ब्लगसोमबार, २ आषाढ , २०७६

किन बुझ्ने गर्मी ?

अजय दीक्षित

जलवायु परिवर्तनसँगै बढ्दो तापमान र कार्बन उत्सर्जनका कारण अब गर्मीलाई बेलैमा बुझ्ने र अनुकूल हुने प्रयास थालिहाल्नुपर्ने भइसकेको छ।

यस्तो त हुँदैनथ्यो ! काठमाडाैं उपत्यकामा विषम जाडो र गर्मी हुँदैनथ्यो । जेठतिर तराई र छिमेकका विमानस्थलबाट त्रिभुवन विमानस्थलमा अवतरित जहाजबाट बाहिर निस्कँदा प्राकृतिक ‘एअरकन्डिसन’ मा प्रवेश गरे झैं अनुभूत हुन्थ्यो । गर्मीमा काठमाडाैंमा दिनको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्थ्यो । त्यसो त तापक्रम ३६ डिग्रीसम्म पुगेको पनि छ ।

अहिले भने काठमाडौंको मौसमी उतारचढाव बुझिनसक्नुको छ । यो बेला (वैशाख–असोज) घाम लागेको अपराह्न हामीलाई हप्प हुन्छ, टाउको दुख्ने, अल्छी लाग्ने जस्तो महसूस हुन थालेको छ । शरीरले चिसो खोज्न थालेको छ ।

पङ्खाको प्रयोग व्यापक भएको छ । ब्याङ्क, व्यावसायिक प्रतिष्ठान, होटल, रेस्टुरेन्टमा सीमित ‘एअरकन्डिसन’ अब हुनेखानेका घरमा पुगेका छन् । सूर्य बादलभित्र लुकेमा शीतल हुन्छ । एक, दुई दिन पानी पर्‍यो कि जाडो !

यो पंक्तिकारले इन्जिनियरिङ विषय अध्ययन गरेको भारतको राउरकेलामा मेमा तापक्रम ४२–४५ डिग्रीसम्म पुग्थ्यो, उखरमाउलो गर्मी हुन्थ्यो । हालसालै उत्तरी भारतका केही स्थानमा तापक्रम ५० डिग्री नाघेको खबर आएको छ । हाम्रा तराईतिर पनि तापक्रम ४०–४२ डिग्री पुग्छ । बेंसी, उपत्यका र खोंचतिर पनि गर्मी त हुन्छ तर तापक्रम त्यति माथि पुग्दैन ।

लामो समयसम्म मैले गर्मीलाई प्राकृतिक लयको रूपमा बुझें । सन् २०१४ मा गंगा र सिन्धु नदी (भारत र पाकिस्तान) मा गर्मीबारे गरिएको एक अध्ययनले भने गर्मी हुने प्रक्रियालाई कार्बन उत्सर्जनसित जोड्ने प्रयास गर्‍यो ।

अमेरिकी संस्था नेसनल सेन्टर फर आट्मोस्फेरिक रिसर्चर र पंक्तिकार कार्यरत सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट–नेपाल) संलग्न त्यस अध्ययनले ती दुवै क्षेत्रमा रात र दिनको तापक्रम बढिरहेको देखायो ।

बढ्दो तापमानसँगै वायुमण्डलमा बाफ पनि बढ्छ । तापक्रम र बाफको सम्मिश्रणले ‘हिट इन्डेक्स (ताप सूचकांक)’ माथि लान्छ । अध्ययनले भन्यो, कार्बन उत्सर्जन बढिरहने हो भने गंगा नदी क्षेत्रमा सन् २०५० मा वर्षको १५० दिन २४ घण्टा नै हिट इन्डेक्स ३७ डिग्री सेल्सियस हाराहारीमा पुग्नेछ । २०१४ मा भने ७५ दिन मात्र यो इन्डेक्स ३७ डिग्री सेल्सियस छेउछाउ पुगेको थियो ।

