थप समाचारशुक्रबार, ६ आषाढ , २०७६

भूस्वर्गझै‌ं खप्तड !

शब्द/तस्वीरः भरतबन्धु थापा

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो । यहाँ २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँकाे साैन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ । 

खप्तडका फाँटमा फुलेका फूलहरू ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यसबेला केही हरियाली रहेको खप्तड क्षेत्र पुस महीनापछि सेताम्मे हिउँले ढाकिन्छ । जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ खप्तड ।

तर, यो वर्ष अत्यधिक हिउँ परेका कारण फूलहरू भने त्यति फुल्न सकेका छैनन् । विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका प्रमुख विशेषता हुन् ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् ।

खप्तडका फाँट

खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन् । खप्तडको त्रिवेणीमा मनाइने गंगादशहरा मेला पनि भर्खरै सम्पन्न भएको छ ।

कसरी पुग्ने खप्तड

खप्पर दह

काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ।

डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

यहाँको पर्यटन प्रवर्द्धनमा ध्यान दिने हो भने पर्यटकका लागि खानेबस्ने लगायत आवश्यक सुविधा मिलाउन सके यो भूस्वर्गको रसास्वादन गर्न नेपालबाट मात्रै होइन विश्वकै पर्यटक ओइरिने निश्चित छ ।

 

सैपाल हिमशृंखला

 

सहस्र लिंग

 

कृष्णबहादुर महरा
सञ्चालक समिति सदस्य, नेपाल पर्यटन बोर्ड

'राज्यले  व्यवहारमुखी नीति ल्याउनुपर्छ'

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको क्षेत्र हो खप्तड । तर, खप्तड क्षेत्रमा जाँदा पर्यटकलाई खान बस्नलाई अलि समस्या छ ।

सरकारले पर्यटकीय स्थलका बारेमा नारा ल्याउँदा राम्रा राम्रा ल्याउँछ तर व्यवहारमा लागू हुन गाह्रो छ ।

सरकारले देशभरबाट एक सयवटा गन्तव्य स्थल छानेको छ । त्यसभित्र खप्तड पनि पर्दछ । तर, त्यहाँ पुग्दा पर्यटकलाई के–कस्ता कुराको आवश्यक छ भन्ने सोंचेको पाइँदैन ।

सरकारले पर्यटन प्रवर्द्धन गर्ने कुनै पनि नीति ल्याउँदा व्यवसायीसँग पनि सल्लाह गरेर ल्याएमा त्यो फलदायी हुने थियो । तर अहिलेसम्म यस्तो गरिएको छैन ।

खप्तड होस् या अन्यत्र कुनै पनि स्थानमा पुग्ने पर्यटक सरकारको तथा पर्यटनसँग सरोकार राख्ने निकायको प्रवर्द्धनले भन्दा पनि त्यहाँ पुगेका पर्यटकको ‘माउथ टु माउथ’ प्रचार–प्रसारका कारण पुगेको लाग्छ मलाई ।

निकुञ्जभित्र होटल निर्माण गर्न कानुनीरूपमा मिल्दैन । निकुञ्जमा घुम्न पाउने तर खान र बस्न नपाउने भएकाले केही समस्या भएको छ । सरकाले निश्चित मापदण्ड बनाएर निश्चित व्यवस्था गरे राम्रो हुने थियो ।

खप्तडमा मात्र नभएर समग्र देशकै पर्यटन विकास लागि राज्यले व्यवहारमुखी नीति ल्याउँदा राम्रो होला ।

 

प्रतिकृया दिनुहोस