समाचारआइतबार, १ आषाढ , २०७६

फागुन–चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल

रासस

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउँदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइतबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै । तस्वीर : रासस

आइतबार चितवनमा पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

पार्टीको चार वर्ष कार्यकाल भएकाले नियमित ढंगबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने, “अस्ति हामीले सभापतिलाई भेटेर भन्यौं, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।”

पार्टीको मुहानको रूपमा रहेको नेपाल विद्यार्थी संघको महाधिवेशन नगरेर भंग गर्ने काम गरिएकामा उनले रोष प्रकट गरे ।

पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि संगठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले भन्नुभयो, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर संगठनात्मक रूपमा केही पनि भएन ।”

फरक प्रसंगमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पुर्‍याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए ।

नेता पौडेलले भने, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदाहुँदै आएका विधेयक कांग्र्रेसले पारित हुन दिँदैन ।”

प्रतिकृया दिनुहोस