विप्लव सर्लाही जिल्ला इन्चार्ज मारिए
बिहीबार प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा विप्लवका सर्लाही जिल्ला इञ्चार्जको मृत्यु भएको छ।
सर्लाहीको लालबन्दीमा विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका हुन् । मृतक पौडेल सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर २ धरहराका स्थायी बासिन्दा हुन्।
लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको थियो । सर्लाहीको लखनदेही खोला किनारमा गस्तीमा रहेको प्रहरी र मोटरसाइकलमा रहेका विप्लवका कार्यकर्ताबीच बिहीबार दिउँसो मुठभेड भएको हो।
दुईवटा मोटरसाइकलमा रहेका चारजना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको बताइएको छ ।
विप्लव कार्यकर्ताको पिछा गर्दै गएको प्रहरीमाथि दुइटा मोटरसाइकलमा रहेका उनीहरूले गोली फायर गर्दै जंगल पस्ने क्रममा दोहोरो भिडन्त भएको जनाइएको छ ।
चारजनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको र अन्य तीनजना फरार रहेको बताइएको छ । पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको बताइएको छ ।