सह–सचिव र उप–सचिव सहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सरकारका सह–सचिव र उप–सचिव सहित १३ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रयोगशाला मोबाइल भ्यान खरिदमा रु १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अभियुक्तहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य रहेका छन् ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेकाे छ ।
ति ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइल भ्यान’ प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादी, काठमाडौंले आपूर्ति गरेको थियो । भ्यान आपूर्ति गर्ने कम्पनीका प्रतिनिधि प्रवीण कुँवरलाई समेत आरोपित बनाई मुद्दा दर्ता गरिएको छ ।
कर्मचारीहरुले चारवटा प्रयोगशाला मोबाइल भ्यान कार्यालयमा दाखिला नहुँदै कमिशन खाएर कार्यालयमा प्राप्त भएको भनेर रकम भुक्तानी गरेको अख्तियारको आरोप छ ।
खरिद गरिएका भ्यान गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदन समेतलाई अनदेखा गरी सप्लायर्ससँगको मिलेमतोमा रकम भुक्तानी गरेको पनि अख्तियारले आरोप लगाएको छ ।
उनीहरुमध्ये रु ४ जनालाई १२ करोड ४० लाख ४७ हजार ४४८, तीन जनालाई ८ करोड २६ लाख ९८ हजार ३७२ र दुई जनालाई ४ करोड १३ लाख ४९ हजार १८६ बिगो मागदाबी गरिएको छ ।