समाचारसोमबार, २ आषाढ , २०७६

चार दिनपछि डडेल्धुरा अस्पतालको सेवा शुरु

रासस

तीन दिनसम्म अवरुद्ध रहेको डडेल्धुरा अस्पतालको सेवा सोमबारदेखि पुनः शुरु भएको छ ।

अस्पतालमा उपचारका क्रममा गएको शुक्रबार सुत्केरी महिलाको मृत्यु भएपछि सुरक्षाको कारण देखाउँदै चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सबै काम बन्द गरेका थिए ।

प्रशासनसहित जनप्रतिनिधिले सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिएपछि अस्पतालका डाक्टरसहित अन्य कर्मचारी काममा फर्किएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।

अस्पतालका चिकित्सकलाई प्रहरीसहित अन्य सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । शुक्रबार र शनिबार मृतक महिलाका आफन्तले अस्पतालमा तोडफोड गरेका कारण सेवा सुविधा बन्द भएको थियो ।

आइतबार अस्पतालका चिकित्सकसहित अन्य कर्मचारीले सुरक्षासाथै अस्पतालमा गरिएको तोडफोडको अनुसन्धान गर्नुपर्ने माग राख्दै आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरी सामूहिक बिदामा बस्ने निर्णय गरेका थिए ।

कोठाभित्र सुरक्षाका अनुभूति हुन नसकेको भन्दै अस्पतालका चिकित्सकले सामूहिक रुपमा बाहिर गोलघरमा बसेर बिरामीको जाँच गरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जीतेन्द्र कँडेलले बताए ।

अन्य सेवा सञ्चालन गरिएको भए पनि शल्यक्रिया गरेर बच्चा जन्माउने सेवा भने बन्द छ । शल्यक्रिया गर्ने कोठामा तोडफोड गरिएकाले केही दिन काम रोकिने बताइएको छ ।

प्रतिकृया दिनुहोस