संसदबाटै संशोधन प्रस्ताव सच्याउन सकिन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई संसदबाटै परिमार्जन गर्न सकिने वताएका छन् ।
उनले दर्ता प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने तर, त्यसमा थप संशोधन गरेर अगाडि बढ्न सकिने बताए ।
दाङको राप्ती नदीमा बन्न लागेको पुलको शिलन्यास कार्यक्रमलाई गोबडिहामा सम्बोधन गर्दै दाहालले भने, “सविधान संशोधन प्रस्ताव फिर्ता हुदैन, तर कसैलाई चित्त बुझेको छैन भने संसदीय प्रक्रियाबाट त्यसको परिमार्जन गर्न सकिन्छ ।”
संशोधन प्रस्तावप्रति अहिले विरोधको स्वरहरु सुनिए पनि अन्ततः सबै एक ठाउँमा आएर सहमतिबाट संशोधन प्रस्ताव पारित हुने प्रधानमन्त्री दाहालको दाबी छ ।
दाहालले आफूले चाहे अनुसार गरेको भए १० प्रदेशको प्रस्ताव दर्ता गर्न सक्ने भन्दै सबैलाई मान्य हुने गरी यसअघि एमालेले ल्याएको प्रस्तावलाई नै अहिले संशोधन प्रस्तावका रुपमा दर्ता गरेको समेत बताए ।
नेपालकै दोस्रो लामो पुल ८ सय ६० मिटर लम्बाइ रहेको र पुलको लागत ९२ करोड रहने बताइएको छ ।
उनले माओवादी केन्द्रले ५ नं. प्रदेशको केन्द्र दाङ मानेर पार्टी संरचना बनाएको भन्दै जुन कुनै हालतमा पनि प्रदेशको केन्द दाङलाई बनाइने बताए ।
गोपाल शर्मा, दाङ