा भने नेवारी बाजा, जात्रा र नृत्य समावेश गर्न थाले । त्यहीक्रममा सन् २०१३ देखि ‘लेट द वल्र्ड डान्स इन नेपाली म्युजिक’ अभियान चलाएर आफ्ना लोकबाजाको धुन मिसिएका गीतहरू गाउन थाले ।

चर्चित पछिल्लो गीत ‘मनमगन’ मा दीपकले नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै नेपाली संस्कृति झल्कने अरू नाचलाई समेत समेटेका छन् । नेवारी र हिन्दीमा उल्था भइसकेको ‘मनमगन’ ले नेवारी मौलिकतालाई विश्वसामु चिनाएपछि दंग देखिएका दीपक भन्छन्, “ती विदेशी नागरिकले प्रश्न नसोधेको भए मलाई आफ्नै मौलिक बाजा, गीत र पर्वहरूले शायद कहिल्यै चिमोट्ने थिएनन् ।”

कुनै घटनाविशेषबाट प्रभावित भएर संस्कृति संरक्षणमा जुटेका दीपक जस्तै पात्रहरूले उत्साह पनि थपेका छन् । काठमाडाैंका वाद्यगुरु धर्म मुनिकार तिनैमध्येका हुन् । मुनिकारले परम्परागत नेवारी लोकबाजालाई आफ्नो समुदायभन्दा बाहिर र काठमाडौं उपत्यका बाहिर बिस्तार गरेर प्रशिक्षण दिन थालेको दुईदशक पुगिसकेको छ ।

अर्को पात्र हुन्, काठमाडौं कालोपुलकी प्रमिता मुनिकार (२१) । पाँच वर्षअघि काठमाडौंको नक्सालस्थित मालिगाउँ गुठीको सहयोगमा बाँसुरी बजाउन सिकेकी प्रमिताले त्यसयता नेवार संस्कृति नै आफूमा समाहित भएको अनुभव गरेकी छन् । बाँसुरी बजाएर जात्रा र पर्वहरूमा सहभागी भइरहेकी उनी चर्या नाच पनि सिक्दैछिन् ।

प्रमिता जस्तै सामाखुसी, काठमाडौंका रूपेश महर्जन (१९) ले ६ वर्षअघि बुवा दिवशलालको करबलमा टोलटोल चहारेर नेवारी बाजा सिकेका थिए । त्यसबेला ६ कक्षा पढ्ने रूपेश अहिले बाजा बजाएर विभिन्न जात्रा, उत्सव र भोजहरूमा सहभागी हुन्छन् । भन्छन्, “बुवाले कर नगरेको भए मैले आफ्नो संस्कृति कहिल्यै नबुझ्ने रहेछु ।”

नेपालका जातजातिमध्ये नेवारहरूको संस्कृति सबभन्दा समृद्ध मानिन्छ । कारण, त्यसको आफ्नै मौलिक पहिचान छ । चाडपर्व र रीतिस्थितिहरूको भण्डार छ । मौलिक संस्कृतिका अन्य मानकसँगै आफ्नै भाषा, लिपि र संवत् छ । ठाउँविशेषमा पनि विविध जात्रा, पर्वहरूले संरक्षण पाएका छन् ।

जस्तो कि, २४ वर्षदेखि बन्द रहेको पायो जात्रा (खड्ग जात्रा) पाटनमा यही वर्ष बडादशैंको दिन पुनः संचालनमा आयो । काठमाडौंको टेकुमा पचली भैरवको जात्रामा गरिने मुसुका गणेशको मूर्ति प्रदर्शन १९ वर्ष बन्द भएर चार वर्षयता पुनः सुचारु भएको छ ।

मकवानपुरको चित्लाङस्थित कपु गाउँमा वर्षेनि देखाइने कात्तिक नाच बन्द भएको १३ वर्षपछि फेरि नियमित बनेको छ । जीवन्त संस्कृति पुस्तकमा उल्लेख भए अनुसार २०६० सालदेखि बन्द रहेको सो नाच २०७३ देखि पुनः संचालनमा आएको हो ।

जीवित देवीका रूपमा पूजा गरिने कुमारी प्रथा काठमाडौं उपत्यकाका तीन शहर– काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र सीमित थियो । काभ्रेको पनौतीमा ८० वर्षदेखि बन्द रहेको यो प्रथा ह्यूमत मिसा पुचः (स्थानीय महिला समूह) को पहलमा तीन वर्षअघिदेखि पुनः शुरू भएको छ ।

काठमाडौं, पाटन र कीर्तिपुरमा १२ वर्षभित्र पूरा गर्नुपर्ने श्वेतकाली (ङतभुलु अजिमा) नाच ३६ वर्ष लगाएर सम्पन्न गरिएको छ । ङतभुलुका मूलनाइके मचाराजा डंगोलका अनुसार यो नाच लिच्छविकालदेखि चल्दै आएको हो । थेचो, ललितपुरस्थित सांस्कृतिक बाजा संरक्षण समितिका सचिव वसन्त मालीका अनुसार १५ वर्षयता हराएको नायोखिः बाजा बजाउने प्रशिक्षण यस वर्षदेखि पुनः शुरू भएको छ ।

