व्यक्तित्वशुक्रबार, ६ आषाढ , २०७६

बैगुनी नेपाली !

कमल मादेन

तीन दशकदेखि नेपाललाई नै कर्मभूमि बनाएका विख्यात उन्यूविद् क्रिस्टोफर रोय फ्रेजर जेन्किन्स आर्थिक अभावकै कारण पोर्चुगल बसाइँ सरेका छन्। 

क्याप्टेन चार्ल्स डेरेक फ्रेजर जेन्किन्स र एन ब्लान्चले दक्षिणी वेल्समा दोस्रो विश्वयुद्धपछि तीन एकड जमीनमा रहेको ठूलो घर खरीद गरे । प्रकृतिसँग असाध्यै लगाव भएकाले चार्ल्सले घरसँगै निजी उद्यान बनाएर दुर्लभ वनस्पति रोपेका थिए । उनी अक्सर वेल्सस्थित प्राकृतिक संग्रहालय पनि जान्थे ।

यी दम्पतीका दुई छोरा र एक छोरीमध्ये सबैभन्दा कान्छा क्रिस्टोफर कहिलेकाहीं बुबालाई पछ्याउँदै प्राकृतिक संग्रहालय त कहिले वेल्सका पहाडी जंगल जाने गर्थे । उनी ९ वर्षको छँदा एक दिन स्कूल छात्रावासबाट भागेर केही घण्टा दूरीको पहाडी जंगलमा एक्लै गए ।

फर्किंदा उनको लुगा फाटेको र हातभरि उन्यूका पातहरू देख्दा तिनका शिक्षक छक्क परे । क्रिस्टोफरले उन्यूकै पात ल्याउनुको कारण चाहिं वास्तविक उन्यू र पुस्तकमा भएको उन्यूको तस्वीर दाँज्नु रहेछ । 

१७ अप्रिल १९४८ मा जन्मेका उनै क्रिस्टोफर रोय फ्रेजर जेन्किन्स अहिलेका विख्यात उन्यूविद् मध्येका एक हुन् । संसारभरबाट ३६ हजार उन्यूका नमूना संकलन गरेका क्रिस्टोफरका १८० वटा अनुसन्धानात्मक लेख तथा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।  

उन्यूलाई अंग्रेजीमा फर्न भनिन्छ । यो वनस्पति फुल्दैन, फल्दैन । यसको पातको मुन्तिर विभिन्न रंग र आकारमा थोप्ला जस्तो सोरस (बीजाणुपुञ्ज) हुन्छ । सोरसभित्र स्पोरान्जिया र स्पोरान्जिया भित्र असंख्य स्पोर रहन्छन् । स्पोर जमीनमा झरेपछि कोस विभाजन भएर त्यसैमा भाले, पोथी प्रजनन कोषहरू निर्माण हुन्छन् । तिनै कोष समागम पछि नयाँ बिरुवा उम्रन्छ । 

उन्यू जमीन बाहेक रूख र ढुंगामाथि पनि फैलिन्छ । पात आकृति, सोरस संरचना र काण्डमा पलाएका रौंहरूको अध्ययनबाट उन्यू प्रजाति पहिचान गरिन्छ । संसारभर उन्यूका १० हजार बढी प्रजाति पाइन्छन् । तीमध्ये नेपालमा ५८० प्रजाति सूचीकृत गरिएका छन् । 

अन्वेषणको विश्व यात्रा
क्रिस्टोफर सन् १९६८ मा वनस्पति अध्ययन अनुसन्धान गर्न क्याम्ब्रिज विश्वविद्यालयबाट इरान पुगे । यसका लागि उनले त्यहाँको राजदरबारमा विन्तीपत्र चढाउनु पर्‍यो । उनको विषय भने उही उन्यू नै थियो ।

क्रिस्टोफरले काठे उन्यू भनिने ‘ड्रायोप्टेरिस’ जातिमा अध्ययन केन्द्रित गरे । र, यसको एक प्रजाति तत्कालीन इरान राजखलकका सदस्यको सम्मानमा ‘ड्रायोप्टेरिस एफिनिज सब–स्पेसिस कोरिएसी भार पहलभी’ नामकरण गरिदिए ।

उन्यू अध्ययन अनुसन्धानमा क्रिस्टोफर यूरोपका स्पेन, पोर्चुगल, कक्रसेस माउन्टेन, जर्जिया र अर्मेनिया, फिनल्याण्ड, नर्वे, स्विडेन, रोमानिया पनि पुगे । अफ्रिकी देश मोरक्को पश्चिमतर्फ रहेको कानरी टापु, मोरक्को र पोर्चुगल पश्चिमका एजोेर्स टापु र मोरक्को पश्चिमको मडिरा टापुमा पनि उन्यूमै केन्द्रित रहे ।

