प्रधानमन्त्रीले जहिल्यै हेपे, अब सहिन्नः देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आफूलाई जहिल्यै हेपेको गुनाँसो गरे ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै देउवाले विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनुपर्नेमा प्रधानमन्त्रीले ओलीले यसो नगरेको आरोप लगाए ।
“यहाँ उनले (प्रधानमन्त्री ओली) जहिले पनि हेप्ने काम गरेका छन्, नेपालमा पहिलादेखि चल्दै आएको चलनलाई तोड्ने काम गरेको छ।”, देउवाले भने ।
संसदमा प्रधानमन्त्रीले नै पहिले बोल्नु पाउनुपर्ने भन्ने कुरा सही नभएको दाबी गरे ।
मंगलबार संसदमा प्रधानमन्त्रीभन्दा आफूले पहिले बोल्न पाउनुपर्ने माग राख्दैं कांग्रेसका सांसदहरूले विरोध गरेका थिए । त्यसपछि संसद स्थगित भएको थियो ।
त्यसलगत्तै प्रधानमन्त्रीले संसदमा कांग्रेसले असंसदीय चरित्र देखाएको भन्दैं यसबाट लोकतन्त्रविरुद्ध षडयन्त्रको आभाष आउन थालेको टिप्पणी गरेका थिए ।
‘जहाँ पनि सवाल जवाफ दिने प्रधानमन्त्रीको काम हो,’ देउवाले भने, “अपोजिसन स्पिक्स, गभर्मेन्ट एक्ट्स ।”
देउवाले भनाइ थियो, “मैले बोलेपछि बोलेको भए हाल्थ्यो नि, यो बलमिच्याइँ चल्दैन।, हामी कुनै हालतमा मान्न तयार छैनौं।”
मन्तव्यमा क्रममा देउवाले प्रमको बेलायत भ्रमण असफल भएको बताए ।
उनले ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसँगको भेटमा गोर्खा भर्तीको त्रिपक्षीय सन्धीबारे कुरा उठाएको बताए पनि संयुक्त वक्तव्यमा त्यसबारे उल्लेखसम्म नभएको बताए । उनले राजीनामा दिइसकेकी मेले कुनै दीर्घकालीन सम्झौता गर्न नसक्ने अवस्था नबुझी प्रधानमन्त्री बेलायत गएको पनि बताए।
उनले प्रम ओलीलाई बेलायती गोरा सैनिकले ‘गार्ड अफ अनर’ नदिइ गोर्खा सैनिकले दिएको भन्दैं हलुका टिप्पणी गरे । “म पनि गएको थिएँ नि! मलाई ब्रिटिस सेनाले गरेको थियो, यसपालि ब्रिटिस ह्वाइटहरूले सलामी गर्न मानेनन् !”, उनले भने ।
देउवाले बरु आफू बेलायत भ्रमणका गएका बेला गोर्खा सैनिकको पेन्सनबारे सहमति गरेको बताए ।
देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएको तर संसद चलेको बेला बाहिरबाट विधेयक फिर्ता लिइनु गलत भएको पनि बताए । “विधेयक फिर्ता मन्त्रीले लिने हो। जुन मन्त्रालयले दिएको हो। यही सदनबाट लिएको भए भैहाल्थ्यो नि। कहाँको संसदीय व्यवस्था हो यो।”, उनको भनाइ थियो ।