अहिले काठमाडौं र ललितपुर महानगरपालिकाले होर्डिङ बोर्ड र ‘लेटर हेड’ मा रञ्जना लिपि लेख्न थालेका छन् । नयाँ पुस्तामा घट्दो नेपाल भाषाको आकर्षण बढाउन काठमाडौंका दीपक तुलाधरले ‘नेवाः बस्ती नेवाः स्कूल’ अभियान चलाइरहेका छन् ।

सन् २००३ मा दरबारमार्गमा मोडर्न नेवाः इङ्गलिस स्कूल खोलेर नेपाल भाषालाई पाठ्यक्रममा समेट्दा नेवारसँगै गैरनेवार विद्यार्थीमा समेत उत्साह देखेपछि यो अभियान चलाएका तुलाधर भन्छन्, “भाषासँगै संस्कृति पनि विस्तार हुँदोरहेछ ।”

दीपकको अनुभवमा यसबाट एकातिर बालबालिकामा मातृभाषाको आकर्षण देखापरेको छ भने सँगसँगै नेपाल भाषा मात्रै बुझ्नेले पढाइ छाड्नुपर्ने अवस्था पनि छैन । तुलाधरले यो अभियान अन्तर्गत १२ वटा नेवाः स्कूल खोलेका छन् भने ९३ विद्यालयमा एउटा विषयको रूपमा नेपाल भाषा राख्ने अभियान चलाएका छन् ।

काठमाडौंको ज्याठास्थित लिपि गुठीले नेपाल भाषाका लिपिलाई विस्तार गर्न विगत ३७ वर्षदेखि लिपि सिकाउने काम गरिरहेको छ ।

थपिंदै चुनौती पनि
संस्कृतिविद् सत्यमोहन जोशीलाई डर छ– सांस्कृतिक सम्पन्नता र संरक्षणको उत्साह हुँदाहुँदै पनि अनगिन्ती भोज, जात्रा, पर्व, कलाकौशलका अनेकन् सीप र संस्कृति आफूसँग पर्याप्त रहेको भन्ने बुझइ नै कतै घातक त बन्ने होइन ! नेवार समुदाय यो आत्मरतिमा रमाएर बस्न नहुने उनको सुझाव छ ।

‘नेवार बिग्रियो भोजले, राणा बिग्रियो मोजले’ भन्ने उक्ति काठमाडौं उपत्यकामा धेरै पहिलेदेखि चल्दै आएको छ । यसबारे संस्कृतिविद् हरिराम जोशीको टिप्पणी छ– “पहिले नेवारहरू आफ्ना सबै आवश्यकता पूरा गरी बचेको समयमा भोजभतेर गरेर उत्सव मनाउँथे, अहिले भोजमा सौखिन अरू काममा भने उदासीन देखिन थालेका छन् । यस्तो प्रवृत्ति सुधार्नुपर्छ ।”

कुनै पनि समुदायको संस्कृति तब मात्र दिगो रहन सक्छ, जब त्यो समुदाय आर्थिक रूपमा पनि सबल हुन्छ । अझ् भनौं, संस्कृतिको शक्ति अर्थ आर्जनसँग पनि जोडिनुपर्छ ।

नेवाः संस्कृतिलाई समृद्ध बनाउन नेवारी लिपि, नाचगान, जात्रा, बाजा, खानपान आदिलाई अब पर्यटन व्यवसायसँग जोड्नुपर्ने लिपि गुठीका अध्यक्ष निरञ्जन ताम्राकार बताउँछन् । “नेवार समुदायमा रक्सीलाई सगुन मानिन्छ” गायक दीपक बज्राचार्य भन्छन्, “नेवारको मौलिक जाँडरक्सी मेक्सिकोमा ‘टकिला’ नामको ब्रान्डेड मदिराका रूपमा प्रख्यात छ, हामीले समग्र नेवारी संस्कृतिलाई नै विश्वव्यापीकरणसँग जोडेर लाभ लिन ढिलो हुँदैछ ।”

अहिलेको चुनौती योभन्दा पनि डरलाग्दो छ, जुन गुठी विधेयक प्रकरणबाट पनि छर्लङ्ग हुनपुगेको छ । त्यो के भने सरकार संचालकहरू समुदायविशेषका संस्कृति र आस्थाप्रति संवेदनशील नबन्दा ऐतिहासिक परम्परा र संस्कृतिमाथि नै प्रहार हुनथालेको छ ।

पंचायतकालमा भूमिसुधार शुरू भएसँगै गुठी व्यवस्थामाथिको प्रहार खेप्न थालेको नेवार समुदायले २०६५ सालमा तत्कालीन माओवादी नेतृत्वको सरकारले इन्द्रजात्राको बजेट कटौती गरेपछि त्यस्तै प्रहार खेप्नुपर्‍यो ।

यो बेग्लै हो कि २०६५ सालको इन्द्रजात्रा प्रकरण र यसपालिको गुठी विधेयक प्रकरण यहाँको नेवार समुदायको सशक्त सांस्कृतिक प्रतिरोधका कारण तुहिन पुगे । काठमाडौं उपत्यकाको यही नेवाः संस्कृति नै हो, जसले वर्तमान सत्तालाई शासनको शैली बदल्नै पर्ने विन्दुमा पुर्‍याइदिएको छ ।

प्रतिकृया दिनुहोस