नेपालमा छापावाल सुन अहिलेसम्मकै महंगो
नेपालमा छापावाल सुन अहिलेसम्मकै महंगो भएको छ ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेको हो ।
आजको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार ४ असारमा प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको थियो ।
यसअघि १२ भदौ २०७० र ८ फागुन २०७५ मा नेपालमा सुनको मूल्य प्रतितोला रु ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यही मूल्य नै आजभन्दा अघि सुनको सबैभन्दा उच्च मूल्य थियो ।
इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्ध, पोर्चुगलले एक हजार अमेरिकी सेना फिर्ता पठाउने निर्णय, लगायतका कारणले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएकाे हुनसक्ने सुनचाँदी व्यवसायीहरुले बताए ।
सरकारले बजेटमा सुनको भन्सार प्रतितोला एक हजार रुपैयाँले बढाउने निर्णय गरेपछि पनि नेपालमा सुनको मूल्य प्रभावित भएको व्यवसायीको भनाइ छ ।