टिप्पणीबुधबार, ४ आषाढ , २०७६

‘प्लास्टिक सडक’

हिमालखबर

फोहोर प्लास्टिक व्यवस्थापन र कम लागतमा बलियो सडक निर्माण गर्नका लागि ‘प्लास्टिक सडक’ निर्माण उत्ताम उपाय हुनसक्छ।

पोखरामा ‘प्लास्टोन’ बाट निर्मित १०० मीटर लामो अनुपम मार्ग । तस्वीरः अनलाइनखबर
प्रा.डा. विकासराज सत्याल

झोला र अन्य उपभोग्य सामग्रीका खोल वा बट्टाका रूपमा प्लास्टिकले हाम्रो दैनिक जीवन सहज बनाए पनि सजिलै पुनः प्रयोग नहुने र नगल्ने यस्तो प्लास्टिकले जल, जमीन, जंगल जताततै फैलाएको प्रदूषण भयावह बन्दैछ ।

वर्षौं नगल्ने र जलाउँदा विषालु ग्यास निकाल्ने प्लास्टिकको दुष्प्रभाव हाम्रा गाउँ–शहर र सार्वजनिक स्थलमा मात्र होइन, समुद्री जीवनदेखि हिमाली पर्यावरणसम्ममा देखिएको छ । काठमाडौं उपत्यका लगायत नेपालका हरेक शहरलाई प्लास्टिक फोहोरले कुरुप बनाएको छ । त्यसैले फोहोर प्लास्टिक व्यवस्थापनको उपाय बेलैमा नगर्ने हो भने हामीले चाँडै यसको भयावह दुष्परिणाम व्यहोर्नुपर्नेछ ।

एडीबीले करीब आठ वर्षअघि नेपालका ५८ वटा नगरपालिकाबाट निस्कने फोहोरमा गरेको अनुसन्धानमा १३ प्रतिशत प्लास्टिक पाइएकोे थियो । आज यो अनुपात बढिसकेको हुनुपर्छ । ओखरपौवा जस्ता फोहोर व्यवस्थापन स्थलहरू यस्ता नगल्ने फोहोरको दबाबमा छन् । यस्तो चुनौतीपूर्ण प्रदूषणलाई व्यवस्थापन गर्ने अहिलेसम्मको राम्रो उपाय ‘प्लास्टिक सडक’ निर्माण हो ।

वरदान हुनसक्छ ‘प्लास्टोन’
‘प्लास्टिक सडक’ नयाँ अवधारणा भने होइन । सन् २००२ मा भारतको मदुराईस्थित त्यागराजन इन्जिनियरिङ कलेजमा रसायनशास्त्रका प्राध्यापक राजगोपालन वासुदेवनले ‘प्लास्टिक सडक’ निर्माणको प्रविधि खोज गरेका थिए ।

वासुदेवनले प्लास्टिकका टुक्रा तताएर पग्लिएको झेल, रोडा र अलकत्रामा मिसाएर ‘प्लास्टोन’ भन्ने मिश्रण तयार पारे, जुन मिश्रण पानीमा डुबिरहँदा पनि रोडा र अलकत्राबीचको पकड बलियो रहिरहन्छ । भारतमै प्लास्टोनले बनाइएका सडक, परम्परागत ‘अस्फाल्ट सडक’ भन्दा टिकाउ र धेरै पानी जम्ने ठाउँका लागि त वरदान नै सावित भएका छन् ।

त्यसबाहेक प्लास्टोनबाट सडक बनाउँदा रोडा र अलकत्राको मिश्रणबाट बनाउनुभन्दा सहज र छिटो हुन्छ, यसबाट सडकका सानातिना खोपिल्टा सजिलै टाल्न सकिन्छ, प्लास्टिक सडकमा भारी सवारी साधनकोे चाप थेग्ने क्षमता बढी हुन्छ, सबैभन्दा ठूलो कुरा त मानवसभ्यतामै दाग लगाइरहेको फोहोर प्लास्टिकको व्यवस्थापन सहज हुन्छ ।

