भारतले २८ अमेरिकी बस्तुमा भन्सारदर बढायो
भारतले अमेरिकाबाट आयात हुने २८ उत्पादनमा भन्सार दर बढाएको छ ।
भारत सरकारले अमेरिकाबाट आयात हुने बदाम, ओखर, दाललगायत २८ बस्तुमा आइतबारदेखि लागू हुने गरी भन्सार आयात शुल्क बढाएको हो ।
भारतको यस कदमबाट अमेरिकाबाट यी बस्तुहरू आयात गर्ने व्यापारी प्रभावित हुनेछन् । भारतमा यी बस्तुहरू ७० प्रतिशतसम्म महंगा हुनेछन् ।
शनिबार भारतको केन्द्रीय अप्रत्यक्ष कर एवं सीमा शुल्क बोर्ड (सीबीआईसी) ले करसम्बन्धी नयाँ सूचना जारी गरेको हो ।
भारतबाट अमेरिका निर्यात हुने आल्मुनियम र स्टीलमा अमेरिकाले दिदै आएको छुट रद्द गरेर कर लगाएपछि भारतले पनि यस्तो कदम उठाएको बताइन्छ ।
यसै महीनाको शुरुवातमा अमेरिकाले भारतलाई दिँदै आएको व्यापारिक सुविधा ‘विशेष व्यापारको दर्जा’ पनि फिर्ता लिएको थियो ।
भारतमा अमेरिकी सामानमा न्यायसंगतरूपमा पहुँच नदिएको अमेरिकाको आरोप रहेको बताइन्छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा अमेरिकी मोटरसाइकलमाथि भारतले १०० प्रतिशतसम्म भन्सार कर लगाएको प्रति आपत्ति जनाएका थिए ।