ब्लगआइतबार, १ आषाढ , २०७६

चक्रपथ = मरणपथ

कनकमणि दीक्षित

चक्रपथलाई उपत्यकाका दुई कुना जोड्ने हाइवे ठान्ने हो भने यहाँ मर्ने क्रम कायम रहनेछ । यो त शहरी सडक हो !

सडक विभाग नै हो नेपालका सडकको मुख्य निर्माण निकाय, तर सडक विस्तार एक्कासी शुरु भएको गएको दशकयता यो थाकेको, गलेको संस्था जस्तो देखिन्छ ।

एउटा उदाहरण हो — १० महीनाअघि खुलेको चक्रपथको १० किमी लामो कलंकी–कोटेश्वर खण्ड जसरी बन्न गयो । यो बाटोको बनोट हेर्दा सडक विभागका सक्षम इन्जिनियर र योजनाकारलाई ठाडै ‘शक्तिकेन्द्र’ ले बेवास्ता गरेको देखिन्छ ।

शहरको बीचबाट ठूलो ‘एक्सप्रेसवे’ जस्तो गरिकन कुनै चिनियाँ मापदण्ड अनुसार चक्रपथ विस्तार र निर्माण भयो, चीनकै सहयोगमा । मैले बुझे अनुसार, यो सडकखण्डको डिजाइनको क्रममा विभागका विशेषज्ञहरुले शहरवासीको माग र ‘ट्राफिक फ्लो’ को विचार गरिको योजना सुझाएका थिए । तर, हाम्रो राजनीतिक नेतृत्व चिनियाँ अधिकारी जे भन्छन्, त्यसको प्रतिवाद त के सुझाव दिनसम्म लाज मान्छ । यतिबेला चिनियाँ भन्छन् — तिमीहरुले नै किन यस्तो डिजाइन सदर गरेको त ? जुन, सही हो ।

विस्तारित चक्रपथ अन्तर्गत पर्ने कोटेश्वर खण्ड । तस्वीरहरुः विक्रम राई

बेइजिङमा आ–आफ्नै मापनका ५–५ ‘रिङरोड’ मध्येको एउटा डिजाइनलाई यता नक्कल गरियो । आज चक्रपथको आधा विस्तारित खण्ड ‘मरणपथ’ बन्न पुगेको छ । किन यस्तो हुन पुग्यो ? समीक्षा जरुरी छ, ताकि बाँकी १७ किमी खण्ड (कोटेश्वर–चाबहिल–महाराजगन्ज–बालाजु–कलंकी) मा यस्तो घातक गल्ती नदोहोरियोस् ।

प्रहरीका अनुसार, कोटेश्वर–ग्वार्को–सातदोबाटो–बल्खु–कलंकीको १० किमी दूरीमा यस विस्तारित खण्ड खुलेदेखिको १० महीनामा मात्र दुर्घटनामा १७ जनाको ज्यान गएको छ, २३ जना सख्त घाइते र ४५० भन्दा बढी सामान्य घाइते भएका छन् ।

चक्रपथ यसरी मरणपथ बन्नुका धेरै कारण छन्, तीमध्ये मुख्य चाहिं शहरभित्रको यो सडकलाई जसरी ‘आर्टिरिएल रोड’ भनेर चिनियाँ डिजाइन भित्र्याइयो र नेपाली पक्ष (मुख्यतः मन्त्रालय) ले लुसुक्क मान्यता दिनु हो । जसबाट शहरका एकै टोलका परिवार, छरछिमेक, विद्यार्थी, बालबालिका, वृद्ध ५० किमी प्रति घण्टा गति तोकिएको सडकमा विना ट्राफिक लाइट, विना ओभरपास, विना जेब्रा क्रसिङ्ग आवतजावत गर्न बाध्य पारिए ।

विस्तारित चक्रपथमा मूल हाइवे र सर्भिस् ट्र्याक गरेर ८ वटा लेन छन् । तर, यिनको ‘मर्ज’ गर्ने, मोड्ने, ‘यू टर्न’ गर्ने कुनै पनि व्यवस्थित तरिका बनाइएको छैन, एउटै कथित क्रसिङ्गमा १६ तरिकाले सवारी यताउता मोडिन सक्छ । हरेक क्षण चालक होस् या बटुवा, नागरिकले आफ्नै अक्कल लगाउनुपर्छ ।

