संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ: नेता नेपाल
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा देखा परेको समस्या समाधानका लागि पार्टीहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताएका छन् ।
साताव्यापी भ्रमणका सिलसिलामा अमेरिका पुगेका नेता नेपालले संविधान संशोधन होइन, कार्यान्वयनमा लाने बेला भएकाले संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग आग्रह गरे ।
संशोधनप्रति मधेसवादी दलहरु समेत सन्तुष्ट नभएको र जनतामा आक्रोश पैदा गराएको पूर्व प्रधानमन्त्री नेपालको भनाइ थियो ।
एमालेले र अहिले जनताले समेत सङ्घीयताको विरोध नगरेको उल्लेख गर्दे नेता नेपालले भने “अहिले जनआक्रोश सीमाङ्कनको विषयमा मात्र केन्द्रित भएकाले यसलाई सङ्घीयताकै विरोधको रुपमा लिन हुँदैंन ।”
नेता नेपालले देशलाई एकताबद्ध गर्ने, संविधानको कार्यान्वयन गर्ने र निर्वाचन सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।रासस