ब्लगशनिबार, ७ आषाढ , २०७६

‘साइकल पत्रकारिता’

भैरव रिसाल

त्यस बखत जोकोहीको पहुँचमा नरहेको साइकल पाउनु शानको विषय थियो, शहरका विभिन्न स्थानमा नेताहरूलाई भेटेर सूचना बटुल्न त्यो काइदाको साधन बन्यो। 

आज मैले जेजति परिचय र सामाजिक प्रेम कमाएको छु, त्यसमा एकमुष्ट रूपमा पत्रकारिताकै योगदान छ । तर, विगत चियाउँदा ममा पत्रकार बन्ने सोच र रहर दुवै थिएन । कसो कसो पत्रकार बन्न पुगें । यो कुरा आर्थिक पीडासँग गाँसिएको छ ।

विवाहको अर्थ थाहा नहुने उमेरमै जोडी बाँधिसकेको थिएँ । भाइबहिनीको दायित्व समेत निर्वाह गर्नुपर्ने । संस्कृत शिक्षा अन्तर्गत साहित्य र अर्थशास्त्रमा स्नातक (शास्त्री) गरिसकेपछि लोकसेवा आयोगबाट अफिसरको खुला परीक्षा दिएँ । उत्तीर्ण पनि भएँ । तर, अन्तिममा झेल भयो ।

नेपाल कम्युनिष्ट पार्टीको सदस्य भन्ने थाहा पाएर सरकारले नियुक्ति नै दिएन । त्यो स्थितिमा पैसा आउने कुनै काम नगरी भएको थिएन । खोज्दै जाँदा हालखबर दैनिक पत्रिकाको रिपोर्टरको काम पाएँ, २०१३ माघदेखि ।

हालखबर का प्रोप्राइटर रंगनाथ शर्माले मेरो अन्तर्वार्ता लिएर नियुक्ति दिए । तलब थियो, मासिक रु.१०० । त्यति मात्र होइन, उनले मलाई नयाँ साइकल पनि दिए । ६ दशकअघिको नेपालमा साइकल हुनु चानचुने कुरा थिएन । तिनताक काठमाडौं खाल्डोमा साइकल भएका मानिस धेरै कम थिए । झन्, पत्रकार त विरलै । त्यसबेला पत्रकार नै कति थिए र !

स्केच : भानुभट्टराई

त्यसबेलाको पत्रकारिता
पत्रिकामा काम शुरू गरें । तर, पत्रकारिता विषय पढेको थिइनँ । त्यतिबेला नेपालमा यस सम्बन्धी पढाइ हुँदैनथ्यो । पत्रकारिता गर्ने प्रायः ले उक्त विषय पढेका हुँदैनथे, अपवाद बाहेक ।

त्यति बेला दैनिक पत्रिका बिहान होइन, अपराह्न ४ बजेपछि निस्कन्थे । हालखबर सँगै समाज र कल्पना गरी दैनिक पत्रिका तीन वटा मात्र थिए । शिशाका अक्षरको जमाना थियो, कम्पोज र डि–कम्पोज गर्नुपर्ने । पत्रिकाको ग्याली प्रुफ हेर्नुपर्ने । प्रायः हाते प्रेस हुन्थ्यो । पत्रिका साना आकारमा निस्किन्थे । मूल्य ५ पैसा पर्थ्याे ।

कम्पोज गर्ने मानिस प्रायः गुर्जु बज्राचार्य हुन्थे । तिनको चाडपर्व वा अभर परेर बिदा भयो भने त्यो दिनको अखबार नै ननिस्कने !

तर जतिसुकै असहजता र अभावमा काम गर्नुपरे पनि पत्रकार भनेपछि समाजमा इज्जत थियो । त्यसबेलाको हालखबर सरकारको पक्षमा लेख्दैनथ्यो । त्यसैले पत्रिका लोकप्रिय थियो र यसको फाइदा हामी काम गर्नेहरूको सामाजिक प्रतिष्ठामा पनि पर्थ्याे ।

समाचारमा सत्य–तथ्यमा हदैसम्म ध्यान दिइन्थ्यो । त्यसै कारण समाजमा पत्रिकाको विश्वसनीयतामा प्रश्न उठ्दैनथ्यो । कुनै घटना/दुर्घटनाको विवरण सकेसम्म विस्तृतमा दिने गरिन्थ्यो । कहिलेकाहीं समाचारको तथ्यमा गडबडी भएमा तत्काल अर्को अङ्कमा भूलसुधार छापिन्थ्यो । जनमतको सम्मान गर्न ‘सम्पादकलाई चिठी’ लाई प्राथमिकता दिइन्थ्यो ।

साइकल जति घुमायो, त्यति धेरै समाचार हुने ! ‘साइकल पत्रकारिता’ ले मलाई फलिफाप भयो । मैले पत्रकारिता कर्ममा सूत्रहरू नै बनाएँ– ‘चरैवेती अर्थात् हिंडिराख । समाचार दिने स्रोतलाई गोप्य राख । कुनै पनि समाचारलाई आर्थिक लाभसँग नजोड । स्वतन्त्रतापूर्वक विश्लेषण गर ।’ यी सूत्रले पेशालाई मर्यादित बनाउन सघाए ।

समाचार खोज्ने चक्कर
पत्रकारिता कर्मको शुरूआतमै साइकल पाएपछि मेरो उत्साह दोब्बर भयो । समाचार खोजीका लागि बिहान सात बजेदेखि नै साइकलका पाङ्ग्रा घुम्थे । तराई कांग्रेसका अध्यक्ष वेदानन्द झा त्रिपुरेश्वरमा बस्थे । त्यहाँ नियमित जान्थें ।

त्यसपछि राष्ट्रिय कांग्रेसका अध्यक्ष डा. डिल्लीरमण रेग्मीकहाँ पुग्थें । त्यसपछि नेपाली कांग्रेसका सभापति बीपी कोइरालाकहाँ जान्थें । त्यहाँ त झन् पार्टीका नेताहरूदेखि जिल्ला–जिल्लाबाट आएका मानिसहरू भेटिने भएकाले धेरै समाचार जुट्थे ।

साइकल जति घुमायो, त्यति धेरै समाचार हुने ! ‘साइकल पत्रकारिता’ ले मलाई फलिफाप भयो । मैले पत्रकारिता कर्ममा सूत्रहरू नै बनाएँ– ‘चरैवेती अर्थात् हिंडिराख । समाचार दिने स्रोतलाई गोप्य राख । कुनै पनि समाचारलाई आर्थिक लाभसँग नजोड । स्वतन्त्रतापूर्वक विश्लेषण गर ।’ यी सूत्रले पेशालाई मर्यादित बनाउन सघाए ।

पत्रपत्रिकाले उठाएका कुरालाई सरकारले चासो दिन्थ्यो र समस्या सम्बोधन गर्ने प्रयास गर्थ्याे । मन्त्रिमण्डलको शपथ ग्रहण गराउँदा पत्रकारहरू राजदरबारमा बोलाइन्थे । त्यस क्रममा सवारी साधनको व्यवस्था पनि उतैबाट गरिन्थ्यो । १६ असार २०१६ कोे राति ११ः३० बजे राजा महेन्द्रले बीपी कोइरालालाई प्रधानमन्त्री पदको शपथ खुवाएको स्मृतिमा ताजै छ ।

बेलाबखत सरकारका सचिवहरूले पेल्न खोज्थे । बजारमा मट्टीतेल, चिनी, नूनको अभाव भएको बेला ती वस्तुको अभाव छैन भनी लेख्न दबाब दिन्थे।

सरकारको प्रवक्ता राख्ने चलन नभएको त्यो बेला विश्वस्त सूत्रको प्रयोग थोरबहुत गरिन्थ्यो । २०१६ सालको मन्त्रिमण्डलमा गणेशमान सिंह निर्माण, संचार र नहर मन्त्री भए । मेरो लागि उनी समाचारका ठूला स्रोत थिए ।

त्यसबेला रानीपोखरीसम्मै फैलिएको टुँडिखेलमा उनी हरेक साँझ् दुई–तीन पटक ओहोरदोहोर गर्थे । उनको सन्ध्याकालीन भ्रमणमा म दैनिक साथ लाग्थें । खुला स्वभावका गणेशमान आफूसँग रहेका सबै सूचना दिन्थे । भोलिपल्टको पत्रिकाका लागि खबर कति–कति !! 

प्रतिकृया दिनुहोस