हाइवे भनी बनाइएको सडकको बीचमा विपरीत दिशाबाट आउने ट्राफिक छुट्याउन मात्र दोहोरो सेता धर्सा छन्, जबकि कंक्रिटको ‘मिडिएन्’ आवश्यक छ । यस्तो बाटोमा सडक बत्ती चाहिन्छ, तर छैन । रातिको खतरा कल्पनासम्म गर्न सकिन्न, र आउँदो बर्खामा खतरा चुलिने प्रष्ट छ ।

सडकछेउको ‘कर्ब’ मा रङ लगाइएकै छैन । ढल माथि हिंड्ने पेटी छ, तर यिनमा यत्रा ठूल्ठूला प्वाल राखिएका छन् कि बालबालिका, वृद्ध हिंड्नै सक्दैनन् । धेरै ठाउँमा हाइवेको काम सकिंदा ढल खुलै छाडिएको छ । पाइपले जोडिएका कंक्रिटका अवरोधहरुमा वेगमा आएको गाडी ठोक्किएमा जीउ–ज्यानको खतरा झनै बढेको छ ।

चक्रपथको यो खण्ड चिनियाँ ठेकेदारबाट सडक विभागको हातमा आउँदो डिसेम्बरमा मात्र हस्तान्तरण हुँदैछ । विभागको नेतृत्वले यस खण्डको खतराको प्राविधिक अध्ययन गराइसकेको छ, र के गरिहाल्नुपर्छ भन्नेमा पनि प्रष्ट भएको देखिन्छ । तर तत्काल गल्ती सच्याइहाल्न राजनीतिक तह (स्थानीय र संघीय) को नेतृत्व तथा जनप्रतिनिधिको चासो चाहिएको छ । नत्र अबको सात महीनासम्म मरणपथमा दुर्घटनाबाट ज्यान जाने र अपाङ्गताको क्रूर शृंखला जारी नै रहनेछ ।

विस्तारित चक्रपथमा भएका गल्ती तुरुन्तै सच्याउनुपर्छ । चक्रपथलाई शहरी सडक भनी परिभाषित गर्नुपर्छ । यसो गर्ने बित्तिकै गति सीमा घट्नेछ, ट्राफिक व्यवस्थापन बढ्नेछ, क्रसिङ्गको संख्या बढ्नेछन्, वारि र पारि टोलको सम्बन्ध फेरि झाङ्गिनेछ, साइकल लेन बन्नेछ र सार्वजनिक बस मात्र चल्ने बीआरटी (बस् र्‍यापिड ट्रान्जिट) का लागि लेन खुल्नेछ ।

आँट र क्रियाशीलताका साथ सडक विभागले तत्कालै गर्नुपर्ने कामः

- चक्रपथ ‘आर्टिरिएल रोड’ नभई शहरी सडक हो भन्नेमा दृढ रहने ।

- खुला सडकमा ‘मिडिएन् डिभाइडर’ राखिहाल्ने, यसको लागि ‘बजेट’ मागिहाल्ने ।

- ‘इन्टरसेक्सन’ मा र अन्यत्र मानिस मात्र ओहोरदोहोर हुने ठाउँमा ट्राफिक लाइट राखिहाल्ने ।

- विद्युत् प्राधिकरणसँग परामर्श गरी ‘स्ट्रिट लाइटिङ’ राखिहाल्ने ।

चक्रपथ विस्तारबाट भएका मानवीय क्षतिबारे स्थानीयमाझ कोलाहल मच्चिए पनि दुई महानगरपालिकाको पर्याप्त चासो देखिन्न । ट्राफिक प्रहरीले सकी–नसकी गति नियन्त्रण र पैदलयात्रु, बस, मोटरसाइकल र कार व्यवस्थापनको कोशिश गरिरहेछ । यस्तो अवस्थामा राहत दिन सक्ने सडक विभाग नै हो, र उसलाई आफ्नो गिर्दो साखलाई जनसमर्थनबाट फेरि ब्युँताउने अवसर पनि हो, यो ।

बाँकी रह्यो शहरबीच दौडेको यो ‘हाइवे’ बाट रोमाञ्चित गाडी र मोटरसाइकल चालक र सवारहरु । कतिपयबाट सुनिने गरेको छ, ‘यो त यूरोप अमेरिकाको जस्तै गजबको होइन त ? !’

यूरोप अमेरिकाको जस्तो त पक्कै हो, तर शहरबीच विध्वंस र मानवीय क्षति पुर्‍याउँदै हिंडेको यो विस्तारित रिङरोड यस्तै रुपमा शहरवासी र शहरको हितमा छैन । घातक प्रमाणित छ । 

प्रतिकृया दिनुहोस