समाचारसोमबार, २ आषाढ , २०७६

सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमानदार हुनुपर्छ : अध्यक्ष दाहाल

रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमानदार हुनुपर्ने बताएका छन् ।

शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले सोमबार पार्टी कार्यालय धूमबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उनले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताए ।

“पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुंग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारीसाथ उभिनुपर्छ,” अध्यक्ष दाहालले भने, “स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका वाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।”

मार्क्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उनले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताए ।

“दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढंगबाट पार्टी एकता गरिएको होइन । पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुन सक्छ”, अध्यक्ष दाहालले भने, “पार्टीले सामूहिक ढंगले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुवै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुवै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुंग्याइएको हो ।”

पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढंगबाट मूल्यांकन गरिएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, “जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्यांकन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ । यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हाै‌ ।”

शहीदका बलिदान, लाखौँ श्रमजीवी जनताले गरेको योगदान सबैलाई सम्मानित गर्दै स्थापित गर्न र बलिदानको आलोकमा अगाडि जानु नै सही क्रान्तिकारी बाटो भएको उनले बताए । अध्यक्ष दाहालले भने, “अहिले निराश हुनुपर्ने स्थिति छैन, शहीदको सपना पूरा गर्न संकल्प गर्दै आफूलाई उद्देश्यबाट विचलित नहुने दृढता गर्नुपर्छ ।”

गतिशील, सिर्जनशील र बहुआयामिक व्यक्तित्वका रूपमा उदाएका खड्का वामपन्थी विचार र नेतृत्वको पक्षमा अगाध आस्था र विश्वास राख्ने व्यक्तिका रूपमा आफूले पाएको स्मरण गरे । अध्यक्ष दाहालले भने, “पार्टीको विचार र नेतृत्वको रक्षाबिना आन्दोलनले सकारात्मक परिणाम निकाल्न नसक्ने खड्काको निष्कर्ष थियो ।”

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न इमानदार भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । जनताको पथमा हिँड्ने बाटोबाट विचलित नभई अघि बढ्नुनै शहीदप्रति सञ्चा सम्मान हुने उनको भनाइ थियो ।

नेकपाका स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले क्रान्तिका लागि निरन्तर लागिरहने योद्धाका रूपमा आफूले शहीद खड्कालाई पाएको उल्लेख गर्दै वर्गीय मुक्तिको पक्षमा सही कदम चाल्न सकियो भने मात्र शहीदप्रति सञ्चा श्रद्धाञ्जलि हुने बताए ।

विसं २०२८, १० भदौमा दोलखाको जुगुमा जन्मिएका खड्काको जनयुद्धकै क्रममा पार्टीको प्रवास बैठक सम्पन्न गरी कार्यक्षेत्र फर्कने क्रममा २०५९, २ असारमा हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस