गुठी विधेयक सच्याउने प्रधानमन्त्रीकाे प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाएका छन् ।
साताव्यापी यूरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, "धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।"
सांस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रीतिस्थितिमाथि जानेर र नजानेर भएको गल्तीलाई सरकारले सच्याउने उनको भनाइ छ।
यूरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सरकारले जनताको मन दुखाउन नचाहेको बताए।
“म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परामा कुनै कुराले कहीँ पनि जानेर र नजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,” ओलीले भने ।
“कतिपय ठाउँमा गुठीका नाममा गरीबमाथि शोषण भइरहेको प्रसंग प्रधानमन्त्रीले उठाएका थिए ।
उनले प्रतिपक्षीलाई विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरेका थिए ।
“केही मान्छेले खुबै मौका पायौं भनेका होलान् कुनै चान्स छैन, यो सरकारले जनताका हितमा काम गर्छ”, ओलीले भने ।
“जनताप्रति सरकार उत्तरदायी भएकाले जनताका कुरा सुन्छ । जनताका हितमा काम गर्छ । जनता नै सार्वभौम भएकाले अब आन्दोलन गरिराख्नुपर्दैन । यो सरकार जनताको मन हँसाउन बनेको हो, मन दुखाउन होइन”, ओलीले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली एकसाता लामो यूरोप भ्रमण पूरा गरी आइतबार स्वदेश आइपुगेका हुन् ।
प्रमओलीसहितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री यूरोपको स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणका लागि यही २५ जेठमा प्रस्थान गरेका हुन् ।
स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणका क्रममा दुई पक्षीय आर्थिक मामिलामा महत्वपूर्ण छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा विभिन्न भेटघाट तथा कार्यक्रममा सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए ।
स्वीट्जरल्याण्डमा बसेपछि ओली त्यतैबाट बेलायत गएका थिए । बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।
यस्तै बेलायत भ्रमणका क्रममा त्यहाँकी प्रधानमन्त्री टेरेसा मे र राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीसँग पनि ओलीले भेटघाट गरेका थिए ।
बेलायतपछि रेलबाट फ्रान्स पुगेका ओलीले आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, सहभागी थिए ।
यसैगरी भ्रमण दलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद विन्दा पाण्डेलगायत सहभागी थिए ।