क्यानाडा, हवाई (अमेरिका), आइबेरिका (मेक्सिको), बर्मुडा, ग्वाटेमाला, जमैका, मौरिसस्, रियुनियन (मोरिसस् पश्चिमको टापु), सेन्ट् भिन्सेन्ट (भेनेजुएला नजिकको टापु), एन्टिगुवा (भेनेजुएला उत्तरको एक टापु) र माडागास्कारको उन्यू अध्ययनमा उनैको नाम आउँछ ।

एशियाली देशहरूमा टर्की, इरान, साइप्रस, यमन, सोकोट्रा (यमनी टापु), अफगानिस्तान, पाकिस्तान, श्रीलंका, जाभा, ताइवान, म्यान्मार, भूटान, चीन, जापानमा उन्यूको स्थलगत तथा संग्रहालयमा संग्रहित उन्यू अध्ययन गर्न पुगेका क्रिस्टोफर १९७६ मा भारत आइपुगेका थिए । र भारतका सबैजसो प्रान्त पुगे ।

यस अवधिमा क्रिस्टोफरले बासेल विश्वविद्यालयका नोबेल पुरस्कार विजेता टआडियस रेच्टाइनसँग संयुक्त रूपमा केही अनुसन्धान गरे । उनीहरू दुईको सन् १९८१ मा दुई वटा संयुक्त लेख प्रकाशन भएको छ ।

नेपाल साइनो
उन्यू खोज्दै क्रिस्टोफर पहिलो पटक झण्डै तीन दशकअघि सन् १९८९ मा नेपाल आएका थिए । यसको अर्को कारण पनि छ । क्रिस्टोफरका एक गुरु ओलेग पोलुनिन थिए, जसले नेपालका कुनाकन्दरा घुमेका मात्र थिएनन्, ‘फ्लावर्स अफ हिमालय’ शीर्षकको पुस्तक नै लेखेका थिए । उनै पोलुनिनले क्रिस्टोफरलाई नेपाल जान प्रेरित गरे ।

नेपाल आएपछि क्रिस्टोफरलाई अन्त जान मन लागेन । बाँकी काम गर्न नेपाललाई नै उपयुक्त देश ठाने ।

संसारभर उन्यूका १० हजार प्रजातिमध्ये क्रिस्टोफरले ३९ वटा नयाँ प्रजाति, तीन दर्जनभन्दा बढी उप–प्रजाति, ४० ठिमाहा प्रजाति विश्वको निम्ति नयाँ पत्ता लगाएका छन् । त्यसबाहेक १०० प्रजाति जतिको पुरानो नाम परिवर्तन गरी नयाँ नाम दिएका छन् ।

विश्वका निम्ति नयाँ प्रजाति ‘डिस्क्राइब’ वा पत्ता लगाउनु वा नामकरण गर्न सम्बन्धित वनस्पति परिवार र जातिको गहन ज्ञान मात्र भएर पुग्दैन, सम्बन्धित परिवार, जाति र प्रजातिका सबै संग्रहालयमा संग्रहित नमूना अध्ययन गरेको हुनुपर्छ । हाम्रो राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशालामा उन्यूका करीब १५ हजार नमूना संग्रहित छन् ।

तर, जापानमा यसभन्दा डेढ गुणा बढी उन्यू संग्रह गरिएको छ । बेलायत तथा अमेरिकामा नेपालको उन्यू जापानमा भन्दा केही कम संख्यामा छन् । यी तीन देश बाहेक अन्य देशमा पनि नेपालको उन्यू संग्रहित छ । क्रिस्टोफरले नेपालबाट संकलित सबै नमूना विदेशका संग्रहालयमा अध्ययन गरेका छन् ।

नेपालका लागि क्रिस्टोफरले जति गरे, त्यो सित्तैंमा गरे । उल्टो जाँदा जाँदै उनले संसारभरको उन्यू सम्बन्धी पुस्तक, जर्नल, रि–प्रिन्ट, अध्ययन सामग्री सबै राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशालालाई उपहार दिएर गए । यसबाट उन्यू अनुसन्धानमा हाम्रो मुलुक दक्षिणएशियामै समृद्ध बन्न पुगेको छ ।

