बेलायती प्रधानमन्त्रीमा बोरिस जोन्सनकाे सम्भावना बलियो
बेलायतमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको नेता पदका लागि भएको मतदानमा बोरिस जोन्सनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
कन्जर्भेटिभ पार्टीको नेताको चयनका लागि भएको मतदानमा ३१३ सांसदमध्ये ११४ सांसदले जोन्सनको पक्षमा समर्थन जनाएका छन् ।
बोरिस जोन्सनले ३१ अक्टुबरमा जसरी पनि बेलायतलाई यूरोपेली संघबाट बाहिर निकाल्ने वाचा गरेकाले धेरैको समर्थन पाएको बताइन्छ । उनलाई पहिलेदेखि नै यस पदका लागि योग्य ठानिदै आएको बताइन्छ ।
यो मतदान प्रधानमन्त्री थेरेसा मेको राजीनामाका कारण खाली भएको पदपूर्तिका लागि भएको हो । पार्टीको नेता नै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछ ।
प्रधानमन्त्री पदका उम्मेदवार बोरिस जोन्सनले भने, “म आफ्ना साथी तथा सहयोगीको समर्थनका लागि आभारी छु । पहिलो मतदानमा विजयी भएकोमा खुशी छु । अझै धेरै लामो बाटो तय गर्न बाँकी छ ।”
१० जना उम्मेदवारमध्ये दोस्रो नम्बरमा वर्तमान विदेशमन्त्री जेरेमी हन्ट छन् । उनले ४३ मत पाएका छन् । वर्तमान पर्यावरण मन्त्री माइकल गोवले ३७ मत तथा पूर्व ब्रेक्जिट मन्त्री डोमिनिक राभले २७ मत पाएका छन् । तीनजना उम्मेदवार प्रतिस्पर्धाको दौडबाट बाहिरिएका छन् ।
दोस्रो चरणको मतदान १८, १९, २० जूनमा हुनेछ । मतदान तबसम्म हुनेछ जबसम्म दुईजना मात्र उम्मेदवार रहन्छन् ।
अन्तिम मतदान दुई उम्मेदवारका बीच हुनेछ। जसमा कन्जर्भेटिभ पार्टीका सबै सदस्यले पोस्टल ब्यालेटबाट दुईमध्ये एक उम्मेदवारलाई चयन गर्नुपर्नेछ । जुलाई महीनाको अन्त्यसम्म बेलायतले नयाँ प्रधानमन्त्री पाउनेछ ।
–एजेन्सी