सुपुर्दगी विधेयक रोकिए पनि हङकङमा रोकिएन प्रदर्शन, क्यारी लामको राजीनामा माग
हङकङकी शीर्षनेत्री क्यारी लामले विषयवस्तुलाई आफूले राम्ररी सम्हाल्न नसकेकोमा माफी मागेकी छन् ।
ठूलो विरोध भएपछि सुपुर्दगी विधेयक शनिबार स्थगितको घोषणा गरिएको थियो । तर, नेत्री क्यारीले पद छाड्न इन्कार गरेकी छन् ।
आइतबारको प्रदर्शन केही दिनअघिको भन्दा शान्त थियो । विरोध प्रदर्शनमा क्यारी लामको राजीनामाको मागसमेत गरिएको थियो ।
आइतबार २० लाख प्रदर्शनकारी सडकमा ओर्लिएर विरोध जनाएका थिए ।
प्रदर्शनकारीहरुले स्थगित गरिएकाे विधेयक पूरै फिर्ता वा खारेजीकाे माग समेत गरेकाे बताइएकाे छ ।
आइतबार ठूलो प्रदर्शन भएपछि थुप्रै प्रदर्शनकारीहरूले सडकमै रात बिताएका थिए । उनीहरूले सडकमा छेकबार पनि लगाएको बताइएको छ ।
गत मार्चमा ३ लाख ३८ हजार प्रदर्शनकारी सडकमा ओर्लिएर विधेयकको विरोध गरेका थिए भने अघिल्लो हप्ता पनि १० लाख प्रदर्शनकारीले आन्दोलन गरेका थिए।
यसैबीच ‘छाता आन्दोलन’का अगुवा विद्यार्थी नेता जोशुवा वोङ सोमबार थुनामुक्त भएका छन् । उनले पनि क्यारी नामको राजीनामा माग गरेका छन्।
नेत्री क्यारीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ– “मुख्य कार्यकारी अधिकारीद्वारा स्वीकार गरिएको छ कि उनको सरकारको कमीका कारण हङकङमा संघर्ष तथा विवाद बढ्यो । यसबाट कैयौं नागरिकलाई निराशा र कष्ट व्यहोर्नु पर्यो ।”
विज्ञप्तिमा मुख्य कार्यकारी अधिकारीले माफी मागेकाे र आलोचनालाई पूर्ण इमानदारिता र विनम्रताका साथ स्वीकार गर्ने वाचा पनि गरिएको छ ।
उनको यो बयान सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित गर्ने उनको घोषणाको एकदिनपछि आएको हाे ।