नेपालमा रहँदा क्रिस्टोफर बरोबर ललितपुरस्थित राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला गइरहन्थे । नेपालकी पहिलो र एक मात्र उन्यूविद् विद्यालक्ष्मी गुरुङसँग उनी सम्पर्कमा रहे । गुरुङपछि हर्वारियमकै अनुसन्धान अधिकृत नरेश थापा उनको सम्पर्कमा थिए । उनले सुनिलकुमार आचार्यलाई पनि उन्यू सम्बन्धी निकै तालिम दिए ।

वनस्पति विभागले पाँच वर्षअघि क्रिस्टोफरलाई नेपालको उन्यू सम्बन्धी पुस्तक तयार गरिदिन अनुरोध गर्‍यो । विभागले धनराज कँडेललाई क्रिस्टोफरसँग काम गर्न खटायो ।

ती दुईको अथक् परिश्रमको परिणामस्वरुप विभागले ‘फर्न एण्ड फर्न–एल्लिस अफ नेपाल’ शीर्षक पुस्तक खण्ड १ र २ सन् २०१५ र २०१९ मा प्रकाशन गरेको छ । विभागले उनलाई सन् २०१५ मा दोसल्ला ओढाएर सम्मान गर्‍यो ।

काठे उन्यू (ड्रायोप्टेरिस) का संसारभर करीब २५० प्रजाति तथा नेपालमा ३६ प्रजाति र ९ उप–प्रजाति सूचीकृत छन् । नेपालमा सूचीकृतमध्ये एक दर्जन प्रजाति तथा उप–प्रजाति क्रिस्टोफरले नै पत्ता लगाएका छन् । उनले पत्ता लगाएको ‘ड्रायोप्टेरिस स्टेवार्टी’ को नयाँ प्रजाति जुम्ला र डोल्पामा पनि पाइन्छ ।

यसबीचमा क्रिस्टोफरले इडवार्ड गार्डनरबारे रोचक तथ्य पनि पत्ता लगाए । गार्डनर सन् १८१६ ताका इष्ट इण्डिया कम्पनीको आवासीय प्रतिनिधि भएर नेपाल आएका थिए ।

गार्डनरले डा. नाथानियल वाचिलको अनुरोधमा नेपालबाट वनस्पतिका नमूना कलकत्तास्थित रोयल बोटानिकल गार्डेनमा पठाउँथे । क्रिस्टोफरले ‘द फस्ट बोटानिकल कलेक्टर्स इन नेपाल’ (सन् २००६) पुस्तकमा पहिलोपल्ट गार्डनरबाट वनस्पति संकलन गराएको खुलाएका छन् ।

 नेपालको ‘बिडम्बना’ 
तीन दशकको नेपाल बसाइँपछि क्रिस्टोफर नेपाली श्रीमती र छोरा सहित अक्टोबर २०१८ मा पोर्चुगल बसाइँ सरे ।

यस्तो किन भयो ? उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, क्रिस्टोफर प्राज्ञिक अनुसन्धानमा यस्तरी लीन थिए कि उनले आफ्नो आर्थिक दुरवस्थाबारे न ध्यान दिन सके न गुहार्न नै । ललितपुर गोदाबरीस्थित राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला जान, आउन समेत उनलाई समस्या पर्न थालेको थियो ।

नेपालका लागि क्रिस्टोफरले जति गरे, त्यो सित्तैंमा गरे । उल्टो जाँदा जाँदै उनले संसारभरको उन्यू सम्बन्धी पुस्तक, जर्नल, रि–प्रिन्ट, अध्ययन सामग्री सबै राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशालालाई उपहार दिएर गए । यसबाट उन्यू अनुसन्धानमा हाम्रो मुलुक दक्षिणएशियामै समृद्ध बन्न पुगेको छ । कारण उनै क्रिस्टोफर हुन् ।

विडम्बना, विज्ञान र वैज्ञानिकले चिने पनि मुलुकको राज्य संरचनाले भने उनलाई चिन्न सकेन । उनलाई जसोतसो अनुसन्धान कर्ममा लागिराख्न सहयोग गर्ने र बाँकी जीवन यहीं बिताउने सामान्य चाँजोपाँजो समेत मिलाउन सकेन ।

सुनिंदैछ, क्रिस्टोफरले पोर्चुगलमै पनि उन्यू अनुसन्धान शुरू गरिसकेका छन् । त्यहाँको अनुसन्धान चाँडै सिध्याएर उनी यही कर्मभूमि फर्किउन्, फर्काउन विशेष पहल गरियोस् ।

नत्र एक गुणी प्राज्ञको गुनलाई बिर्सिएको अभिशापबाट हामी मुक्त हुनसक्ने छैनौं । के हामी त्यो हदसम्मको बैगुनी भइसकेका हौं त ? 

 

प्रतिकृया दिनुहोस