इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको अदालतमै निधन
इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीकाे कायरोको एक अदालतमा बेहोस भएर लडेको अवस्थामै निधन भएको छ ।
६७ वर्षीय मुर्सी आफूविरुद्ध लगाइएको जासुसी अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित भएका थिए ।
उनी सन् २०१२ मा निर्वाचित भएकाे एक वर्षपछि इजिप्टको सेनाले उनलाई अपदस्थ गरेको थियो । त्यसपछि उनी जेलमा रहेका थिए ।
उनलाई राखिएको जेल एकान्त थियो । परिवार तथा वकिलले पनि उनीसँग कमै मात्र भेट गर्न पाउँथे ।
मुस्लिम ब्रदरहुड पार्टीका नेता मुर्सीलाई पार्टीका एक प्रवक्ताले उपचार सेवा उपलब्ध नगराइएकाले उनकाे निधन भएकाे बताएका छन् । आफ्नो नेताको निधनलाई पार्टीले हत्याको संज्ञा दिएको छ।
मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मुर्सीको निधनबारे निष्पक्ष छानबिनको माग गरेको छ।
टर्कीले निधनप्रति दु:ख जनाउँदै इजिप्टका नेता अब्देल फतेह अल सीसीलाई जिम्मेदार ठहर्याएकाे छ। उनलाई ४५ वर्षको जेल सजाय सुनाइएको थियो।
उनीमाथि प्रतिबन्धित समूहको अगुवाइ गरेको तथा प्रदर्शनकारीलाई बन्दी बनाएर यातना दिएको तथा देशका गोप्य सूचना चुहाएको जस्ता आरोप लगाइएका थिए। उनका विरुद्ध भइरहेका अदालती कारबाहीप्रति पनि प्रश्न उठाइँदै आइएकाे थियाे।
उनलाई दिनको २३ घण्टासम्म एकान्त कारावासमा राखिने गरेको जनाइएको छ।
–एजेन्सी