प्रधानमन्त्रीले भने– “कांग्रेसले बालहठ देखायो”
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित र बालहठ गरेको आरोप लगाएका छन् ।
विवादित गुठी विधेयक र आफ्नो यूरोप भ्रमणलगायत विषयमा संसदबाट सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको हो ।
संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्यलाग्दो भएको पनि ओलीले बताएका छन् ।
मंगलबार साँझ सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ देखाएको बताए ।
ओलीले लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको बताएका छन् ।
घोर दक्षिणदेखि घोर वामपन्थी समेत एकजुट भएको बताउँदै ओलीले यसप्रति सहज हुनुपर्ने कांग्रेस आफैं परिवर्तनकारी शक्तिलाई बिथोल्न लागेको आरोप लगाएका छन् ।