गत वर्षसम्ममा भारतमा मात्र प्लास्टोनबाट बनाइएका सडकको लम्बाइ एक लाख किलोमिटर नाघेको छ । यो प्रविधिको फाइदा देखेर नै सन् २०१५ मा भारतको केन्द्रीय सरकारले सबै प्रदेशका निर्माताहरूलाई यो प्रविधि उपयोग गर्न परिपत्र गरेको थियो ।

अनुसन्धानमा प्लास्टिक सडक बनाउन अलकत्रा र रोडाको सडक बनाउनुभन्दा प्रति किलोमिटर लागत भारु ३ लाख २० हजार कम लाग्ने देखिएको छ। अर्थात् मध्यपहाडी राजमार्ग, जसको लम्बाइ करीब १७७६ किमी छ, ‘प्लास्टोन’ प्रविधिले बनाउने हो भने झ्ण्डै रु.९० करोड बचत मात्र होइन, फोहोर प्लास्टिकको व्यवस्थापन साथै बलियो निर्माण समेत हुन्छ ।

भारतका ११ राज्यमा यो प्रविधिबाट सडक बनिसकेका छन् । भूटान, बाङ्लादेश, नाइजेरिया, केन्या, हल्याण्ड र अष्ट्रेलियामा समेत यो प्रविधि स्थानीय आवश्यकता अनुसार केही परिमार्जन गरी प्रयोग भइरहेको छ ।

नेपालकै पोखरामा पनि गत वर्ष ‘ग्रीन रोड वेष्ट म्यानेजमेन्ट’ को अगुवाइमा १०० मिटर सडक यही प्रविधिबाट बनाइएको छ । पोखराको सफलतापछि मिलेको हौसलाका कारण हुनुपर्छ त्यही संस्थाले हालै कीर्तिपुर, नयाँबजारमा पनि २०० मिटर त्यस्तै सडक बनाएको छ ।

कीर्तिपुरमा २०० मिटरको सडक बनाउँदा रु.२० लाख लागत लागेको छ । जुन परम्परागत अस्फाल्ट सडक निर्माणभन्दा प्रति किलोमिटर रु.२ लाख कम हो । यस्तै १०० मिटर सडक निर्माणमा ३०० केजी प्लास्टिक खपत भएको थियो जुन कुल अलकत्राको १२ प्रतिशत मात्र हो । भारतमा राजगोपालनले २० प्रतिशतसम्म प्लास्टिक मिसाउने गरेका छन् ।

राजगोपालनको अनुसन्धानमा प्लास्टिक सडक बनाउन अलकत्रा र रोडाको सडक बनाउनुभन्दा प्रति किलोमिटर लागत भारु ३ लाख २० हजार कम लाग्ने देखिएको छ । अर्थात् मध्यपहाडी राजमार्ग, जसको लम्बाइ करीब १७७६ किमी छ, ‘प्लास्टोन’ प्रविधिले बनाउने हो भने झण्डैं रु.९० करोड बचत मात्र होइन, फोहोर प्लास्टिकको व्यवस्थापन साथै बलियो निर्माण समेत हुन्छ ।

यद्यपि, कीर्तिपुरमा बनाइएको सडकमा केही प्राविधिक त्रुटि देखापरेको छ । केही ठाउँमा अहिले नै पिच उप्किएकाले उचित मिश्रण तयार पार्न र बढी प्लास्टिक खपत गरेर लागत घटाउन हामीले सही प्राविधिक ज्ञान सिक्नु अझैं आवश्यक देखिन्छ । राजगोपालनको मदुराईको संस्थामा कुनै पनि देशका इन्जिनियर या प्राविधिकलाई निःशुल्क प्रशिक्षण दिइने व्यवस्था छ । त्यसबाट फाइदा लिन सकिन्छ ।

चालु आर्थिक वर्षमा सडक कालोपत्रे गर्न मात्रै सडक विभागले रु.९४ अर्ब पाएको थियो । यत्तिकै बजेट आगामी वर्षका लागि पनि पाउने हो भने प्लास्टोन प्रविधिको उपयोगबाट यो रकमले १० हजार किलोमिटर सडक कालोपत्रे हुनसक्छ । त्यो पनि प्लास्टिक प्रदूषणको व्यवस्थापन गरेर । 

 

प्रतिकृया दिनुहोस