ब्लगआइतबार, ८ आषाढ , २०७६

माइतीघरको मण्डल

कनकमणि दीक्षित

अरूले ‘योगा’ गरून्, हामी ‘योग’ ! 

सन् १९६६ मा नेपाली चलचित्र ‘माइतीघर’ बन्यो । बी.एस्. थापा निर्देशित, माला सिन्हा र सीपी लोहनी अभिनीत ‘माइतीघर’ निजी क्षेत्रबाट नेपालमा बनेको पहिलो चलचित्र थियो ।

चलचित्र निर्माणकर्ताको कार्यालय थियो, तस्वीर (दायाँ पहिलो) मा देखिएको यो भवन रहेको ठाउँ, जुन थापाथली इन्जिनियरिङ क्याम्पसको ठीक विपरीत दिशातर्फ पर्दछ । मैले सम्झेसम्म यो ठाउँमा तीनतले पुरानो भवन थियो, जसको झ्यालमुनि ‘माइतीघर’ लेखिएको साइनबोर्ड टाँगिएको थियो ।

जसरी पुल्चोकको उकालोमा एउटा इनार थियो, जुन हराएको दशकौं भइसक्दा पनि त्यो स्टपलाई बस कण्डक्टरले भन्न छोडेनन्, ‘लौ इनार आयो, इनार ! इनार !’ त्यसैगरी ‘माइतीघर’ को कार्यालय बन्द भएर सबै सिनेकर्मी लाखापाखा लागिसक्दा पनि — आजैसम्म — यो ठाउँलाई ‘माइतीघर’ नै भनेर चिन्छौं । उपत्यकाका धेरै ठाउँमा अहिले पनि पुरानै नेवाः नाम (या तिनका विकृत रुप) कायम छन्, माइतीघर जस्तै नयाँ नामहरु पनि — रातोपुल, कालोपुल, घण्टाघर, पेप्सीकोला ।

तर अब माइतीघर भनेर पनि पुगेन, ‘माइतीघर मण्डल’ भन्नुपर्‍यो । केशव स्थापित काठमाडौं नगरको जागरुक मेयर हुँदा अतिक्रमित त्यस क्षेत्रबाट घर भत्काएर असाध्यै मोहक हरियालीमाझ विशाल मण्डल बनाए ।

ऋग्वेददेखि हिन्दू धर्मको र बज्रयान बुद्धमार्गीसम्मका लागि ब्रह्माण्ड दर्शाउने, ध्यानलाई सघाउने, मण्डल आकारलाई माइतीघरको त्यो ठूलो, गोलो आकारको ट्राफिक सर्कलमा निर्माण गर्नु सिर्जनशील कार्य थियो । यस्ता राम्रा काम आधुनिक उपत्यकामा विरलै पाइन्छन् (हेर्नु तीनकुनेको हालत !) ।

४ असार बुधबार गुठी सम्बन्धी विधेयकको विरोधमा भेला भएका उपत्यकावासीको प्रदर्शनको अवसर पारेर धेरै तला माथिबाट यो मण्डल राम्ररी देखिने गरी थुप्रै तस्वीर खिचिए । चारैतिर जनमानसको जमात, अनि बीचमा अति सुन्दर मण्डल । प्राङ्गणमा बडेमानको फलामे खम्बा ठड्याएर ठूलो राष्ट्रिय ध्वजा फर्फराएको छ ... पंक्तिकारको विचारमा, यसले यो परिसरको आध्यात्मिक शोभा बढाएको छैन ।

रह्यो उच्चारणको कुरा । हामीले लगभग बिर्सिसकेको, प्रयोग पनि नगर्ने विधा ‘योग’ नबुझ्ने अंग्रेजले 'YOGA' लेख्यो र फेरि शब्द नेपालीमा भित्रियो ‘योगा’ भइकन । यसैगरी नेपाली इतिहास र संस्कारको अभिन्न अंग हुँदा पनि कतिपयले सुन्दै नसुनेको ‘मण्डल’ चाहिं 'MANDALA' भयो । र, ‘मण्डला’ अवतारमा हाजिर भयो । अनि हामीले सम्बोधन गर्न थाल्यौं — माइतीघर मण्डला ।

तस्वीरः बिक्रम राई ।

मण्डललाई मण्डला भन्ने यो उपक्रममा पछिल्लो दशक ‘मण्डला थिएटर’ र ‘मण्डला बुक्स’ पनि मिसिए । हालैको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोकोही माइती जाने सन्दर्भ जोड्दै ‘मण्डला’ नै शब्दोच्चारण गरे ।

हाम्रामा हुँदै नभएको कुरा बुझाउन त केही बिग्रेन — गिलास, रकेट, कम्प्युटर, मोटरकार, बस, टेम्पो आदित्यादि । तर आफ्नै मौलिक प्रयोगलाई पाश्चात्य उच्चारण नगरेकै वेश ।

कसैले भन्लान् पनि, जिब्रोमा बसिसकेको ‘मण्डला’ लाई फेरि ‘मण्डल’ नफर्काऔं, भाषा भनेको चलायमान हुन्छ । तर, होइन । योगा समुद्रपारकाले गरुन्, तर हामी योगाभ्यास गरौं । र, मन भारी जब हुन्छ, आक्रोश जब जाग्छ, जाऔं शान्तिपूर्ण प्रदर्शनी गर्न — माइतीघर मण्डल !

त्यो दिनको प्रतीक्षा पनि गरौं, जब वायु र ध्वनि प्रदूषणमुक्त शहरमा बिहानीपख हामी भेटौं योग गर्न, माइतीघर मण्डलको बगैंचामा !

प्रतिकृया दिनुहोस