राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न निर्देशन दिए ।
“राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र हुन्छ, परिणाम निस्कने गरी काम गर्नुहोस्,” गृहमन्त्री थापाले भने, “सशस्त्र प्रहरीलाई राज्यले दिएको जिम्मेवारीअनुरुप शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावटमा विशेष ध्यान दिनुहोस् ।”
प्रदेशको विशिष्टताअनुसार नयाँ कार्ययोजनाका साथ अघि बढ्न उनले आग्रह गरे ।
गृहमन्त्री थापाले जनतासँगको सम्बन्ध सुमधुर राख्नसमेत सुझाव दिए ।