३७ डिग्री सेल्सियस हाम्रो शरीरको सामान्य तापक्रम हो । ताप सूचकांक यसको हाराहारी पुगेको अवस्थामा शरीरले असहज महसूस गर्न थाल्छ । त्यस्तो गर्मीमा ६ घन्टाभन्दा बढी बसिरह्यौं भने तापकै कारण तनाव, आघात र अन्ततः मृत्यु समेत हुनसक्छ ।

यसबाट ज्येष्ठ नागरिक, बालबालिका र असहाय जोखिममा पर्छन् । यस्तो गर्मीमा कृषि प्रणाली र खाद्य आपूर्ति प्रभावित हुनेछ । काम गर्ने क्षमतामा ह्रास आउनेछ ।

वनस्पति, पोखरी र सिमसारको विनाश, बढ्दो कंक्रिट प्रयोग, खुला क्षेत्रको अतिक्रमण, सवारी साधनको धुवाँले भित्री शहरको तापक्रम वरिपरिको भन्दा बढी हुन्छ । यसलाई ‘हिट आइल्यान्ड प्रभाव’ भन्न थालिएको छ । जस्तो कि, गत मे २५ दिउँसो १ बजे ललितपुर पुल्चोकको तापक्रम ३१ डिग्री सेल्सियस थियो तर त्यही समय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा २९ डिग्री सेल्सियस मात्र तापक्रम मापन गरियो ।

बढ्दो गर्मीसँगै एअरकन्डिसन चलाउन ऊर्जाको माग बढ्ने निश्चित छ । यसका लागि नवीकरणीय ऊर्जाको प्रयोग नबढाउने हो भने फेरि पनि खनिज इन्धनकै भर पर्नुपर्नेछ, थप कार्बन उत्सर्जन गर्दै । किन पनि भने, एअरकन्डिसनमा प्रयोग हुने चिसो पार्ने पदार्थ आफैंमा पनि हरितगृह ग्यास हो ।

कार्बन उत्सर्जन जति धेरै कटौती गर्‍यो बढ्दो ताप सूचकांकसँग अनुकूल हुने खर्च उति कम हुन्छ । विडम्बना, विश्व यो बाटोमा छैन । सन् १८५० मा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा २८६ पीपीएम थियो, जुन अहिले झन्डै ४१५ पीपीएम पुगेको छ ।

आगामी वर्षहरूमा यसको मात्रा कति होला ? “जलवायु परिवर्तनले हाम्रा संस्था, पूर्वाधार र सामाजिक व्यवस्थामा ठूलो विचलन ल्याउनेछ”, अध्येता पिटर ग्लिक भन्छन् ।

चिन्ताको कुरा त, कार्बन उत्सर्जनको दर यही रफ्तारमा बढ्ने हो पृथ्वीमा जीवन जटिल बन्दै जानेछ । यसबाट कसरी अनुकूल रहने ? कसैसँग स्पष्ट उत्तर छैन । पर्याप्त अध्ययन पनि भएका छैनन् ।

त्यसैले पनि यसबारे जनस्तरबाटै घोत्लिनुपर्ने बेला आइसकेको छ । शीतल छहारीले केही हदमा ताप सूचकांक कम गर्न सहयोग गर्छ । आफ्ना गाउँ–ठाउँ र शहरमा रूख, बिरुवा जतनको प्रयास जारी राखौं । रैथाने प्रजातिलाई जोगाऔं । प्रदूषण र खनिज तेलको दोहन कम गरौं । पोखरी, तालतलैया र सिमसार संरक्षण कार्यमा सामूहिक प्रतिबद्धता जनाऔं ।

के हाम्रा सरकारहरूले बढ्दो तापमानसँग अनुकूल हुने प्रयासस्वरुप गरिने यसखाले उत्तरदायित्व बहन गर्लान् ? सरकारीस्तरबाटै केही पहलकदमी गर्लान् ? आशा गर्न पाइयोस्, उपलब्धि देख्न पाइयोस् ।

प्रतिकृया दिनुहोस